
धादिङ । धादिङको ज्वालामुखी गाउँपालिका–७, धारापानी खेल मैदानमा कात्तिक ६ गतेदेखि १३औँ अनकन्या कप ९-ए साइड फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । लगनशील युवा क्लबको आयोजनामा हुने प्रतियोगिता कात्तिक ९ गतेसम्म चल्नेछ ।
लगनशील युवा क्लबका सचिव सौरव थापाका अनुसार प्रतियोगिताको विजेता टिमले नगद १ लाख ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै, उपविजेता टिमले ७५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछ ।
प्रतियोगितामा व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार रुपैयाँ र सर्वाधिक गोलकर्तालाई ४ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
१७ टिमले प्रतिस्पर्धा गर्ने
१३औँ अनकन्या कप फुटबल प्रतियोगितामा १७ टिम सहभागी हुँदैछन् । प्रतियोगिताका टिमलाई दुई पोलमा विभाजन गरिएको छ ।
पोल ‘ए’ मा सिद्धलेक युवा क्लब, अनकन्या–११, जागृति युवा क्लब, ब्रदर एफसी, याकाता युवा क्लब, चैनपुर युनाइटेड, ताम्सालिङ युवा क्लब, मैदी युनाइटेड र आदर्श युवा क्लब रहेका छन् ।
त्यसैगरी, पोल ‘बी’ मा लगनशील युवा क्लब, ढुसेनी एफसी, सहारा एफसी, मिलिजुली युवा क्लब, सुनाखानी एफसी, चक्रदेवी युवा क्लब, रानीपौवा युवा क्लब र मेन्दोमाया युवा क्लब रहेका छन् ।
स्थानीयस्तरमा फुटबल खेलको विकास, खेलाडी उत्पादन तथा खेलकुद गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको क्लबले जनाएको छ ।
अनकन्या कपमा पुराना विजेताको इतिहास
अनकन्या कपका अघिल्ला संस्करणमा पनि विभिन्न क्लबले उपाधि जित्दै आएका छन् । १२औँ अनकन्या कपमा लगनशील युवा क्लबले अनकन्या युवा क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको थियो ।
त्यसअघि आयोजित ११औँ अनकन्या कपमा टार गाउँ युवा क्लब, मुरलीभञ्ज्याङले मैदी युनाइटेडलाई १–० गोल अन्तरले हराउँदै उपाधि हात पारेको थियो ।
२०६३ सालमा स्थापना भएको लगनशील युवा क्लबले खेलकुदमार्फत स्थानीय प्रतिभाको पहिचान, खेलाडी उत्पादन र खेल क्षेत्रको विकासमा योगदान पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गर्दै आएको जनाएको छ ।
सम्बन्धित समाचार:





















