एमालेको राष्ट्रिय भेलाबाट १७ बुँदे संकल्प पारित, आचरण सुधार्ने प्रतिबद्धता

Avatar photo
Dhadingpost
मंसिर ३, २०८३

नेकपा (एमाले) को राष्ट्रिय भेलाले पार्टीलाई वैचारिक, साङ्गठनिक र भावनात्मक रूपमा एकताबद्ध बनाउँदै नेता–कार्यकर्ताको आचरण सुधार्ने प्रतिबद्धतासहित १७ बुँदे संकल्प पारित गरेको छ।

भेलाबाट पारित संकल्पमा लोकतन्त्रको पुनःस्थापना, पार्टीको आन्तरिक एकता, सङ्गठन सुदृढीकरण, आगामी निर्वाचन, युवा सहभागिता, आर्थिक पारदर्शिता र जनताप्रतिको जवाफदेहितालगायत विषयलाई प्राथमिकता दिइएको छ।

एमालेले पारित गरेको १७ बुँदे संकल्पमा निम्न प्रतिबद्धता व्यक्त गरिएको छ :

१. लोकतन्त्रको पुनःस्थापना र आन्दोलनप्रति प्रतिबद्धता

असंवैधानिक ढङ्गले अपहरण गरिएको भनिएको लोकतन्त्र फिर्ता गराउने तथा राष्ट्र, लोकतन्त्र र आन्दोलनको हितका लागि अग्रपङ्क्तिमा उभिएर बलिदान दिन तयार रहने।

२. पार्टीको आन्तरिक एकता र सङ्गठन सुदृढीकरण

सिङ्गो पार्टीलाई वैचारिक, साङ्गठनिक र भावनात्मक रूपमा एकताबद्ध, सुदृढ र गतिशील बनाउन आआफ्नो ठाउँबाट अधिकतम योगदान गर्ने।

३. पार्टीको पुनरुत्थान र आगामी निर्वाचन

गत वर्ष व्यहोर्नुपरेको धक्काबाट उठ्दै आन्दोलनको पुनरुत्थान गर्ने र पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न उच्च मनोबलका साथ अघि बढ्ने। एउटा लडाइँमा पराजित भए पनि सिङ्गो युद्ध नहारेको भन्दै आगामी निर्वाचनमार्फत यो सत्य स्थापित गर्ने।

४. उपलब्धिप्रति गर्व र कमीकमजोरी सुधार

पार्टीले गरेका ऐतिहासिक कामप्रति गर्व गर्दै कमीकमजोरीलाई बिना मोलाहिजा सच्याउने तथा सकारात्मकता, नयाँ गति र उच्च मनोबलका साथ अघि बढ्ने।

५. जनतासँग सम्बन्ध विस्तार

जनताको बीचमा जाने, उनीहरूका सुझाव, गुनासा र आलोचना सुन्ने तथा प्राप्त सुझावलाई आत्मसात् गर्ने।

६. युवा पुस्तासँग संवाद र सहकार्य

युवा पुस्ताको मनोविज्ञान र सरोकार बुझ्ने, उनीहरूसँग संवाद र सहकार्य गर्ने तथा आन्दोलनमा युवा सहभागिता र प्रभावकारी भूमिका सुनिश्चित गर्ने।

७. नैतिकता, पारदर्शिता र जिम्मेवारी पालना

जिम्मेवारी लिँदा खाएको शपथप्रति प्रतिबद्ध रहने, नैतिक, पारदर्शी, सादा, उद्यमशील, स्वावलम्बी र स्वच्छ आचरणयुक्त जीवन बिताउने तथा संविधान, कानुन, पार्टी विधान, नियमावली र आचारसंहिताको पूर्ण पालना गर्ने।

८. विलासी शैली र जनताबाट टाढिने प्रवृत्तिको अन्त्य

पार्टी पङ्क्तिमा देखिएका विलासी शैली, औपचारिकता, जनताबाट टाढिने प्रवृत्ति र यान्त्रिकता अन्त्य गर्दै जनताको सेवकका रूपमा स्थापित हुने।

