
धादिङ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बागमती प्रदेश कमिटी सदस्य तथा धादिङको थाक्रे गाउँपालिका पार्टी संयोजक दयाराम कार्कीले पार्टी परित्याग गरेका छन् । उनले पार्टीका सबै जिम्मेवारी र साधारण सदस्यतासमेत त्याग्दै स्वैच्छिक राजीनामा दिएका हुन् ।
जिल्ला र प्रदेश पार्टी संयोजकसमक्ष सम्बोधन गरी जारी गरिएको राजीनामा पत्रमा कार्कीले पार्टीको सम्पूर्ण जिम्मेवारी र सदस्यता त्यागेको उल्लेख गरेका छन् ।
उनका अनुसार उनले २०७५ साल चैत १३ गते तत्कालीन नेकपा (माओवादी केन्द्र) को साधारण सदस्यता लिएर आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए। त्यसयता पार्टीका विभिन्न तहमा रहेर संगठन निर्माण तथा जनताको सेवामा सक्रिय भूमिका निर्वाह गर्दै आएका थिए ।
राजनीतिक परिस्थितिमा आएको फेरबदल तथा आफ्नै विचार र मूल्याङ्कनका आधारमा अब पार्टीको कुनै पनि तह वा संरचनामा रहेर जिम्मेवारी निर्वाह गर्न नसक्ने निष्कर्षमा पुगेको उनले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।
उनले बागमती प्रदेश कमिटी सदस्य, जिल्ला कमिटीअन्तर्गतका सम्पूर्ण जिम्मेवारी, थाक्रे गाउँपालिका पार्टी संयोजक तथा अध्यक्ष पद र साधारण सदस्यता समेत त्यागेको घोषणा गरेका हुन् ।
पार्टीभित्र गुटबन्दी र व्यक्तिगत स्वार्थ हाबी भएको आरोप
राजीनामा पत्रमा कार्कीले पार्टीभित्र देखिएका विभिन्न विकृति र प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गरेका छन् । संगठन निर्माणका क्रममा गुट–उपगुट, आपसी अविश्वास, एकअर्काको खुट्टा तान्ने प्रवृत्ति तथा नेतृत्वसमक्ष गलत सूचना पुर्याउने गतिविधिले संगठन सञ्चालनमा कठिनाइ सिर्जना गरेको उनको भनाइ छ ।
पार्टीभित्र सामूहिक हितभन्दा व्यक्तिगत स्वार्थ, अहंकार र गुटगत मानसिकता हाबी हुँदै गएको महसुस गरेको उल्लेख गर्दै उनले आफूले भने सधैँ संगठनको हितलाई प्राथमिकतामा राखेर काम गरेको बताएका छन् ।
आफ्नो राजनीतिक जीवनमा पदभन्दा इमानदारी र आत्मसम्मान महत्वपूर्ण रहेको उल्लेख गर्दै कार्कीले राजीनामा पत्रमा भनेका छन्, “मेरो राजनीतिक यात्रामा कुनै पछुतो छैन । मैले आफ्नो विवेकले भ्याएसम्म इमानदारीपूर्वक योगदान गरेको छु । पद र जिम्मेवारी अस्थायी हुन्, तर विचार, निष्ठा, इमानदारी र आत्मसम्मान जीवनभरका सम्पत्ति हुन् ।”
उनले आफ्नो राजनीतिक यात्रामा सहयोग, सद्भाव र प्रेरणा प्रदान गर्ने अग्रज नेतृत्व, सहकर्मी, जनवर्गीय संगठनका नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूप्रति धन्यवाद तथा आभार व्यक्त गरेका छन् ।
पार्टीको जिम्मेवारीबाट अलग भए पनि आगामी दिनमा देश र जनताको हकहित, सामाजिक न्याय तथा समृद्धिका पक्षमा निरन्तर योगदान पुर्याउने प्रतिबद्धता कार्कीले व्यक्त गरेका छन् ।

