धादिङमा एकीकृत समाजवादीको धरातल

Avatar photo
Dhadingpost
शुक्रबार, साउन २७, २०७९

नेकपा ( एमाले ) बाट विद्रोह गर्दै नेकपा ( एकीकृत समाजवादी ) पार्टी गठन भए पश्चात् देशैभर एमालेको संगठन खण्डित हुन पुग्यो । धादिङ जिल्लाका प्रभावशाली नेता राजेन्द्रप्रसाद पाण्डे , गंगालाल तुलाधर ,गुरुप्रसाद बुर्लाकोटी लगायतका नेताहरू एकीकृत समाजवादी पार्टीमा जोडिनु भयो । पार्टीको ३३५ सदस्यीय केन्द्रीय समितिमा राजेन्द्रप्रसाद पाण्डेले उपाध्यक्ष , गंगालाल तुलाधरले उपमहासचिवजस्तो महत्त्वपूर्ण जिम्मेवारी पाउनु भयो । तत्कालीन स्थानीय तहका एमालेबाट निर्वाचित ७९ जना जनप्रतिनिधिले एकीकृत समाजवादी पार्टी रोजेका थिए । पार्टीका शक्तिशाली नेताहरू नै विद्रोहमा सामेल हुँदा जिल्लामा एमालेको शक्ति अत्यन्त क्षीण हुने सम्भावनाकाबीच स्थानीय तह निर्वाचन २०७९ को परिणामले जिल्लामा एकीकृत समाजवादीको धरातल कमजोर रहेको पुष्टि गरेको छ । सत्ता गठबन्धनको एक घटक हुनुको नाताले केही पालिका र वडामा सिट सुरक्षित गरी एमालेलाई पराजित गर्न सहयोगी मत बाहेक अंकगणितीय हिसाबले एकीकृत समाजवादी कमजोर रहेको तथ्यांकले देखाउँछ ।

स्थानीय निर्वाचनमा उम्मेदवारी :
एकीकृत समाजवादी पार्टी गठन भएपछिको पहिलो निर्वाचनको अभ्यासको रूपमा स्थानीय तहको निर्वाचन २०७९ रहन गयो । सत्ता गठबन्धनका कारण जिल्लाका १३ वटै स्थानीय तह र १०४ वटै वडामा उम्मेदवारी नदिएको एकीकृत समाजवादीले धुनिबेसी नगरपालिकाको प्रमुख , गल्छी र गजुरी गाउँपालिकाको अध्यक्ष , ६ वटा गाउँपालिकामा उपाध्यक्ष , ३७ वडामा वडा अध्यक्ष , ३९ वडामा महिला सदस्य , ३२ वडामा दलित महिला सदस्य र ४४ वटा वडामा वडा सदस्यमा गरि कुल २११ सिटमा उम्मेदवारी दिएको थियो ।

निर्वाचित जनप्रतिनिधि :
एकीकृत समाजवादीले उम्मेदवार बनाएका २११ जनामध्ये जम्मा ३७ जनालाई निर्वाचित गराउन सफल भयो । जसमा धुनिबेसी नगरपालिकाको प्रमुखमा बालकृष्ण आचार्य , तीनवटा गाउँपालिका ज्वालामुखी गाउँपालिका , सिद्दलेक गाउँपालिका र बेनिघाट रोराङ गाउँपालिकामा क्रमशः धर्मबहादुर अर्याल , सविता अर्याल र टापबहादुर श्रेष्ठले उपाध्यक्ष तथा ६ वटा वडाका वडा अध्यक्ष , ७ जना महिला सदस्य , ७ जना दलित महिला सदस्य र १३ जना वडा सदस्यमा निर्वाचित भए । गल्छी र गजुरी गाउँपालिकाको अध्यक्ष पदका दुवै उम्मेदवार निर्वाचित हुन सकेनन् ।

