
धादिङ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) धादिङको जिल्ला अध्यक्षमा शान्तबहादुर तामाङ विजयी भएका छन् । सोमबार सम्पन्न निर्वाचनमा तामाङले प्रतिस्पर्धी सुरेश रिजाललाई ३७ मतको अन्तरले पराजित गर्दै जिल्ला अध्यक्षमा निर्वाचित भएका हुन् ।
अध्यक्ष पदका लागि भएको निर्वाचनमा कुल १३१ मत खसेको थियो । जसमा तामाङले ८४ मत प्राप्त गर्दा रिजालले ४७ मत प्राप्त गरे ।
निर्वाचनमा तामाङले स्पष्ट बहुमतसहित अध्यक्ष पदमा विजय हासिल गरेका हुन् ।
यसअघि असोज १८ गते सम्पन्न राप्रपा धादिङको जिल्ला अधिवेशनबाट अध्यक्ष चयन हुन नसकेपछि असोज २३ गते आकांक्षी उम्मेदवारबीच मतदान गर्ने तयारी गरिएको थियो । तर, सहमतिको प्रयास जारी रहेको भन्दै उक्त मतदान स्थगित गरिएको थियो ।
लामो समयसम्म सहमतिको प्रयास भए पनि अध्यक्ष चयन हुन नसकेपछि अन्ततः मंसिर ७ गते निर्वाचन प्रक्रियामार्फत तामाङ जिल्ला अध्यक्षमा निर्वाचित भएका हुन् ।
