गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन आज हुँदै

Avatar photo
Dhadingpost
जेष्ठ ३०, २०८३

धादिङ । गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आज नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालयको सभाहलमा आयोजना हुँदैछ । जिल्लाभरका गणित शिक्षक, शिक्षाप्रेमी तथा शुभेच्छुकहरूको सहभागितामा हुने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

परिषद्का वर्तमान अध्यक्ष प्रयास रेग्मी नेतृत्वको कार्यसमितिको कार्यकाल आज समाप्त हुने भएकाले अधिवेशनमार्फत नयाँ कार्यसमिति चयन गरिने भएको हो । कार्यक्रम नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीमप्रसाद ढुङ्गानाको प्रमुख आतिथ्यता तथा गणित शिक्षा परिषद्का केन्द्रीय अध्यक्ष रमेश अवस्थीको विशेष आतिथ्यतामा सम्पन्न हुने जनाइएको छ ।

परिषद्का सचिव उत्तम भट्टका अनुसार कार्यक्रममा जिल्लाभरका गणित विषयका शिक्षक, शिक्षाप्रेमी तथा शुभेच्छुकहरूलाई सहभागिताका लागि निमन्त्रणा गरिएको छ । उनले अधिवेशनलाई केवल संगठनात्मक प्रक्रिया मात्र नभई गणित शिक्षा सुधार र शिक्षकहरूको व्यावसायिक विकासका लागि महत्वपूर्ण अवसरका रूपमा लिइएको बताए ।

गणित शिक्षा परिषद् धादिङले स्थापना कालदेखि नै जिल्लामा गणित शिक्षाको गुणस्तर अभिवृद्धिका लागि निरन्तर काम गर्दै आएको छ । परिषद्ले शिक्षकहरूलाई लक्षित विभिन्न कार्यशाला, तालिम, अन्तरक्रिया तथा क्षमता विकास कार्यक्रम सञ्चालन गर्नुका साथै विद्यार्थीहरूका लागि गणित हाजिरीजवाफ प्रतियोगिता, सिर्जनात्मक शैक्षिक गतिविधि र नवप्रवर्तनात्मक कार्यक्रमहरू आयोजना गर्दै आएको छ ।

परिषद्ले पछिल्ला वर्षहरूमा देशभरका गणित शिक्षकहरूलाई समेटेर अभिमुखीकरण कार्यक्रम, अनलाइन तालिम तथा सशक्तीकरण कार्यक्रम सञ्चालन गरेको थियो । यस्तै, Geo Dynamic Software सम्बन्धी तालिम, गणित शिक्षकहरूको अन्तरक्रिया, विद्यार्थी लक्षित हाजिरीजवाफ प्रतियोगिता तथा शैक्षिक कार्यशालाहरूले परिषद्लाई जिल्लामा मात्र नभई राष्ट्रिय स्तरमै सक्रिय संस्थाका रूपमा स्थापित गरेको छ ।

यस अवधिमा गणित शिक्षा परिषद् धादिङका अध्यक्षमा प्रयास रेग्मी चयन हुनु, परिषद्का तर्फबाट विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन हुनु तथा नवराज पाठक केन्द्रीय सदस्यमा निर्वाचित हुनुले पनि संस्थाको गतिविधिलाई थप उचाइ दिएको मानिन्छ ।

आजको अधिवेशनले नयाँ नेतृत्व चयनसँगै आगामी कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ । गणित शिक्षाको गुणस्तर सुधार, शिक्षकहरूको क्षमता अभिवृद्धि तथा विद्यार्थीहरूमा गणितप्रतिको रुचि बढाउने अभियानलाई अझ प्रभावकारी बनाउने विषयमा अधिवेशन केन्द्रित रहने जनाइएको छ ।

शिक्षकहरूको पेशागत विकास, अनुभव आदानप्रदान र शैक्षिक बहसको महत्वपूर्ण थलोका रूपमा स्थापित गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशनलाई धेरैले “गणित शिक्षकहरूको उत्सव” का रूपमा समेत लिएका छन् ।