१२औँ मानबहादुर मेमोरियल कपलाई बेलायतबाट पूर्ण तामाङ पाख्रिनको १ लाख ४५ हजार सहयोग

Avatar photo
Dhadingpost
मंसिर ६, २०८३

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–१४, धुवाँकोट पात्लेमा आयोजना हुने १२औँ मानबहादुर मेमोरियल कप ७–ए साइड खुल्ला नकआउट फुटबल प्रतियोगिताका लागि बेलायतमा रहेका पूर्ण तामाङ पाख्रिनले १ लाख ४५ हजार रुपैयाँ सहयोग गरेका छन् ।

आगामी पुस २४ गतेदेखि माघ २ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि पाख्रिनले उक्त आर्थिक सहयोग उपलब्ध गराएका हुन् । स्वर्गीय मानबहादुरका छोरा रहेका पाख्रिनले प्रतियोगिताको निरन्तरताका लागि विगतका वर्षहरूमा पनि नियमित आर्थिक सहयोग गर्दै आएका छन् ।

उनले गत वर्ष सम्पन्न ११औँ संस्करणका लागि १ लाख ४० हजार रुपैयाँ, दशौँ संस्करणका लागि १ लाख ३१ हजार रुपैयाँ र नवौँ संस्करणका लागि १ लाख ३० हजार रुपैयाँ सहयोग गरेका थिए । तामाङ घेदुङ यूकेका संस्थापक अध्यक्षसमेत रहेका पाख्रिनको निरन्तर सहयोगले प्रतियोगिता सञ्चालनमा महत्वपूर्ण योगदान पुग्दै आएको छ ।

धादिङकै पहिलो फुटबल खेल मैदानका रूपमा परिचित पात्ले

नीलकण्ठ नगरपालिका–१४, धुवाँकोट पात्लेमा विसं २०५१ सालदेखि फुटबल खेल्न सुरु गरिएको इतिहास छ । त्यसबेला बोष्टन तामाङ, धनेन्द्र तामाङ, रोशन तामाङ, रामसिंह तामाङलगायतले पात्लेमा फुटबल खेलको सुरुवात गरेका थिए ।

स्थानीय बुद्धिलाल तामाङ (हाल क्यानडा), धनबहादुर तामाङ (हाल यूके), स्वर्गीय मानबहादुरलगायतको पहलमा पात्लेमा फुटबल खेलका लागि खेलमैदान निर्माण सुरु गरिएको थियो । सुरुवाती अवस्थामा निर्माण गरिएको उक्त मैदान अहिले सुधारिएको अवस्थामा रहेको छ ।

धादिङमा फुटबल खेल सञ्चालनकै उद्देश्यले निर्माण गरिएको पहिलो खेलमैदानका रूपमा पात्ले खेलमैदानलाई चिनिन्छ । यही ऐतिहासिक खेलमैदानमा विद्यार्थी उपकार संघले हरेक वर्ष स्वर्गीय मानबहादुरको स्मृतिमा मानबहादुर मेमोरियल कप फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ ।

विजेतालाई १ लाख ४५ हजार पुरस्कार

यस वर्षको प्रतियोगितामा विजेता टोलीले १ लाख ४५ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेता टोलीले ७० हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र पाउनेछ ।

त्यस्तै, सेमिफाइनलमा पुग्ने प्रत्येक टोलीलाई २० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्तालाई समेत ट्रफी तथा नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

विद्यार्थी उपकार संघ नीलकण्ठ–१४, धुवाँकोट, धादिङको आयोजनामा हुने प्रतियोगिताले स्थानीय फुटबल खेलको इतिहासलाई निरन्तरता दिनुका साथै नयाँ पुस्ताका खेलाडीलाई अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।