
धादिङ । धादिङको थाक्रे गाउँपालिकाले १६औँ गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आगामी मंसिर १८ देखि २० गतेसम्म सञ्चालन गर्ने भएको छ ।
चालु शैक्षिक सत्र २०८३ मा कक्षा १२ सम्म अध्ययनरत १८ वर्षमुनिका छात्र तथा छात्राबीच हुने प्रतियोगिता थाक्रे गाउँपालिका–१० स्थित दोभान खेलमैदानमा सञ्चालन हुनेछ ।
भलिबलदेखि एथलेटिक्स र मार्सल आर्टसम्मका खेल
१६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, तेक्वान्दो, उसू र कराँतेलगायतका खेल समावेश गरिएको छ ।
भलिबल र कबड्डी छात्र तथा छात्रा दुवैतर्फ सञ्चालन हुनेछन् । यी दुवै खेलमा प्रत्येक टोलीबाट नौ जना खेलाडी सहभागी हुन पाउनेछन् ।
एथलेटिक्सतर्फ छात्र तथा छात्रा दुवैका लागि १००, २००, ४००, ८००, १५०० र ३००० मिटर दौड तथा ४×१०० र ४×४०० मिटर रिले प्रतियोगिता हुनेछ। फिल्ड इभेन्टतर्फ हाइजम्प, लङजम्प, ट्रिपलजम्प, ज्याभ्लिङ थ्रो र सटपुट समावेश छन् ।
मार्सल आर्टतर्फ तेक्वान्दो, उसू र कराँतेका विभिन्न तौल समूह तथा विधामा प्रतिस्पर्धा हुनेछ । तेक्वान्दो र कराँतेमा छात्र तथा छात्राका छुट्टाछुट्टै तौल समूह र एकल पुम्से तथा काता विधा राखिएको छ । उसूमा थाओलुतर्फ चाङ छ्वान, नान छ्वान र ताइची छ्वान तथा सान्सौतर्फ विभिन्न तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।
गत संस्करण हरिहर भोजकुमारी माविले जितेको थियो
थाक्रे गाउँपालिकाको गत संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा केवलपुरस्थित हरिहर भोजकुमारी माध्यमिक विद्यालय विजेता बनेको थियो । लगातार तीन पटक उपाधि जित्दै आएको जनजागृति माध्यमिक विद्यालयलाई पराजित गर्दै हरिहर भोजकुमारी माविले उपाधि जितेको थियो।
थाक्रे गाउँपालिकाले पछिल्लो समय राष्ट्रियस्तरमा समेत खेलाडी उत्पादन गर्दै आएको छ । गाउँपालिकाकी सृजना श्रेष्ठ (पिङ्की) ले १५औँ केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कास्य पदक जितेकी थिइन् । त्यस्तै, थाक्रेकै भावना तामाङ राष्ट्रिय यू–१९ महिला भलिबल टोलीमा छनोट भएकी थिइन् ।
विद्यालयस्तरबाटै खेल प्रतिभा पहिचान र खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना हुँदै आएको राष्ट्रपति रनिङ शिल्डको १६औँ संस्करणले थाक्रेका नयाँ खेल प्रतिभालाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।
