रोटरी क्लव धादिङको अध्यक्षमा गोविन्द बुढाथोकी चयन

Avatar photo
Dhadingpost
शनिबार, अशोज ६, २०७५

धादिङबेसी असोज ६ । मानविय सेवाभावले स्थापना गरिएको रोटरी क्लव धादिङको अध्यक्षमा गोविन्द बुढाथोकी चयन भएका छन् ।

रेडक्रस नीलकण्ठ उपाशाखाका अध्यक्ष, प्याब्सन धादिङका अध्यक्ष, नेपाल पत्रकार महासंघ धादिङका उपाध्यक्ष एवम् एड्भान्स एकेडेमी धादिङका प्रिन्सिपल समेत रहेका बुढाथोकी शुक्रबार भएको रोटरी क्लव धादिङको पदस्थापन कार्यक्रमबाट अध्यक्षमा चयन भएका हुन् । भने उहाँको जीवन संगिनी रिता बुढाथोकीलाई प्रथम महिलाको पद पदस्थापन गरियो ।

कार्यक्रमका प्रमुख अतिथि रोटरी क्लव चितवनका प्रेसिडेन्ट केशवराज भुर्तेलले अध्यक्ष बुढाथोकीलाई एकवर्षे कार्यकालका लागि सपथ खुवाएका थिए ।

१८ जना सक्रिय सदस्य रहेको रोटरी क्लव धादिङको अध्यक्षमा चयन भए सँगै अध्यक्ष बुढाथोकिले ‘मानविय सहयोग र विकास निमार्णमा रोटरी क्लव धादिङ’ भन्ने भावनाका साथ काम गर्ने बताएका थिए । सरकारी रकम परेको तर रकम अपुग भएका विद्यालयहरुको भवन निर्माणलाई सहयोग गर्ने, स्वास्थ्य क्षेत्रको लागि एम्बुलेन्स संचालन तथा अन्य उपकरण हस्तान्तरण, शिविर गोष्ठीहरु संचालन गर्ने योजना बनाएको समेत उनले बताएका थिए ।

आफ्नो कार्यकालमा महत्वपूर्ण सहयोग गर्ने रोटरिएनहरुलाई विशेष धन्यावाद दिदै हरि लम्सालले आफ्नो प्रेसिडेन्ट पद बुढाथोकीलाई हस्तान्तरण गरेका थिए । बुढाथोकीको कार्यकाल पछि अशोक बस्नेत रोटरी क्लव धादिङको अध्यक्ष बन्ने बताईएको छ ।