
धादिङ । नेकपा एमालेको आज (बुधबार) देखि काठमाडौंमा सुरु हुने राष्ट्रिय कार्यकर्ता भेलामा धादिङबाट ३२ जना प्रतिनिधि सहभागी हुने भएका छन् ।
भेलामा धादिङबाट जिल्ला पार्टीका चार जना पदाधिकारी, १३ वटा स्थानीय तहका पार्टी कमिटीका अध्यक्ष तथा उपाध्यक्ष २६ जना र पालिका अध्यक्षमा निर्वाचित दुई जना जनप्रतिनिधि सहभागी हुनेछन् ।
सहभागी हुने जिल्ला पदाधिकारीमा कार्यवाहक अध्यक्ष अर्जुनकुमार श्रेष्ठ (गोर्खाली), सचिव राधिका सापकोटा तथा उपसचिवद्वय भक्तबहादुर लामिछाने र उर्मिला रेग्मी रहेका छन् । त्यस्तै, थाक्रे र गल्छी गाउँपालिकाका अध्यक्षका रूपमा निर्वाचित दुई जना जनप्रतिनिधिसमेत भेलामा सहभागी हुनेछन् ।
भेलामा देशभरबाट ३ हजार ४१४ जना प्रतिनिधि सहभागी हुँदैछन् । नेकपा एमालेले राष्ट्रिय कार्यकर्ता भेलालाई आसन्न स्थानीय तह निर्वाचनको तयारीमा केन्द्रित गर्ने जनाएको छ ।
भेलामा सहभागी प्रतिनिधिहरूलाई स्थानीय तह निर्वाचनमा पार्टीको जित सुनिश्चित गर्न आवश्यक रणनीति र गर्नुपर्ने कामबारे लिखित सुझाव दिन आग्रह गरिएको छ । प्रतिनिधिहरूबाट प्राप्त सुझावका आधारमा निर्वाचनकेन्द्रित कार्ययोजना सार्वजनिक गरी चुनावी तयारीमा जुट्ने एमालेको तयारी छ ।

