धादिङमा बहुविवाह र भवितव्य ज्यान मुद्दाका दुई फरार अभियुक्त पक्राउ

Avatar photo
Dhadingpost
मंसिर ३, २०८३

धादिङ । जिल्ला अदालत धादिङबाट विभिन्न मुद्दामा कैद तथा जरिवानाको फैसला सुनाइएपछि फरार रहेका दुई जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा बहुविवाह मुद्दाका प्रतिवादी जीवन मिजार र भवितव्य ज्यान मुद्दाका प्रतिवादी कालीबहादुर भन्ने कृष्णबहादुर तामाङ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय धादिङ तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले खोजतलासका क्रममा उनीहरूलाई फेला पारी पक्राउ गरेको हो ।

अदालतको फैसला कार्यान्वयनअन्तर्गत जीवन मिजारलाई बहुविवाह मुद्दामा एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना तथा कृष्णबहादुर तामाङलाई भवितव्य ज्यान मुद्दामा ६ महिना कैद र ५०० रुपैयाँ जरिवाना तोकिएको थियो ।

प्रहरीले पक्राउ परेका दुवै जनालाई २०८३ मंसिर १ गते जिल्ला अदालत धादिङमा उपस्थित गराएको थियो । अदालतको आदेशअनुसार कैद भुक्तानका लागि उनीहरूलाई कारागार कार्यालय धादिङ चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।