धादिङ २ प्रदेश सभा (ख) को चुनावी अंकगणित

Avatar photo
Dhadingpost
मङ्लबार, भदौ ७, २०७९

सरकारले आगामी मंसिर ४ गते संसदीय निर्वाचनको मिति घोषणा गरेसँगै देश पुन: निर्वाचनमय भएको छ । ओली सरकारको प्रतिगमनका विरुद्ध एकजुट भएका पाँच राजनीतिक दलहरू स्थानीय निर्वाचनमा जस्तै संसदीय निर्वाचनमा पनि गठबन्धन कायम राख्न प्रतिवद्द देखिएका छन् । बाबुराम भट्टराई नेतृत्वको नवगठित नेपाल समाजवादी पार्टी (नेसपा) र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानले नेकपा (माओवादी केन्द्र) को चुनाव चिन्हबाटै चुनाव लड्ने निर्णय गरिसकेका छन् । माओवादी केन्द्र र एकीकृत समाजवादीले निर्वाचन घोषणापत्र साझा बनाउने निर्णय गरेका छन् । यसले सत्ता गठबन्धन थप मजबुत बनेको छ भने नेकपा (एमाले) दबाबमा परेको छ ।

धादिङ जिल्लामा पनि संसदीय निर्वाचन सत्ता गठबन्धन भर्सेस एमाले गठबन्धन हुने देखिन्छ । धादिङ एमालेलाई राष्ट्रिय प्रजातन्त्र पार्टीसँग गठबन्धन गर्नुपर्ने बाध्यता सिर्जना भएको छ । यदी एमाले – राप्रपा गठबन्धन निर्माण भयो भने धादिङ जिल्ला निर्वाचन क्षेत्र नं. २ , प्रदेश सभा (ख) मा निर्वाचन अत्यन्तै प्रतिस्पर्धात्मक हुने देखिन्छ ।

प्रशासनिक विभाजन
धादिङ जिल्ला, निर्वाचन क्षेत्र नं. २, प्रदेश सभा (ख) मा जिल्लाका उत्तरी क्षेत्रमा अवस्थित चार गाउँपालिकाहरू रुबिभ्याली गाउँपालिका, खनियाबास गाउँपालिका, गंगाजमुना गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका र नीलकण्ठ नगरपालिकाका वडा नं. १० र ११ (साविक ज्यामरुङ गाविस) पर्दछन् । जसअन्तर्गत क्रमशः ६, ५, ७, ७ र २ गरि जम्मा २७ वटा वडाहरू रहेका छन् ।

स्थानीय निर्वाचन २०७९ को मतभार
स्थानीय निर्वाचन २०७९ मा वडा अध्यक्षहरूले प्राप्त मतका आधारमा यो प्रदेश सभाभित्र प्राविधिक हिसाबले नेकपा (एमाले) पहिलो दल बनेको छ । सत्ता गठबन्धन सम्बद्घ दलहरूले वडा तहमा समेत तालमेल गरि सबै वडामा उम्मेदवार नउठाएका कारण उनीहरूले वडा अध्यक्षमा प्राप्त गरेको मत कम देखिन आएको हो । प्राप्त मतका आधारमा नेकपा (एमाले) ले १२ हजार ३ सय १ , नेपाली कांग्रेसले १२ हजार २ सय ८८ , नेकपा (माओवादी केन्द्र) ले ६ हजार ५ सय १८ , राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ हजार ४ सय ३८ , नेकपा (एकीकृत समाजवादी) ले २ हजार १ सय ३६ र तत्कालीन जनता समाजवादी पार्टीले ८ सय २४ मत प्राप्त गरेका छन् ।

कमजोर छैन राप्रपा पनि
राप्रपाका केन्द्रीय उपाध्यक्ष तथा पूर्व गृहमन्त्री बुद्दिमान तामाङ , केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री परशुराम तामाङ , केन्द्रीय सदस्य डम्बरबहादुर तामाङ , नेता ध्रुवविक्रम मल्ल लगायतका नेताहरूको मतदान क्षेत्र रहेको यो प्रदेश सभामा राप्रपालाई कमजोर आँकलन गर्न मिल्दैन । स्थानीय निर्वाचनकै परिणामलाई हेर्ने हो भने पनि यहाँ राप्रपाले रुबिभ्यालीमा १ र खनियाबासमा ३ गरि ४ वटा वडामा वडाध्यक्ष जितेको छ । साथै रुबिभ्याली गाउँपालिकामा १ हजार ९ सय ६८ र खनियाबास गाउँपालिकामा १ हजार ६ सय ८७ मत प्राप्त गरि पालिकाको पहिलो दल बन्न सफल भएको छ ।

