धादिङ । धादिङको नीलकण्ठ नगरपालिकाको नीलकण्ठ प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको बागमती प्रदेश स्तरीय खुल्ला कविता प्रतियोगितामा धादिङका विजय तामाङको कविता उत्कृष्ट पाँचमा पर्न सफल भएको छ । विगत केहि वर्ष देखि एड्भान्स एकेडेमीमा पढाउँदै आएका विजय तामाङ हाल स्थायीमा नाम निकाल्दै शंखादेवि मावि नीलकण्ठमा शिक्षक छन् । ३९ जना प्रतियोगी मध्य धादिङबाट ७ जना सहभागि थिए ।
गत चैत देखि बैशाख २२ गते सम्म कविता पठाउन सूचना जारी गरिएको थियो । प्राप्त कविताहरु मध्यबाट उत्कृष्ट पाँच छनोट गरिएको हो । जसमा ललितपुरबाट अजय रिसाल, नुवाकोटबाट उत्तमराज भेटुवाल र प्रदिप कोईराला, सिन्धुलीबाट रुपक घलान र धादिङबाट विजय तामाङको कविता छनोट गरिएको नीलकण्ठ प्रज्ञा प्रतिष्ठानले जनाएको छ ।
उत्कृष्ट पाँचमा परेका प्रतियोगीहरुलाई अब वाचनको लागि बोलाईने छ । लिखितको ८०% र वाचनको २०% अंक जोडेर विजेता घोषणा गरिने नीलकण्ठ प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रकाश पौडेल बताए । यस प्रतियोगितामा प्रथमले २० हजार, द्वितियले १५ हजार, तृतियले १० हजार र सान्तोना दुई जनाले ५–५ हजार पाउने छन् ।