बागमती प्रदेशको बुद्धिचाल छनोटमा धादिङबाट चार खेलाडी सहभागी

Avatar photo
Dhadingpost
मंसिर ७, २०८३

धादिङ । कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बागमती प्रदेशको बुद्धिचाल (चेस) खेलाडी छनोट प्रतियोगितामा धादिङबाट चार जना खेलाडी सहभागी भएका छन् ।

ललितपुरको नख्खु दोबाटोस्थित जु जु सवा: नेवारी रेस्टुरेन्ट आँगनमा सञ्चालन भइरहेको प्रदेशस्तरीय छनोट प्रतियोगितामा धादिङका चार खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतियोगितामा धादिङको ज्वालामुखी गाउँपालिकाबाट ताराामन श्रेष्ठ, थाक्रे गाउँपालिकाबाट रामेश्वर मल्ल र सुदिन नेपाल तथा नेत्रावती डबजोङ गाउँपालिकाबाट सुभाष लामा गुरुङ सहभागी भएका छन् ।

छनोट प्रतियोगिताको क्लासिकल विधातर्फ बागमती प्रदेशका ९ जिल्लाबाट ३५ जना पुरुष तथा ६ जिल्लाबाट २० जना महिला खेलाडी सहभागी छन् । प्रतियोगितामार्फत दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बागमती प्रदेशको प्रतिनिधित्व गर्ने बुद्धिचाल खेलाडी छनोट गरिनेछ ।

प्रदेशस्तरीय छनोटका लागि प्राविधिक संयोजक राजु ताम्राकार तथा सदस्यहरू ज्ञानेन्द्र खाइजु र सन्दिप घिमिरे सम्मिलित प्राविधिक टोली खटिएको छ ।