धादिङ २ प्रदेश सभा (क) को चुनावी अंक गणित

Avatar photo
Dhadingpost
बुधबार, भदौ ८, २०७९

सरकारले आगामी मंसिर ४ गते संसदीय निर्वाचनको मिति घोषणा गरेसँगै देश पुन: निर्वाचनमय भएको छ ।
ओली सरकारको प्रतिगमनका विरुद्ध एकजुट भएका पाँच राजनीतिक दलहरू स्थानीय निर्वाचनमा जस्तै संसदीय निर्वाचनमा पनि गठबन्धन कायम राख्न प्रतिवद्द देखिएका छन् । बाबुराम भट्टराई नेतृत्वको नवगठित नेपाल समाजवादी पार्टी (नेसपा) र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानले नेकपा (माओवादी केन्द्र) को चुनाव चिन्हबाटै चुनाव लड्ने निर्णय गरिसकेका छन् । माओवादी केन्द्र र एकीकृत समाजवादीले निर्वाचन घोषणापत्र साझा बनाउने भएका छन् । यसले सत्ता गठबन्धन थप मजबुत बनेको छ भने नेकपा (एमाले ) दबाबमा परेको छ ।

धादिङ जिल्लामा पनि संसदीय निर्वाचनमा सत्ता गठबन्धन भर्सेस एमाले गठबन्धन हुने निश्चितप्राय छ । धादिङ एमाले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग गठबन्धन गर्नुपर्ने बाध्यात्मक परिस्थितिमा छ । यदी एमाले – राप्रपा गठबन्धन निर्माण भयो भने धादिङ जिल्ला निर्वाचन क्षेत्र नं. २ , प्रदेश सभा (क) मा एमालेलाई केही हदसम्म राहत पुग्ने देखिन्छ । विभाजनसँगै यो प्रदेश सभा क्षेत्रभित्र कमजोर धरातलमा उभिएको एमालेलाई अर्को कमजोर शक्ति राप्रपासँगको चुनावी तालमेलले खासै आडभरोसा दिन सक्ने स्थिति भने देखिँदैन ।

प्रशासनिक विभाजन
धादिङ जिल्ला , निर्वाचन क्षेत्र नं. २ , प्रदेश सभा (क) मा जिल्लाका नेत्रावती डबजोङ गाउँपालिका र ज्वालामुखी गाउँपालिका गरि दुई गाउँपालिका तथा नीलकण्ठ नगरपालिकाका वडा नं. १० र ११ (साविक ज्यामरुङ गाविस) बाहेकका अन्य क्षेत्रहरू पर्दछन् । जसअन्तर्गत नेत्रावती डबजोङ गाउँपालिका ५ वटा , ज्वालामुखी गाउँपालिका ७ वटा र नीलकण्ठ नगरपालिकाका १२ वटा गरि जम्मा २४ वटा वडाहरू रहेका छन् ।

स्थानीय निर्वाचन २०७९ को मतभार
स्थानीय निर्वाचन २०७९ मा वडा अध्यक्षहरूले प्राप्त मतका आधारमा यो प्रदेश सभाभित्र नेपाली कांग्रेस पहिलो दल बनेको छ । प्राप्त मतका आधारमा नेपाली कांग्रेसले १७ हजार ६ सय ७७ , नेकपा (एमाले) ले १३ हजार ६ सय ४७ , नेकपा (माओवादी केन्द्र) ले ७ हजार ८ सय ५२ , नेकपा (एकीकृत समाजवादी) ले १ हजार ३ सय २०, राष्ट्रिय प्रजातन्त्र पार्टीले ८ सय ४९ र जनता समाजवादी पार्टीले २ सय ३६ मत प्राप्त गरेका छन् ।

कमजोर धरातलमा एमाले
स्थानीय निर्वाचनको परिणामलाई मध्यनजर गर्दा नेकपा (एमाले) यो प्रदेश सभाभित्र कमजोर बनेको तथ्यांकले देखाउँछ । दलहरूले प्राप्त गरेको एकल दलीय मतको आधारमा पहिलो दल नेपाली कांग्रेसभन्दा दोस्रो दल एमाले ४ हजार ३० मतले पछाडि देखिन्छ । संघीय सांसद तथा पार्टी केन्द्रीय सदस्य खेमप्रसाद लोहनी , केन्द्रीय सदस्य जानुका सिम्खडा , प्रदेश सांसद डा. रामकुमार अधिकारीको मतदान क्षेत्र रहेको यस प्रदेश सभामा पार्टी विभाजनपछि एमाले थप कमजोर बनेको छ । उसो त केन्द्रीय सदस्य द्वय लोहनी र सिम्खडाको मतदान क्षेत्र रहेको ज्वालामुखी गाउँपालिका र प्रदेश सांसद डा. अधिकारीको नीलकण्ठ नगरपालिकामा स्थानीय तहको निर्वाचन २०७९ मा एमालेले नराम्रो हार बेहोर्नु परेको नतिजा ताजै छ ।

