रास्वपा धादिङको आचारसंहिता चिरफार : आलोचना गर्न पाइने, गुटबन्दी र समानान्तर गतिविधिमा रोक

Avatar photo
Dhadingpost
मंसिर ७, २०८३

धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धादिङ जिल्ला समितिले पार्टीभित्र गुटबन्दी, समानान्तर गतिविधि तथा सामाजिक सञ्जालमा हुने अभिव्यक्तिलाई नियमन गर्ने गरी तयार गरेको आन्तरिक आचारसंहिता तथा अनुशासनसम्बन्धी कार्यविधि, २०८३ कडाइका साथ कार्यान्वयन गर्ने भएको छ ।

जिल्ला समितिको कार्तिक ३० गते सम्पन्न बैठकबाट पारित कार्यविधि उल्लङ्घन गर्ने नेता तथा सदस्यलाई आवश्यक अनुशासनात्मक कारबाही अघि बढाइने जिल्ला सभापति राजन अर्यालले बताएका छन् ।

विशेषगरी पार्टीभित्र हुन सक्ने गुटबन्दी, समानान्तर गतिविधि तथा सामाजिक सञ्जाल र सार्वजनिक अभिव्यक्तिसम्बन्धी आचारसंहिता उल्लङ्घनलाई गम्भीरतापूर्वक लिइने अर्यालको भनाइ छ । पार्टीको विधि, विधान, निर्णय र संस्थागत मर्यादा पालना गर्दै अनुशासित, एकताबद्ध र सुदृढ संगठन निर्माण गर्न उनले सबै तहका नेता तथा सदस्यलाई आग्रह गरेका छन् ।

आलोचना गर्न पाइने, तर मर्यादा पालना गर्नुपर्ने

कार्यविधिको परिच्छेद–३ मा सामाजिक सञ्जाल तथा सार्वजनिक अभिव्यक्तिसम्बन्धी आचारसंहिता उल्लेख छ । दफा ६ अनुसार पार्टीका सदस्य तथा पदाधिकारीले सामाजिक सञ्जाल प्रयोग गर्दा पार्टीको विधान, नीति, निर्णय, आचारसंहिता तथा राजनीतिक मर्यादा पालना गर्नुपर्नेछ ।

पार्टीसम्बन्धी विषयमा लेख्दा तथ्य, प्रमाण र आधिकारिक स्रोतमा आधारित भएर अभिव्यक्ति दिनुपर्ने व्यवस्था गरिएको छ । पार्टीका सकारात्मक गतिविधि, जनसरोकारका विषय, नीति तथा कार्यक्रम र तथ्यमा आधारित उपलब्धिलाई सामाजिक सञ्जालमार्फत प्रचार गर्न प्रोत्साहन गरिएको छ ।

तर कार्यविधिले पार्टीको आलोचना वा असहमति राख्नै नपाइने भनेको छैन । दफा ६ को उपदफा (४) मा आलोचना र असहमति राख्न पाइने स्पष्ट गर्दै त्यसलाई मर्यादित, तथ्यपरक, रचनात्मक र पार्टीको लोकतान्त्रिक मूल्यअनुकूल हुनुपर्ने उल्लेख गरिएको छ ।

व्यक्तिगत चरित्रमाथि प्रश्न उठाउन र प्रमाणबिनाका आरोप लगाउन रोक

दफा ७ मा सामाजिक सञ्जाल, सञ्चारमाध्यम वा डिजिटल प्लेटफर्ममा गर्न नपाइने अभिव्यक्तिहरूको सूची राखिएको छ ।

जसअनुसार व्यक्तिगत चरित्रमाथि प्रश्न उठाउने, प्रमाणबिना भ्रष्टाचार, अनैतिकता वा अपराधजस्ता गम्भीर आरोप लगाउने, गालीगलौज, अश्लील तथा अपमानजनक भाषा प्रयोग गर्ने कार्य निषेध गरिएको छ ।

त्यस्तै मानप्रतिष्ठामा अनावश्यक क्षति पुर्‍याउने, पार्टीको विधान, नीति वा आधिकारिक निर्णयविपरीत भ्रामक सूचना प्रवाह गर्ने तथा पार्टीभित्रका गोप्य छलफल, बैठकका अप्रकाशित निर्णय र आन्तरिक रणनीति अनधिकृत रूपमा सार्वजनिक गर्न नपाइने व्यवस्था छ ।

व्यक्तिगत रिसइबीका कारण सामाजिक सञ्जाल प्रयोग गर्ने, पार्टीको नाम, लोगो वा आधिकारिक पहिचानको दुरुपयोग गर्ने तथा कुनै व्यक्तिको निजी जीवनलाई राजनीतिक विवादको विषय बनाउने कार्यसमेत निषेधित सूचीमा राखिएको छ ।

