
धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–६ गणेशस्थानमा आयोजना हुने चौथो त्रिपुरासुन्दरी गोल्ड कप–२०८३ लाई सफल बनाउन गणेशस्थान युवा क्लब (GYC) ले आर्थिक तथा नैतिक सहयोगको अपिल गरेको छ ।
सल्यानबेंसी जात्राको अवसरमा क्लबले आयोजना गर्न लागेको उक्त प्रतियोगिता मंसिर १९ गतेदेखि २४ गतेसम्म सञ्चालन हुनेछ । ओपन ७ ए साइड फुटबल प्रतियोगितामार्फत खेलकुदको विकास, युवाको प्रतिभा प्रोत्साहन तथा स्थानीय पहिचानको संरक्षण गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ ।
प्रतियोगिता सफल बनाउन खेलप्रेमी, समाजसेवी, बुद्धिजीवी, व्यवसायी तथा देश–विदेशमा रहेका सम्पूर्ण महानुभावलाई सहयोग गर्न क्लबले अनुरोध गरेको छ । आर्थिक तथा नैतिक सहयोगले प्रतियोगिता भव्य र सभ्य रूपमा सम्पन्न गर्न थप हौसला मिल्ने आयोजकको विश्वास छ ।
‘तपाईंको सानो सहयोग, हाम्रो ठूलो हौसला’ भन्ने भावनासहित क्लबले सहयोग अभियान अघि बढाएको छ । प्रतियोगितामा सहयोग गर्न इच्छुक महानुभावले आयोजकसँग सम्पर्क गरी आर्थिक सहयोग उपलब्ध गराउन सक्नेछन् ।
आर्थिक सहयोग तथा सम्पर्क विवरण
- रोजन पाण्डे: ९८४१०४५६२६ (QR कोड उपलब्ध)
- विशाल खड: ९८६६२८०७४४ (QR कोड उपलब्ध)
- इमेल: gycclubdhading@gmail.com
- ठेगाना: त्रिपुरासुन्दरी गाउँपालिका–६, गणेशस्थान, धादिङ
मंसिर १९ गते बिहान ११ बजेदेखि सुरु हुने प्रतियोगिता मंसिर २४ गते समापन हुनेछ ।
यसअघि आयोजित तेस्रो त्रिपुरासुन्दरी गोल्डकप–२०८१ को उपाधि त्रिपुरा सेभेन होर्सेस आगिन्चोकले गणेशस्थान युवा क्लबलाई पराजित गर्दै जितेको थियो ।
त्यस्तै, दोस्रो त्रिपुरासुन्दरी गोल्डकप–२०८० को उपाधि डाँडागाउँ (NYC) ले जितेको थियो भने लपाङ युवा क्लब (LYC) लपाङ उपविजेता बनेको थियो ।
प्रतियोगिताको पहिलो संस्करण अर्थात् प्रथम त्रिपुरासुन्दरी गोल्डकप–२०७९ को उपाधि भने आयोजक गणेशस्थान युवा क्लब (GYC) आफैँले जितेको थियो ।