प्रदेश सभा निर्वाचन २०७४ को नतिजा
२०७४ सालमा सम्पन्न प्रदेश सभा निर्वाचनमा यो प्रदेश सभामा तत्कालीन वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका जगत सिम्खडा र लोकतान्त्रिक गठबन्धनका उम्मेदवार राप्रपाका डम्बरबहादुर तामाङका बीचमा मुख्य प्रतिस्पर्धा रहेको थियो । माओवादी उम्मेदवार सिम्खडालाई एमालेको समर्थन थियो भने राप्रपाका उम्मेदवार तामाङलाई नेपाली कांग्रेसको समर्थन रहेको थियोे । जुन निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार सिम्खडा १७ हजार ६ सय ५ मतका साथ विजयी भएका थिए भने निकटतम प्रतिस्पर्धी तामाङले १५ हजार ७ सय ७४ मत प्राप्त गरेका थिए । जसमा मतान्तर १ हजार ८ सय ३१ रहेको थियोे ।

गठबन्धन र सिट बाँडफाँड
सत्ता गठबन्धन सम्बद्ध दलहरूले पूर्व निर्वाचित क्षेत्र सोही दललाई छाड्ने सहमति गरेभने यो प्रदेश सभा माओवादी केन्द्रकै भागमा स्वत: पर्ने देखिन्छ । साथै एमाले र राप्रपाको चुनावी तालमेल भयो भने यो प्रदेश सभामा राप्रपाको दाबी रहनु स्वभाविक मान्न सकिन्छ । त्यस्तो अवस्थामा २०७४ को चुनावमा जस्तै माओवादी केन्द्र र राप्रपाका उम्मेदवारका बीच कडा प्रतिस्पर्धा रहने छ । माओवादी केन्द्रबाट वर्तमान प्रदेश सांसद जगत सिम्खडा, रामबहादुर भण्डारी, दलबहादुर बुर्लाकोटी मुख्य दाबेदार रहेका छन् भने राप्रपाबाट नेता डम्बरबहादुर तामाङ, ध्रुवविक्रम मल्लको दाबेदारी रहेको छ ।

आगामी निर्वाचनको परिदृश्य १
स्थानीय निर्वाचन २०७९ को तथ्यांकलाई विश्लेषण गर्दा सत्ता गठबन्धन यो प्रदेश सभामा सुविधाजनक बहुमतमा देखिन्छ । एमालेले राप्रपासँग चुनावी तालमेल नगर्ने हो भने यहाँ सत्ता गठबन्धनको २१ हजार ७ सय ६६, एमालेको १२ हजार ३ सय १ र राप्रपाको ४ हजार ४ सय ३८ मत रहेको छ । जसअनुसार सत्ता गठबन्धन निकटतम नेकपा (एमाले) भन्दा ९ हजार ४ सय ६५ मतले अगाडि देखिन्छ ।

आगामी निर्वाचनको परिदृश्य २
संसदीय निर्वाचनमा एमाले र राप्रपाको चुनावी तालमेल कायम हुन सक्यो भने सत्ता गठबन्धनसँगको मतदुरी केही घट्ने र चुनाव प्रतिस्पर्धात्मक बन्ने देखिन्छ । एमाले – राप्रपा गठबन्धन निर्माण भए सत्ता गठबन्धनको मत २१ हजार ७ सय ६६ र एमाले – राप्रपा गठबन्धनको मत १६ हजार ७ सय ३९ रहेको देखिन्छ । यस अवस्थामा सत्ता गठबन्धन ५ हजार २७ मतले मात्रै अगाडि हुनेछ ।

निष्कर्ष
यो तथ्यांक विश्लेषणमा केही प्राविधिक सीमा छन् । दलहरूले गत स्थानीय तह निर्वाचनमा गठबन्धन गरेका कारण कतिपय वडामा उम्मेदवार नै उठाएका थिएनन् । त्यसैले ती क्षेत्रमा वडाध्यक्षले पाएको मतले त्यहाँ सम्बन्धित दलको वास्तविक भोटको प्रतिनिधित्व नगर्न पनि सक्छ । अर्कातिर संसदीय निर्वाचनमा केही लोकप्रिय व्यक्तिले स्वतन्त्र उम्मेदवार भएर पनि जित्ने सम्भावना नकार्न सकिँदैन । स्वतन्त्र वडाध्यक्षका उम्मेदवारले प्राप्त भोट संघीय निर्वाचनमा कुन दलको उम्मेदवारले लैजान्छ भन्ने यकिन हुँदैन । यस्तै, स्थानीय निर्वाचनमा होस् वा संसदीय निर्वाचनमा, उम्मेदवार (दलीय) को व्यक्तिगत प्रभाव, उचाइ र लोकप्रियताले पनि मतमा केही प्रभाव पार्न सक्नेतर्फ नजरअन्दाज गर्न सकिँदैन ।