एकीकृत समाजवादीको मतभार :
वडा अध्यक्षले प्राप्त गरेको मतको आधारमा विश्लेषण गर्दा जिल्लामा एमालेले ६३ हजार ७ सय १६, नेपाली कांग्रेसले ४९ हजार ३ सय ८८, नेकपा (माओवादी केन्द्र) ले ३९ हजार ३ सय ५, एकीकृत समाजवादीले १२ हजार २ सय ९२, राष्ट्रिय प्रजातन्त्र पार्टीले ६ हजार ५ सय ९ र जनता समाजवादी पार्टीले १ हजार ६० मत प्राप्त गरेको छ । मतभारको आधारमा जिल्लामा पहिलो पार्टी रहेको नेकपा ( एमाले ) को मत एकीकृत समाजवादी पार्टीको भन्दा पाँच गुणा बढी छ । क्षेत्रगत आधारमा निर्वाचन क्षेत्र नं. १ मा एमालेले ३७ हजार ७ सय ७८, माओवादी केन्द्रले २४ हजार ९ सय २५, नेपाली कांग्रेसले १९ हजार ४ सय २३, एकीकृत समाजवादीले ८ हजार ८ सय ३६ र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ हजार २ सय २२ मत प्राप्त गरेको छ भने निर्वाचन क्षेत्र नं. २ मा नेपाली कांग्रेसले २९ हजार ९ सय ६५, एमालेले २५ हजार ९ सय ३८, माओवादी केन्द्रले १४ हजार ३ सय ८०, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ हजार २ सय ८७, एकीकृत समाजवादीले ३ हजार ४ सय ५६ र जनता समाजवादी पार्टीले १ हजार ६० मत प्राप्त गरेको छ । जिल्लागत रूपमा चौथो पार्टीको रूपमा रहेको एकीकृत समाजवादी १ नं. निर्वाचन क्षेत्रमा चौथो र २ नं. निर्वाचन क्षेत्रमा पाँचौ शक्तिकोरूपमा रहेको छ ।

एकीकृत समाजवादीले प्राप्त गरेको मत :

  • जिल्लाभर : – १२,२९२
  • १ नं. निर्वाचन क्षेत्र :- ८,८३६
    • प्रदेश सभा (क) :- ६,४९८
    • प्रदेश सभा ( ख) :- २,३३८
  • २ नं. निर्वाचन क्षेत्र :- ३,४५६
    • प्रदेश सभा (क) :- १,३२०
    • प्रदेश सभा (ख) :- १,२३६

स्थानीय तहगत आधारमा :
(०१) रुबिभ्याली गाउँपालिका :- ९७७
(०२) खनियाबास गाउँपालिका :- १६१
(०३) गंगाजमुना गाउँपालिका :- ९०१
(०४) त्रिपुरासुन्दरी गाउँपालिका :- ९७
(०५) नेत्रावती डबजोङ गाउँपालिका :- ३७
(०६) ज्वालामुखी गाउँपालिका :- १,२४३
(०७) नीलकण्ठ नगरपालिका :- ४०
(०८) सिद्दलेक गाउँपालिका :- ७१६
(०९) बेनिघाट रोराङ गाउँपालिका :- २८०
(१०) गजुरी गाउँपालिका :- १,३४२
(११) गल्छी गाउँपालिका :- २,०२७
(१२) थाक्रे गाउँपालिका :- २,५४४
(१३) धुनिबेसी नगरपालिका :- १,९२७
वडा अध्यक्षमा प्राप्त मतका आधारमा एकीकृत समाजवादीको सबैभन्दा बढी मत थाक्रे गाउँपालिकामा र सबैभन्दा कम नेत्रावती डबजोङ गाउँपालिकामा रहेको देखिन्छ ।

निर्वाचित ६ वडा अध्यक्षहरू :
(०१) रुपा घले, रुबिभ्याली गाउँपालिका, वडा नं. २
(०२) समीर गुरुङ, रुबिभ्याली गाउँपालिका, वडा नं. ६
(०३) रविन अधिकारी, गंगाजमुना गाउँपालिका, वडा नं. ७
(०४) प्रेमकुमार थापा, थाक्रे गाउँपालिका, वडा नं. ८
(०५) लक्षजित तामाङ, धुनिबेसी नगरपालिका, वडा नं. २
(०६) हरिप्रसाद सुवेदी, धुनिबेसी नगरपालिका, वडा नं. ४

जनप्रतिनिधि विहीन ६ स्थानीय तह :
(०१) खनियाबास गाउँपालिका
(०२) त्रिपुरासुन्दरी गाउँपालिका
(०३) नेत्रावती डबजोङ गाउँपालिका
(०४) नीलकण्ठ नगरपालिका
(०५) गजुरी गाउँपालिका
(०६) गल्छी गाउँपालिका
(जनप्रतिनिधि विहीन स्थानीय तह छनोटमा गाउँ/नगर पालिकाका प्रमुख/उपप्रमुख तथा वडामा निर्वाचित वडा अध्यक्ष र सदस्यलाई आधार मानिएको छ । दलित तथा अल्पसंख्यक समुदाय अन्तर्गत गाउँ/नगर कार्यपालिकामा निर्वाचित सदस्यहरूलाई आधार मानिएको छैन ।)