१२ औं मान बहादुर मेमोरियल कप फुटबल प्रतियोगिता पुस २४ देखि, विजेतालाई १ लाख ४५ हजार

Avatar photo
Dhadingpost
मंसिर ५, २०८३

काठमाडौं । १२ औं संस्करणको मान बहादुर मेमोरियल कप ७–ए साइड खुल्ला नकआउट फुटबल प्रतियोगिता आगामी पुस २४ गतेदेखि सञ्चालन हुने भएको छ।

“स्वास्थ्यको लागि खेलकुद र राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको प्रतियोगिता माघ १ गतेसम्म सञ्चालन हुनेछ। विद्यार्थी उपकार संघ पात्लेको आयोजना तथा मान बहादुर मेमोरियल ट्रष्टको सह–आयोजनामा प्रतियोगिता हुन लागेको आयोजकले जनाएको छ।

प्रतियोगितामा सहभागी हुन इच्छुक फुटबल टोलीले पुस २२ गतेभित्र टिम दर्ता गरिसक्नुपर्नेछ। आयोजकका अनुसार प्रतियोगितामा सहभागी हुन टिम दर्ता शुल्क १० हजार रुपैयाँ तोकिएको छ।

प्रतियोगिताको विजेता टोलीले नगद १ लाख ४५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। यस्तै, उपविजेता टोलीले ७० हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।

त्यसैगरी, सेमिफाइनलमा पुग्ने प्रत्येक टोलीलाई २० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्तालाई समेत ट्रफी तथा नगद पुरस्कार प्रदान गरिनेछ।

आयोजक विद्यार्थी उपकार संघ पात्लेले फुटबल क्लब तथा इच्छुक टोलीहरूलाई निर्धारित समयभित्र टिम दर्ता गरी प्रतियोगितामा सहभागी हुन आग्रह गरेको छ।

गत वर्ष सम्पन्न ११औँ मान बहादुर मेमोरियल कप फुटबल प्रतियोगिताको उपाधि कुपा युवा समाजले जितेको थियो। यस वर्ष प्रतियोगिताको १२औँ संस्करण आयोजना हुन लागेको हो।