शालिकराम जमकट्टेल सँग एमालेका गजेन्द्र थपलिया भिड्दै

Avatar photo
Dhadingpost
शनिबार, अशोज २२, २०७९

धादिङ । सत्ता गठबन्धनको तर्फबाट धादिङ क्षेत्र नम्बर १ को प्रदेश ख मा माओवादी धादिङका इन्चार्ज शालिकराम जमकट्टेल सँग एमालेका गजेन्द्र थपलियाले भिड्ने निश्चित भएको छ । माओवादी वृतमा प्रभावशाली नेतृत्वको छवि बनाएका जमकट्टेल मुख्य मन्त्रीको दावी सहित प्रदेशमा पुन उठेका हुन भने एमालेका थपलियाले नयाँ अनुहार हुन् । स्थानीय तहको मतलाई आधार मान्दा यस क्षेत्रमा शालिकराम जमकट्टेल जितका लागि सुरक्षित देखिन्छन् भने नेकपा एमाले निकट नेपाल बुद्धिजिवि परिषदका महासचिव समेत रहेका थपलियालाई कठिन चुनौती छ ।

प्रशासनिक विभाजन:
धादिङ जिल्ला, निर्वाचन क्षेत्र नं. १, प्रदेश सभा (ख) मा जिल्लाका गजुरी गाउँपालिका, बेनिघाट रोराङ गाउँपालिका र सिद्दलेक गाउँपालिका पर्दछन् । जसअन्तर्गत गजुरी गाउँपालिकामा ८, बेनिघाट रोराङ गाउँपालिकामा १० र सिद्दलेक गाउँपालिकामा ७ गरि जम्मा २५ वटा वडाहरू रहेका छन् ।

स्थानीय निर्वाचन २०७९ को मतभार :
स्थानीय निर्वाचन २०७९ मा वडा अध्यक्षहरूले प्राप्त मतका आधारमा यो प्रदेश सभाभित्र नेकपा (एमाले) प्राविधिक हिसाबले पहिलो दल बनेको छ । सत्ता गठबन्धनमा सम्बद्ध दलहरूले कतिपय स्थानीय तहमा वडा तहमा समेत साझा उम्मेदवार तय गरेका कारण तथ्यांकमा उनीहरूको मत कम र एमालेको मत बढी देखिन आएको छ । एमालेले जिल्लाका १०४ वटै वडामा उम्मेदवारी दिएको थियो । तर, नेपाली कांग्रेसले ७३, माओवादी केन्द्रले ६७, एकीकृत समाजवादीले ४३ र जनता समाजवादी पार्टीले १३ वटा वडामा मात्रै उम्मेदवारी दिएको थियो । यस प्रदेश सभाभित्र नेकपा (एमाले) ले १४ हजार ६ सय ४२, नेकपा (माओवादी केन्द्र) ले १३ हजार ७ सय ५६, नेपाली कांग्रेसले १० हजार ६ सय ६८ , नेकपा (एकीकृत समाजवादी) ले २ हजार ३ सय ३८ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ सय ९ मत प्राप्त गरेका छन् ।

धादिङ १ प्रदेश सभा (ख) माओवादी केन्द्रको सर्वोत्तम भूमि :
माओवादी केन्द्रका पोलिट्व्युरो सदस्य तथा वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मरकट्टेलको गृहनगरका रूपमा समेत रहेको यो प्रदेश सभा नेकपा (माओवादी केन्द्र) धादिङको सबैभन्दा उत्तम भूमिको रूपमा रहेको छ । माओवादी केन्द्रले जिल्लामा स्थानीय तहको अध्यक्ष जितेका ३ पालिकामध्ये २ वटा गजुरी गाउँपालिका र बेनिघाट रोराङ गाउँपालिका यसै प्रदेश सभा अन्तर्गत पर्दछ । माओवादी केन्द्रले जिल्ला भरिमा ३२ वटा वडामा वडा अध्यक्ष जितेकामा १३ वटा वडा अध्यक्ष यहीबाट जितेको छ । जुन कुल विजयको ४०.६३ % हुन आउँछ । यो प्रदेश सभाभित्र स्थानीय तहको कुल १३१ जनप्रतिनिधिमा (दलित तथा अल्पसंख्यक कार्यपालिका सदस्य बाहेक) माओवादी केन्द्रले २ गाउँपालिका अध्यक्ष, १३ वडा अध्यक्ष, ११ महिला सदस्य, १० दलित महिला सदस्य र १९ खुल्ला सदस्य गरि जम्मा ५५ जना विजयी गराउन सफल भएको छ । यो कुल सङ्ख्याको ४१.९८ % हो ।

प्रदेश सभा निर्वाचन २०७४ को नतिजा :
वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन निर्माण गरि भएको २०७४ सालमा सम्पन्न प्रदेश सभा निर्वाचनमा यो प्रदेश सभामा तत्कालीन वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका शालिकराम जम्मरकट्टेल र लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका प्रभातकिरण सुवेदीका बीचमा मुख्य प्रतिस्पर्धा रहेको थियो । माओवादी उम्मेदवार जम्मरकट्टेललाई एमालेको समर्थन थियो भने कांग्रेस उम्मेदवार सुवेदीलाई राप्रपाको समर्थन रहेको थियोे । जुन निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका जम्मरकट्टेल २३ हजार ३ सय ८२ मतका साथ विजयी भएका थिए भने निकटतम प्रतिस्पर्धी सुवेदीले १० हजार ४ सय ७ मत प्राप्त गरेका थिए । जसमा मतान्तर १२ हजार ९ सय ७५ रहेको थियोे ।

