
धादिङ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) धादिङमा आन्तरिक गुटगत विवाद चर्किएको छ । बेनीघाट रोराङमा भोलि मंसिर ८ गते आयोजना हुन लागेको सहिद तथा बेपत्ता परिवार सम्मान कार्यक्रममा पार्टीको एउटा पक्षका नेताहरू सहभागी नहुने तयारीमा रहेको खुलेको छ ।
तत्कालीन माओवादी केन्द्रमा रहँदादेखि नै धादिङमा गुटगत राजनीति हावी हुने गरेको आरोप लाग्दै आएको थियो । पार्टी एकतापछि बनेको नेपाली कम्युनिष्ट पार्टीमा पनि पुरानै गुटगत विवादले निरन्तरता पाएको देखिएको छ ।
नेता रामबहादुर भण्डारी अध्यक्ष रहेको जनक्रान्तिका महान् सहिद तथा बेपत्ता परिवार समाज धादिङले आयोजना गरेको कार्यक्रममा नेता अनन्तलाई समेत निमन्त्रणा गरिएको थियो । तर, आफू संगठन विभागको प्रमुख रहेको र जिल्लामा पार्टीभित्र विवाद देखिएको भन्दै उनी कार्यक्रममा नआउन सक्ने संकेत गरेको बताइएको छ ।
भण्डारी पक्षका एक नेताका अनुसार शालिकराम जम्कट्टेल पक्षले नेता अनन्तलाई कार्यक्रममा सहभागी नहुन दबाब दिएको छ । साथै, आफ्नो पक्षका नेता तथा कार्यकर्तालाई समेत कार्यक्रममा नजान भनिएको ती नेताको आरोप छ ।
यता नेकपा धादिङका सहसंयोजक दीपक लामिछानेले भने कार्यक्रमबारे पार्टीमा औपचारिक निर्णय नभएको बताएका छन् । जिल्ला कमिटी वा पदाधिकारी बैठकबाट निर्णय गरेर कार्यक्रम आयोजना गर्न सकिने भए पनि आफूले सामाजिक सञ्जालबाट मात्रै कार्यक्रम हुन लागेको जानकारी पाएको उनले बताए । कार्यक्रममा जाने वा नजाने विषयमा पार्टीले कुनै निर्णय नगरेको उनको भनाइ छ ।
आयोजक संस्थाका सचिव विनोदबाबु रिमालले भने कार्यक्रम पूर्वनिर्धारित मिति र स्थानमै हुने स्पष्ट पारेका छन् । सहिद परिवारलाई सम्मान गर्दै जनमुक्ति सेना स्थापना दिवस मनाउन कार्यक्रम आयोजना गरिएको उल्लेख गर्दै उनले यसलाई बहिष्कार गर्नुपर्ने कुनै कारण नरहेको बताए ।
पार्टीभित्रको आन्तरिक विवादका कारण सहिद तथा बेपत्ता परिवार सम्मानजस्तो कार्यक्रममा समेत नेताहरूबीच दूरी देखिनुले धादिङको नेकपाभित्रको गुटगत असमझदारी पुनः सतहमा आएको छ ।
