राष्ट्रिय प्रधानाध्यापक सम्मेलनमा बेनीघाट रोराङ गाउँपालिका सम्मानित

Avatar photo
Dhadingpost
मंसिर ६, २०८३

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका शिक्षा क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गर्दै बागमती प्रदेशभरिका गाउँपालिकामध्ये उत्कृष्ट छनोट भएको छ । प्रिन्सिपल एसोसिएसन अफ नेपाल (पान) ले गाउँपालिकालाई शिक्षा क्षेत्रमा पुर्‍याएको योगदान र उत्कृष्ट कार्यसम्पादनका लागि सम्मान गरेको हो ।

‘सामुदायिक विद्यालयलाई सबै मिलेर उत्कृष्ट बनाऔँ’ भन्ने मूल नाराका साथ जनकपुरमा सम्पन्न पानको तेस्रो राष्ट्रिय सम्मेलन–२०८३ का अवसरमा गाउँपालिकालाई सम्मान गरिएको हो ।

बागमती प्रदेशअन्तर्गत शिक्षा क्षेत्रमा उत्कृष्ट छनोट हुन सफल गाउँपालिकाको तर्फबाट अध्यक्ष कृष्णबहादुर थपलिया (बिबेक) को नेतृत्वमा जनकपुर पुगेको टोलीले सम्मानपत्र ग्रहण गरेको थियो ।

सम्मान ग्रहण गर्ने टोलीमा गाउँपालिका अध्यक्ष थपलियासहित वडा अध्यक्षहरू कुमार बस्नेत, देवीबहादुर खड्का, राजकुमार श्रेष्ठ र टेकनाथ सिलवाल, सूचना अधिकारी परशुराम घिमिरे तथा शिक्षा अधिकृत सन्तोष पौडेल सहभागी थिए ।

सम्मेलनका अवसरमा पानले देशका विभिन्न जिल्लाका सात जना उत्कृष्ट प्रधानाध्यापकलाई समेत सम्मान गरेको छ । सम्मानित हुने प्रधानाध्यापकहरूमा सुनसरीका डा. इन्द्रमोहन झा, सप्तरीका गौरीशंकर चौधरी, रामेछापका दलबहादुर बल, म्याग्दीका शान्त नेपाली, पाल्पाका मोहनप्रसाद सापकोटा, मुगुका खड्क रोकाया र कैलालीका लक्ष्मण दत्त भट्ट रहेका छन् ।

पूर्वराष्ट्रपति डा. रामवरण यादवले उद्घाटन गरेको सम्मेलनमा देशभरबाट एक हजारभन्दा बढी प्रधानाध्यापक, शिक्षाविद्, जनप्रतिनिधि, नीतिनिर्माता तथा शिक्षा क्षेत्रका साझेदारहरूको सहभागिता रहेको थियो ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार, विद्यालय व्यवस्थापन र शिक्षण सिकाइलाई प्रभावकारी बनाउने विषयमा केन्द्रित सम्मेलनले शिक्षा क्षेत्रका विभिन्न पक्षबीच अनुभव आदानप्रदान तथा सहकार्यको अवसर प्रदान गरेको थियो ।

बागमती प्रदेशका गाउँपालिकामध्ये उत्कृष्ट छनोट भई सम्मानित हुनुले बेनीघाट रोराङ गाउँपालिकाको शिक्षा क्षेत्रमा भइरहेको प्रयासलाई राष्ट्रिय स्तरमा पहिचान दिलाएको छ ।