कुपा कपको समापनमा बागमतीका मन्त्री सरल सहयात्री आउने

Avatar photo
Dhadingpost
कार्तिक ४, २०८३

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–१४, धुवाँकोटस्थित कुपामा जारी छैटौँ कुपा कप फुटबल प्रतियोगिताको समापन समारोहमा बागमती प्रदेशका योजना तथा आर्थिक मामिला मन्त्री सरल सहयात्री पौडेल सहभागी हुने भएका छन् ।

कुपा युवा समाजको आयोजनामा सञ्चालन भइरहेको छैटौँ कुपा कप ७ ए साइड खुला नकआउट फुटबल प्रतियोगिता तथा मिनी म्याराथन–२०८३ को समापन समारोह आगामी कार्तिक ८ गते कुपा खेलमैदानमा हुने आयोजकले जनाएको छ । समापन समारोहमा मन्त्री पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम छ ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ विजयादशमीको अवसरमा आयोजना गरिएको प्रतियोगिताको सह–आयोजकमा कुपा प्रवासी समाज भारत रहेको छ । प्रतियोगिताले खेलकुदमार्फत सामाजिक एकता, आपसी सद्भाव र स्वस्थ समाज निर्माणमा योगदान पुर्‍याउने उद्देश्य राखेको छ ।

प्रतियोगिताको विजेता टोलीले १ लाख ३ हजार ३३३ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले ५५ हजार ५५५ रुपैयाँसहित मेडल र प्रमाणपत्र पाउनेछ । सेमिफाइनलमा पुग्ने टोलीलाई जनही १५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

फाइनल खेलकै दिन कार्तिक ८ गते कुपा मिनी म्याराथन–२०२६ समेत आयोजना हुनेछ । म्याराथनमा प्रथम हुने धावकले २४ हजार र द्वितीय हुनेले १२ हजार ५०० रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

यसैबीच, हालै देशका विभिन्न स्थानमा गएको बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले प्रतियोगिताबाट संकलित रकमको केही अंश बाढीपीडितलाई प्रदान गर्ने निर्णयसमेत आयोजकले गरेको छ ।

गत संस्करणका नतिजा