
धादिङ । रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट गभर्नर इलेक्ट (DGE) रोटरीयन डा. आईपी ढकाल आज धादिङ आउँदै हुनुहुन्छ । उहाँ रोटरी क्लब अफ धादिङको ११ औँ पदस्थापन समारोह (11th Club Installation Ceremony) मा प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ ।
समारोह आज साँझ ५ बजे नीलकण्ठ नगरपालिका–३ स्थित धादिङ क्रिक रिसोर्ट प्रालिमा आयोजना हुनेछ । कार्यक्रममा डिस्ट्रिक्ट गभर्नर नोमिनी (DGN) रोटरीयन अमित गिरी पनि विशेष अतिथिका रूपमा सहभागी हुनेछन् ।
को हुन् डा.आईपी ढकाल ?
रोटरीयन डा.आईपी. ढकाल पशु चिकित्सक, शिक्षाविद् तथा सामाजिक अभियन्ताका रूपमा परिचित व्यक्तित्व हुनुहुन्छ । उहाँसँग पशु चिकित्सा, उच्च शिक्षा तथा सार्वजनिक सेवाको क्षेत्रमा ३८ वर्षभन्दा बढी अनुभव रहेको छ ।
उहाँले जापानको राकुनो गाकुएन विश्वविद्यालयबाट पशु चिकित्साशास्त्र (Veterinary Medicine) मा विद्यावारिधि (PhD) हासिल गर्नुभएको छ। उहाँका ५० भन्दा बढी अनुसन्धानमूलक लेख तथा दुईवटा पाठ्यपुस्तक प्रकाशित छन् ।
नेपालको कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) का उपकुलपति (२०१५–२०१९) का रूपमा कार्यरत रहँदा उहाँले सात वटा आंगिक क्याम्पस स्थापना गर्नुका साथै विश्वका ३० भन्दा बढी विश्वविद्यालयसँग शैक्षिक सहकार्य विस्तार गर्नुभएको थियो ।
रोटरीमा दुई दशकभन्दा लामो योगदान
डा. ढकाल सन् २००३ देखि रोटरी क्लब अफ भरतपुरका चार्टर सदस्य हुनुहुन्छ । क्लब अध्यक्षदेखि सहायक गभर्नर, विभिन्न जिल्ला समितिको नेतृत्व हुँदै उहाँ हाल डिस्ट्रिक्ट गभर्नर इलेक्ट (२०२६–२७) को जिम्मेवारीमा हुनुहुन्छ भने २०२७–२८ का लागि डिस्ट्रिक्ट गभर्नर (DG) का रूपमा चयन भइसकेका छन् ।
रोटरीमार्फत उहाँले ग्लोबल ग्रान्टअन्तर्गत बाल हेरचाह केन्द्र स्थापना, खानेपानी आयोजना, स्वास्थ्य सेवा कार्यक्रम, दिगो विकास लक्ष्य (SDGs) लगायतका विभिन्न परियोजनामा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको छ । उहाँ द रोटरी फाउन्डेसनका मेजर डोनर लेभल–१, पल ह्यारिस सोसाइटी सदस्य तथा रोटरी फाउन्डेसन क्याडर अफ टेक्निकल एडभाइजर्सका सदस्य समेत हुनुहुन्छ ।

धादिङमा ईश्वर कँडेलको नेतृत्वमा नयाँ कार्यसमिति
आजको पदस्थापन समारोहमार्फत सन् २०२६–२७ कार्यकालका लागि ईश्वर कँडेलको अध्यक्षतामा नयाँ कार्यसमितिले औपचारिक रूपमा जिम्मेवारी ग्रहण गर्नेछ ।
नयाँ कार्यसमितिमा चार्टर अध्यक्षमा ध्रुव थापा, तत्कालीन पूर्वअध्यक्षमा डा. राम रिजाल, अध्यक्ष–निर्वाचितमा विष्णुकुमार श्रेष्ठ तथा अध्यक्ष–मनोनीतमा सरस्वती थापा रहनुभएको छ।
त्यसैगरी उपाध्यक्षमा अनिल केसी, सचिवमा प्रकाश भण्डारी, कोषाध्यक्षमा रेश्मा श्रेष्ठ, सह–सचिवमा बाबुकाजी श्रेष्ठ तथा सह–कोषाध्यक्षमा महेन्द्र खनाल चयन हुनुभएको छ ।
क्लब प्रशासन संयोजक तथा निर्देशकमा भीमबहादुर श्रेष्ठ, पब्लिक इमेज संयोजक तथा निर्देशकमा बिनु सिम्खडा, सदस्यता संयोजक तथा निर्देशकमा नवीनकुमार श्रेष्ठ, सेवा परियोजना संयोजक तथा निर्देशकमा कृष्णलाल उप्रेती, युवा सेवा संयोजक तथा निर्देशकमा शिवराम श्रेष्ठ, द रोटरी फाउन्डेसन (TRF) संयोजक तथा निर्देशकमा सुदीप रसाइली, क्लब लर्निङ फेसिलिटेटरमा अशोककुमार बस्नेत तथा सार्जेन्ट–एट–आर्म्समा राजाराम सिलवाल रहनुभएको छ ।
रोटरी क्लब अफ धादिङले नयाँ नेतृत्वसँगै आगामी वर्ष शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, युवा नेतृत्व विकास, खानेपानी तथा विभिन्न सामाजिक सेवामूलक कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने जनाएको छ ।
पूर्व अध्यक्षहरुको सूची
- २०२५–२६ अध्यक्षमा डा. राम रिजाल
- २०२४-२५ को अध्यक्षमा सुदिप रसाईली
- ०२३-२४ को अध्यक्षमा नविन कुमार श्रेष्ठ चयन
- ०२२-२३ को अध्यक्षमा रोहित भण्डारी चयन
- २०२१–२०२२ को अध्यक्षमा भिम श्रेष्ठ चयन
- २०२०-२१ को अध्यक्षमा कृष्णलाल उप्रेती चयन
- २०१९-२० को अध्यक्षमा अशोक कुमार बस्नेत चयन
- २०१८-१९ को अध्यक्षमा गोविन्द बुढाथोकी चयन
- २०१७-१८ को अध्यक्षमा हरि लम्साल चयन
- संस्थापक अध्यक्ष ध्रुव थापा (२०१६–२०१७)