पार्टीको आलोचना र पार्टीविरोधी गतिविधिबीचको सीमा

कार्यविधिको दफा ८ मा पार्टीको नीति, विधान, निर्णय वा संस्थागत हितविपरीत सामाजिक सञ्जालमा निरन्तर अभिव्यक्ति दिने कार्यलाई अनुशासनको विषय बनाउन सकिने उल्लेख छ ।

यद्यपि कुनै सदस्यले कुनै निर्णय वा नीतिप्रति असहमति राखेको मात्र आधारमा कारबाही नगरिने स्पष्ट व्यवस्था गरिएको छ ।

तर असहमतिको नाममा पार्टीको अस्तित्व वा संस्थागत संरचना कमजोर बनाउने, आधिकारिक निर्णयलाई जानाजानी बदनाम गर्ने, पार्टीविरुद्ध भ्रमपूर्ण सूचना फैलाउने, सदस्यहरूबीच द्वेष वा विभाजन उत्पन्न गराउने तथा संगठनात्मक अनुशासन भत्काउने उद्देश्यले निरन्तर सार्वजनिक अभियान सञ्चालन गरेमा अनुशासनात्मक कारबाहीका लागि सिफारिस गर्न सकिने व्यवस्था छ ।

यसले पार्टीभित्रको आलोचना र असहमतिलाई कुन अवस्थामा अनुशासनको विषय बनाउने भन्ने प्रश्नलाई महत्त्वपूर्ण बनाएको छ । विशेषगरी पार्टीको निर्णयमाथि प्रश्न उठाउनु र संस्थागत संरचनालाई कमजोर बनाउने उद्देश्यले गतिविधि गर्नुबीचको सीमा कसरी निर्धारण गरिन्छ भन्ने विषय कार्यान्वयनका क्रममा महत्त्वपूर्ण हुनेछ ।

गुटबन्दी र समानान्तर संगठन निर्माणमा रोक

कार्यविधिको परिच्छेद–६ ले गुटबन्दी तथा समानान्तर गतिविधिलाई समेटेको छ । दफा ११ अनुसार पार्टीको आधिकारिक निर्णयविना कुनै पनि तहमा समानान्तर कमिटी, संगठन, गुट वा संरचना निर्माण गर्न पाइने छैन ।

पार्टीको आधिकारिक संरचनालाई कमजोर बनाउने उद्देश्यले समानान्तर बैठक, भेला वा संगठनात्मक गतिविधि सञ्चालन गर्न पनि रोक लगाइएको छ ।

तर व्यक्तिगत सम्बन्ध, वैचारिक छलफल वा सामान्य भेटघाटलाई मात्र गुटबन्दी नमानिने व्यवस्था गरिएको छ । पार्टीको संस्थागत निर्णयविरुद्ध संगठित रूपमा समूह निर्माण गरी आधिकारिक संरचनालाई चुनौती दिने कार्यलाई भने अनुशासनको गम्भीर उल्लङ्घन मानिएको छ ।

कार्यान्वयनमा निष्पक्षता कति महत्त्वपूर्ण ?

राजनीतिक दलभित्र अनुशासन कायम गर्नु, व्यक्तिगत आरोप–प्रत्यारोप रोक्नु र संगठनलाई व्यवस्थित बनाउनु आवश्यक विषय हुन् । सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै तथ्यहीन आरोप, व्यक्तिगत गालीगलौज र आन्तरिक विवाद सार्वजनिक हुने प्रवृत्तिलाई नियन्त्रण गर्न आचारसंहिताले भूमिका खेल्न सक्छ ।

तर राजनीतिक दलभित्र आलोचना, प्रश्न र असहमति पनि लोकतान्त्रिक अभ्यासका महत्त्वपूर्ण पक्ष हुन् । कार्यविधिले असहमति राख्न पाइने व्यवस्था गरे पनि ‘पार्टीलाई कमजोर बनाउने उद्देश्य’, ‘निरन्तर अभिव्यक्ति’ र ‘विभाजनकारी सामग्री’ जस्ता शब्दको व्याख्या कसरी गरिन्छ भन्ने कुराले यसको प्रभावकारिता निर्धारण गर्नेछ ।

विशेषगरी आलोचनालाई अनुशासनहीनता र अनुशासनहीनतालाई आलोचनाका रूपमा व्याख्या हुन नदिन कार्यविधिको निष्पक्ष, पारदर्शी र समान कार्यान्वयन आवश्यक देखिन्छ ।

रास्वपा धादिङले कार्यविधि कडाइका साथ लागू गर्ने जिल्ला सभापति अर्यालको भनाइसँगै अब यसको कार्यान्वयन कसरी हुन्छ भन्ने विषय चासोको विषय बनेको छ ।