
धादिङ । नीलकण्ठ नगरपालिका–१४, धुवाँकोट पात्लेमास्थित खेल मैदानमा पौष २४ गतेदेखि सुरु हुने ११औं मानबहादुर मेमोरियल कप फुटबल प्रतियोगिताका लागि यूकेमा बस्दै आएका स्थानीय पूर्ण तामाङ पाख्रीनले १ लाख ४० हजार रुपैयाँ सहयोग गरेका छन्।
आयोजक विद्यार्थी उपकार संघका संस्थापक अध्यक्ष एवम् दिवंगत मानबहादुर तामाङका सुपुत्र समेत रहेका पाख्रीन तामाङ घेदुङ यूके का संस्थापक अध्यक्ष पनि हुन्। उनले यसअघि आयोजित १०औं संस्करणमा १ लाख ३१ हजार र ९औं संस्करणमा १ लाख ३० हजार रुपैयाँ सहयोग गरी निरन्तर सहयोगीको भूमिका निभाउँदै आएका छन्।
यस वर्ष हुने सेभेन–ए–साइड फुटबल प्रतियोगिताका लागि पुरस्कार राशिमा
- प्रथम पुरस्कार : रु. १,४०,०००
- द्वितीय पुरस्कार : रु. ६५,०००
- सेमिफाइनलिस्ट : प्रत्येकलाई रु. २०,०००
निर्धारित गरिएको आयोजक समितिले जनाएको छ। प्रतियोगिता माघ २ गतेसम्म सञ्चालन हुने छ।
धुवाँकोट पात्ले क्षेत्रमा फुटबलको सुरुवात सन् ०५१ सालतिरदेखिनै भएको मानिन्छ। बोष्टन तामाङ, धनेन्द्र तामाङ, रोशन तामाङ, रामसिंह तामाङलगायतले फुटबल सुरु गरेका थिए भने स्थानीय बुद्धिलाल तामाङ (हाल क्यानडा), धनबहादुर तामाङ (हाल यूके) र मानबहादुर तामाङले पात्ले खेल मैदान निर्माणको आधार तयार पारेका थिए।
धादिङमा फुटबल खेल्नकै लागि निर्माण गरिएको प्रारम्भिक खेलमैदानमध्ये पात्ले खेल मैदान महत्वका साथ हेरिन्छ। यही मैदानमा विद्यार्थी उपकार संघले हरेक वर्ष मानबहादुर मेमोरियल कप आयोजना गर्दै आएको छ।
