रास्वपा धादिङको बैठक सम्पन्न, तीन कार्यविधि पारित

Avatar photo
Dhadingpost
कार्तिक ३०, २०८३

धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला समिति धादिङको बैठक सम्पन्न भएको छ । बैठकले पार्टीको संगठनात्मक संरचना, आर्थिक पारदर्शिता र आन्तरिक अनुशासनलाई थप व्यवस्थित बनाउने उद्देश्यसहित तीनवटा कार्यविधि पारित गरेको छ ।

बैठकले बैठक तथा कार्यालय सञ्चालनसम्बन्धी कार्यविधि, २०८३, आर्थिक कार्यविधि, २०८३ तथा आन्तरिक आचारसंहिता र अनुशासनसम्बन्धी कार्यविधि, २०८३ पारित गरेको हो ।

त्यसैगरी, जिल्लाका विभिन्न विभागमा जिम्मेवारी प्रदान गर्न इच्छुक पार्टी सदस्यहरूका लागि खुला आह्वान गर्ने निर्णयसमेत गरिएको छ ।

जिल्ला सभापति राजन अर्यालको सभापतित्वमा सम्पन्न बैठकमा हिमेश पन्त प्रमुख अतिथिका रूपमा उपस्थित थिए । बैठकमा प्रदेश सचिवालय सदस्य सागर गौली, प्रदेश सदस्य विकास चेपाङ, सचिन अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

बैठकले पार्टीको संगठनात्मक गतिविधिलाई थप व्यवस्थित, पारदर्शी र अनुशासित बनाउने दिशामा निर्णयहरू गरेको मिलन डल्लाकाेटीले बताए ।