गजुरीमा ग्रामिण यातायात धादिङ प्रालिद्वारा विद्यार्थीलाई निःशुल्क यातायात सेवा

Avatar photo
Dhadingpost
आइतवार, बैशाख २३, २०८१

काठमाडौं । गजुरीमा ग्रामीण यातायात धादिङ प्रालिले विद्यार्थीलाई निःशुल्क यातायात सेवा दिन थालेको छ । प्रालिले यही वैशाख २० गतेदेखि धादिङको गजुरी गाउँपालिकास्थित किरान्चोक कटुञ्जे माविमा अध्ययनरत विद्यार्थीलाई निःशुल्क स्कुल ल्याउने र लैजाने गरेको हो ।

विद्यार्थीलाई स्कुल आवातजावतमा समस्या देखेर दुई साता अघिदेखि यो सेवा शुरु गरिएको यातायात व्यवसायी रेशमबहादुर बस्नेत बताए । उनका अनुसार किरान्चोक–आदमघाट रुटमा चल्ने बसमा विद्यार्थीले उक्त सेवा पाउनेछन् । ‘यो ठाउँमा बस चल्न थालेको १०/१२ दिन भयो । यो १०/१२ दिनमा हामीले बच्चाहरू स्कुल जाँदा निकै दुःख पाएको देखियो । बच्चालाई स्कुल जान सास्ती नहोस् भनेर नै हामीले यो सेवा शुरु गरेका हौं,’ उनले भने ।

उक्त ठाउँका विद्यार्थीलाई विद्यालय जान डेढदेखि २ घन्टा लाग्ने गरेको छ । बसले ५८ जना विद्यार्थीलाई सेवा दिइरहेको छ । यसअघि ४ वर्षअघि दोभान खड्का भन्ने ठाउँका विद्यार्थीलाई पनि निःशुल्क यातायात सेवा दिइएको बस्नेतले बताए । त्यो रुटको बसमा लगभग ४२ जना विद्यार्थीले दैनिक सुविधा लिने गरेका छन् ।

ग्रामीण यातायातले विद्यार्थीलाई निःशुल्क यातायात सेवा मात्रै दिएको छैन, बस चढ्ने विद्यार्थीलाई पुरस्कारको व्यवस्था पनि गरेको छ । यातायात व्यवसायी बस्नेतले बस चढ्ने विद्यार्थीमध्ये प्रथम हुनेलाई १५ सय, दोस्रो हुनेलाई १ हजार र तेस्रो हुनेलाई ५०० रुपैयाँ दिने व्यवस्था पनि भएको बताए ।

विद्यालयका प्रधानाध्यापक दीपेन्द्र भण्डारीले निःशुल्क यातायात सेवा सञ्चालनपछि विद्यार्थी खुसी भएको बताए । उनले अहिले विद्यार्थीले कक्षा पनि नछाड्ने गरेको बताए । ‘बच्चालाई घर फर्किन मात्रै ३ घन्टा लाग्ने हुँदा बेलुका पढ्नै छाडी विद्यार्थी घर भाग्ने गर्थे । अहिले ४ बजेसम्म ढुक्क भएर पढ्छन्,’ उनले भने । यो खवर अभियान दैनिकबाट लिईएको हो ।