९. आर्थिक तथा आचरणगत विचलनविरुद्ध निर्मम हुने

नेता–कार्यकर्तामा देखिएका आर्थिक तथा आचरणगत विचलन, विकृति र भ्रष्टताप्रति निर्मम हुँदै त्यस्ता प्रवृत्ति हटाउने र पार्टीको छविलाई स्वच्छ, जनसेवी तथा भरोसायोग्य बनाउने।

१०. उम्मेदवार छनोट र निर्वाचनमा एकता

निर्धारित विधि तथा जनता र कार्यकर्ताको भावनाअनुसार स्वस्थ ढङ्गले उम्मेदवार छनोट प्रक्रियामा सहभागी हुने र पार्टीको निर्णयलाई आत्मसात् गर्दै उम्मेदवारलाई विजयी बनाउन सम्पूर्ण शक्ति केन्द्रित गर्ने।

११. जनसरोकारका विषयमा अग्रसरता

महँगी, अभाव, विस्थापन, बेरोजगारी, विभेद, बसाइँसराइ तथा निःशुल्क र गुणस्तरीय शिक्षा एवं स्वास्थ्यजस्ता जनसरोकारका विषयमा अगाडि रहेर आवाज उठाउने, समाधानका लागि पहल गर्ने र सुखदुःखमा जनताको साथमा रहने।

१२. स्वस्थ बहस र लोकतान्त्रिक निर्णयको सम्मान

अधिवेशन तथा बैठकमा स्वस्थ बहस गर्ने, सहमति निर्माणको प्रयास गर्ने र लोकतान्त्रिक विधिबाट भएका निर्णयलाई हार्दिकतापूर्वक सम्मान गर्ने।

१३. गुटबन्दी र नकारात्मकताको अन्त्य

गुटबन्दी, अस्वस्थता र नकारात्मकतालाई निषेध गर्ने, आफूलाई लागेका कुरा सम्बन्धित कमिटीमा निर्धक्क राख्ने तथा सार्वजनिक रूपमा पार्टी नीति, निर्णय र नेतृत्वको प्रतिरक्षा गर्ने।

१४. असहमतिलाई सम्मान र जिम्मेवारी बाँडफाँट

असहमतिलाई सम्मान गर्ने, असमझदारी र अस्वस्थता हटाउने, सबै नेता–कार्यकर्तालाई उचित जिम्मेवारी बाँडफाँट गर्ने र पार्टीको ऊर्जालाई एकजुट बनाउने।

१५. जिम्मेवारीप्रति जवाफदेहिता

आफ्नो जिम्मेवारी गम्भीरता, इमानदारी र पूर्ण क्षमताका साथ पूरा गर्ने तथा काम र कार्यक्षेत्रको परिणामप्रति जवाफदेही हुने। अरूतिर औँला तेर्स्याएर आफ्नो दायित्वबाट पन्छिने प्रवृत्ति अन्त्य गर्ने।

१६. सामाजिक विकृति र विभेदविरुद्ध प्रतिबद्धता

महिला हिंसा, जातीय विभेद, छुवाछुत, श्रमिकप्रतिको अवहेलना, अन्धविश्वास, कुरीति तथा राज्य र सामुदायिक स्रोतको दुरुपयोगविरुद्ध उभिने। सामाजिक एकता, सद्भाव, सहिष्णुता, स्वच्छता र मर्यादाको अगुवाइ गर्ने।

१७. जनविश्वास, अनुशासन र जनसेवालाई प्राथमिकता

पार्टी शक्तिको स्रोत जनविश्वास, नेतृत्वको आधार पार्टी पङ्क्ति र समाजबाट प्राप्त विश्वास तथा सङ्गठनको शक्ति विधि र अनुशासनमा निहित रहेको मान्यता आत्मसात् गर्ने। राजनीतिलाई जनताको सेवाका रूपमा लिँदै पार्टीभित्रको रूपान्तरण र सामाजिक रूपान्तरणमा भूमिका खेल्ने।

एमालेले यी १७ बुँदे संकल्पमार्फत पार्टीको आन्तरिक सुधार, जनतासँगको सम्बन्ध विस्तार, नेतृत्वको आचरण, सङ्गठनात्मक अनुशासन र आगामी राजनीतिक यात्रालाई व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।