मुख्यमन्त्रीको लाइनमा मन्त्री जम्मरकट्टेल :
सत्ता गठबन्धनभित्र पहिले जितेको क्षेत्र सोही दललाई नै दिने सहमति कायम भए अथवा एकल दलीय मतका आधारमा पनि गठबन्धनभित्रको पहिलो दल भएका कारण यो प्रदेश सभामा नेकपा (माओवादी केन्द्र) को स्वभाविक दाबी देखिन्छ । यो प्रदेश सभामा नेपाली कांग्रेसको दाबी रहने देखिँदैन । एकीकृत समाजवादीका उपाध्यक्ष तथा वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको गृहनगर समेत यही प्रदेश सभा भएपनि स्थानीय चुनावको कमजोर परिणाम र यसपटक संघीय उम्मेदवार बन्ने दाउमा रहेका पाण्डेले प्रदेश सभामा कुनै दाबी गर्ने छैनन् । जसअनुसार शालिकराम जम्मरकट्टेल निर्विवाद/निर्विकल्प सत्ता गठबन्धनको साझा उम्मेदवार बनेर वाग्मती प्रदेशको मुख्यमन्त्री बन्ने लाइनमा देखिन्छन् । एकल दलीय मतका आधारमा पनि बलियो देखिएको माओवादी गठबन्धन सम्बद्ध दलहरूको मतले सजिलै हावि हुने देखिन्छ । उता एमाले र राप्रपाको चुनावी तालमेल भयो भने एमालेलाई केही हदसम्म राहत त पुग्ला तर प्रदेश सभाभित्र राप्रपाको टेकोले थाम्न सक्ने अंकगणित भने देखिँदैन ।

आगामी निर्वाचनको परिदृश्य १ :
स्थानीय निर्वाचन २०७९ को तथ्यांकलाई विश्लेषण गर्दा सत्ता गठबन्धन यो प्रदेश सभामा सुविधाजनक बहुमतमा देखिन्छ । एमालेले राप्रपासँग चुनावी तालमेल नगर्ने हो भने यहाँ सत्ता गठबन्धनको २६ हजार ७ सय ६२ , एमालेको १४ हजार ६ सय ४२ र राप्रपाको ४ सय ९ मत रहेको छ । जसअनुसार सत्ता गठबन्धन निकटतम नेकपा (एमाले) भन्दा झण्डै दोब्बर मतले अगाडि रहेको छ । यहाँ सत्ता गठबन्धन एमालेभन्दा १२ हजार १ सय २० मतले अगाडि देखिन्छ ।

आगामी निर्वाचनको परिदृश्य २ :
प्रदेश निर्वाचनमा एमाले र राप्रपाको चुनावी तालमेल कायम हुन सक्यो भने सत्ता गठबन्धनसँगको मतदुरी केही घट्ने देखिन्छ । तर राप्रपाको मत नै तीन अंकमा सिमित रहेका कारण एमालेको नतिजालाई यसले खासै फरक पार्ने देखिँदैन । एमाले – राप्रपा गठबन्धन निर्माण भए सत्ता गठबन्धनको मत २६ हजार ७ सय ६२ र एमाले-राप्रपा गठबन्धनको मत १५ हजार ५१ रहेको देखिन्छ । यस अवस्थामा सत्ता गठबन्धन एमाले-राप्रपा गठबन्धन भन्दा ११ हजार ७ सय ११ मतले अगाडि हुनेछ ।

निष्कर्ष :
यो तथ्यांक विश्लेषणमा केही प्राविधिक सीमाहरू छन् । दलहरूले गत स्थानीय तह निर्वाचनमा गठबन्धन गरेका कारण कतिपय वडामा उम्मेदवार नै उठाएका थिएनन् । त्यसैले ती क्षेत्रमा वडाध्यक्षले पाएको मतले त्यहाँ सम्बन्धित दलको वास्तविक भोटको प्रतिनिधित्व नगर्न पनि सक्छ । अर्कातिर संसदीय निर्वाचनमा केही लोकप्रिय व्यक्तिले स्वतन्त्र उम्मेदवार भएर पनि जित्ने सम्भावना नकार्न सकिँदैन । स्वतन्त्र वडाध्यक्षका उम्मेदवारले प्राप्त भोट संसदीय निर्वाचनमा कुन दलको उम्मेदवारले लैजान्छ भन्ने यकिन हुँदैन । नयाँ मतदाता थपिएका कारण नयाँ/युवा मतदाताको स्वविवेक कता/कसरी प्रयोग हुन्छ त्यसले पनि मत परिणामलाई प्रभावित पार्न सक्ने ल्याकत राख्दछ । यस्तै, स्थानीय निर्वाचनमा होस् वा संसदीय निर्वाचनमा, उम्मेदवारको व्यक्तिगत प्रभाव, उचाइ र लोकप्रियताले पनि मतमा केही प्रभाव पार्न सक्नेतर्फ नजरअन्दाज गर्न सकिँदैन ।