प्रदेश सभा निर्वाचन २०७४ को नतिजा
वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन निर्माण गरि भएको २०७४ सालमा सम्पन्न प्रदेश सभा निर्वाचनमा यो प्रदेश सभामा तत्कालीन वाम गठबन्धनका उम्मेदवार एमालेका डा. रामकुमार अधिकारी र लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका रमेश धमलाका बीचमा मुख्य प्रतिस्पर्धा रहेको थियो । एमाले उम्मेदवार अधिकारीलाई माओवादी केन्द्रको समर्थन थियो भने कांग्रेस उम्मेदवार धमलालाई राप्रपाको समर्थन रहेको थियोे । जुन निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार अधिकारी २० हजार ३ सय ६३ मतका साथ विजयी भएका थिए भने निकटतम प्रतिस्पर्धी धमलाले १९ हजार १५ मत प्राप्त गरेका थिए । जसमा मतान्तर १ हजार ३ सय ४८ रहेको थियोे ।

गठबन्धन र सिट बाँडफाँड
विगतमा एमालेले जितेको क्षेत्र र एकल दलीय मतका आधारमा पनि पहिलो दल भएका कारण यो प्रदेश सभामा नेपाली कांग्रेसको स्वभाविक दाबी देखिन्छ । हाल प्रदेश सभाभित्रका दुवै गाउँपालिका र नीलकण्ठ नगरपालिकाको स्थानीय सत्ता नेपाली कांग्रेसको हातमा छ । २४ वडामध्ये नेत्रावती डबजोङ गाउँपालिकाका ४ , ज्वालामुखी गाउँपालिकाका ५ र नीलकण्ठ नगरपालिकाका ५ ( यस प्रदेश सभाभित्रको ) गरि १४ वडाका वडाध्यक्ष कांग्रेसले जितेको छ । यसर्थ , एकल मतका आधारमा पनि बलियो देखिएको कांग्रेस गठबन्धन सम्बद्ध दलहरूको मतले सजिलै हावि हुने देखिन्छ ।उता एमाले र राप्रपाको चुनावी तालमेल भयो भने एमालेलाई केही राहत पुग्ने देखिन्छ । तर , प्रदेश सभाभित्र राप्रपाको टेकोले थाम्न सक्ने अंकगणित भने देखिँदैन । यो प्रदेश सभामा सत्ता गठबन्धनबाट पुनः रमेश धमला उम्मेदवार बनी विगतको पराजयको जित निकाल्ने सुरमा छन् भने एमालेबाट खेम पाठक , जानुका सिम्खडा , प्रदेश सांसद डा. रामकुमार अधिकारी लगायतको चर्चा रहेको छ ।

आगामी निर्वाचनको परिदृश्य १
स्थानीय निर्वाचन २०७९ को तथ्यांकलाई विश्लेषण गर्दा सत्ता गठबन्धन यो प्रदेश सभामा सुविधाजनक बहुमतमा देखिन्छ । एमालेले राप्रपासँग चुनावी तालमेल नगर्ने हो भने यहाँ सत्ता गठबन्धनको २७ हजार ८५ , एमालेको १३ हजार ६ सय ४७ र राप्रपाको ८ सय ४९ मत रहेको छ । जसअनुसार सत्ता गठबन्धन निकटतम नेकपा ( एमाले ) भन्दा दोब्बर मतले अगाडि रहेको छ । यहाँ सत्ता गठबन्धन एमालेभन्दा १३ हजार ४ सय ३८ मतले अगाडि देखिन्छ ।

आगामी निर्वाचनको परिदृश्य २
प्रदेश निर्वाचनमा एमाले र राप्रपाको चुनावी तालमेल कायम हुन सक्यो भने सत्ता गठबन्धनसँगको मतदुरी केही घट्ने देखिन्छ । तर राप्रपाको मत नै तीन अंकमा सिमित रहेका कारण एमालेलाई खासै फरक पार्ने अवस्था भने देखिँदैन । एमाले – राप्रपा गठबन्धन निर्माण भए सत्ता गठबन्धनको मत २७ हजार ८५ र एमाले – राप्रपा गठबन्धनको मत १४ हजार ४ सय ९६ रहेको देखिन्छ । यस अवस्थामा सत्ता गठबन्धन एमाले – राप्रपा गठबन्धन भन्दा १२ हजार ५ सय ८९ मतले अगाडि हुनेछ ।

निष्कर्ष
यो तथ्यांक विश्लेषणमा केही प्राविधिक सीमा छन् । दलहरूले गत स्थानीय तह निर्वाचनमा गठबन्धन गरेका कारण कतिपय वडामा उम्मेदवार नै उठाएका थिएनन् । त्यसैले ती क्षेत्रमा वडाध्यक्षले पाएको मतले त्यहाँ सम्बन्धित दलको वास्तविक भोटको प्रतिनिधित्व नगर्न पनि सक्छ । अर्कातिर संसदीय निर्वाचनमा केही लोकप्रिय व्यक्तिले स्वतन्त्र उम्मेदवार भएर पनि जित्ने सम्भावना नकार्न सकिँदैन । स्वतन्त्र वडाध्यक्षका उम्मेदवारले प्राप्त भोट संसदीय निर्वाचनमा कुन दलको उम्मेदवारले लैजान्छ भन्ने यकिन हुँदैन । यस्तै, स्थानीय निर्वाचनमा होस् वा संसदीय निर्वाचनमा , उम्मेदवारको व्यक्तिगत प्रभाव , उचाइ र लोकप्रियताले पनि मतमा केही प्रभाव पार्न सक्नेतर्फ नजरअन्दाज गर्न सकिँदैन