
धादिङ । धादिङको सिद्धलेक गाउँपालिका–३, सलाङस्थित आम्कोटमा सोलार लिफ्टिङ प्रविधिबाट खानेपानी वितरण सुरु गरिएको छ । खानेपानीको समस्या समाधान गर्ने उद्देश्यले किप नेपाल र सिद्धलेक गाउँपालिकाको सहयोगमा परियोजना सम्पन्न भएपछि गाउँपालिका अध्यक्ष परशुराम खतिवडाले खानेपानी आयोजनाको उद्घाटन गरेका हुन् ।
आयोजना निर्माणका लागि किप नेपालले १६ लाख रुपैयाँ, सिद्धलेक गाउँपालिकाले ६ लाख रुपैयाँ र स्थानीय समाजसेवी गणेशभक्त थापामगरले मुहान संरक्षणका लागि २ लाख रुपैयाँ सहयोग गरेका छन् ।
आयोजनाअन्तर्गत साँधखोलाबाट करिब ८०० मिटर उचाइमा रिजर्भ ट्याङ्की निर्माण गरिएको छ । उक्त ट्याङ्कीभन्दा थप २०० मिटर माथि वितरण ट्याङ्की निर्माण गरी सोलार लिफ्टिङ प्रविधिमार्फत पानी गाउँसम्म पुर्याइएको हो ।
आयोजना सञ्चालनमा आएसँगै आम्कोटका ५८ घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएका स्थानीयलाई यस आयोजनाले सहजता प्रदान गरेको छ ।
तस्बिर : ठाकुर आले

