
न्यूयोर्क, अमेरिका । धादिङका शिक्षाविद्, समाजसेवी तथा सामाजिक उद्यमी डा. राजेन्द्र के.सी. न्यूयोर्क राज्य विधानसभाको विशेष सम्मानबाट सम्मानित हुनुभएको छ । उहाँलाई धादिङ नेपाली समाज, अमेरिकाले पनि विशेष सम्मान–पत्र तथा सम्मान–चिह्न प्रदान गरेको छ ।
धादिङ नेपाली समाज, अमेरिकाको आयोजनामा नोभेम्बर १३, २०२६ शुक्रबार न्यूयोर्कको ज्याक्सन हाइट्सस्थित ज्याक्सन मार्केटमा आयोजित स्वागत, सम्मान तथा भेटघाट (Meet & Greet) कार्यक्रमका अवसरमा डा. के.सी.लाई सम्मान गरिएको हो ।
शिक्षा, अनुसन्धान, सार्वजनिक प्रशासन, सामाजिक सेवा, उद्यमशीलता तथा विभिन्न शैक्षिक र सामाजिक संस्थाको स्थापना, सञ्चालन एवं नेतृत्वमा पुर्याउनुभएको उल्लेखनीय योगदानको कदर गर्दै न्यूयोर्क राज्य विधानसभाका सदस्य साम बर्जर (Sam Berger), विधानसभा क्षेत्र २७ द्वारा हस्ताक्षरित विशेष सम्मानपत्र (New York State Assembly Citation) प्रदान गरिएको थियो ।
त्यसैगरी, शिक्षा तथा सामाजिक विकासका क्षेत्रमा डा. के.सी.ले पुर्याउनुभएको महत्वपूर्ण योगदानको सम्मानस्वरूप धादिङ नेपाली समाज, अमेरिकाले विशेष सम्मान–पत्र तथा सम्मान–चिह्न प्रदान गरेको हो ।
धादिङ नेपाली समाज, अमेरिकाका अध्यक्ष सागर अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा हामी नेपाली इन्टरनेशनलका अध्यक्ष नवराज के.सी., गोरखा समाजका अध्यक्ष खाम भट्ट, प्रा. डा. शेखर गिरी, एनआरएनए एनसीसीका उपाध्यक्ष दिवाकर पाण्डे लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि, बुद्धिजीवी, सामाजिक अभियन्ता तथा नेपाली समुदायका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा वक्ताहरूले डा. के.सी.को शैक्षिक, सामाजिक तथा संस्थागत नेतृत्वमा रहेको योगदानको चर्चा गर्दै उहाँको सफलता धादिङ जिल्लाका साथै समग्र नेपाली समुदायका लागि गौरव र प्रेरणाको विषय भएको बताएका थिए ।
सम्मान ग्रहणपछि डा. के.सी.ले आफ्ना अनुभव तथा विचार साझा गर्दै शिक्षा, सामाजिक सेवा, नेतृत्व र नेपाली समुदायबीच एकता तथा सहकार्यको महत्वमाथि प्रकाश पार्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन धादिङ नेपाली समाज, अमेरिकाका महासचिव हरि गिरीले गर्नुभएको थियो । कार्यक्रम सफल बनाउन सहयोग गर्ने अतिथि, संघसंस्थाका प्रतिनिधि, समाजका पदाधिकारी, सदस्य तथा उपस्थित सम्पूर्ण महानुभावप्रति आयोजक संस्थाले आभार व्यक्त गरेको छ ।

