
धादिङ । धादिङ नेपाली समाज, अमेरिकाले संघीय सांसद बसुमाया तामाङलाई स्वागत तथा सम्मान गर्दै प्रवासी नेपालीहरूको अधिकार र धादिङ जिल्लाको विकाससँग सम्बन्धित तीनबुँदे ज्ञापनपत्र हस्तान्तरण गरेको छ ।
समाजको आयोजनामा मंगलबार अमेरिकाको न्यूयोर्कस्थित ज्याक्सन मार्केटमा सांसद तामाङको स्वागत, सम्मान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
समाजका अध्यक्ष सागर अधिकारी हिमालको सभापतित्व तथा सांसद बसुमाया तामाङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि, समाजका सल्लाहकार, पदाधिकारी, समाजसेवी, धादिङवासी तथा नेपाली समुदायका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रममा समाजका तर्फबाट गैरआवासीय नेपाली नागरिकताको प्रभावकारी कार्यान्वयन, अमेरिकामा रहेका नेपालीहरूको अस्थायी संरक्षित हैसियत (TPS) को निरन्तरता तथा धादिङ जिल्लाको शिक्षा, स्वास्थ्य र पर्यटन विकासलाई प्राथमिकतामा राख्न माग गर्दै तीनबुँदे ज्ञापनपत्र सांसद तामाङलाई बुझाइएको थियो ।
ज्ञापनपत्रमा के छन् तीनबुँदे माग ?
१. गैरआवासीय नेपाली नागरिकता र अधिकारको सुनिश्चितता
विदेशमा रहेका नेपालीहरूको पहिचान, मातृभूमिसँगको सम्बन्ध र भावी पुस्ताको नेपालसँगको अपनत्व कायम राख्न गैरआवासीय नेपाली नागरिकतासम्बन्धी व्यवस्थाको प्रभावकारी कार्यान्वयन तथा कानुनी अधिकार सुनिश्चित गर्न आवश्यक पहल गर्न माग गरिएको छ ।
२. अमेरिकामा रहेका नेपालीहरूको TPS संरक्षण र निरन्तरता
अमेरिकामा अस्थायी संरक्षित हैसियत (Temporary Protected Status–TPS) अन्तर्गत रहेका नेपालीहरूको भविष्य, पारिवारिक सुरक्षा र स्थायित्वलाई ध्यानमा राख्दै TPS संरक्षण तथा निरन्तरताका लागि नेपाल सरकारले अमेरिकी सरकारसँग प्रभावकारी कूटनीतिक पहल गर्नुपर्ने माग गरिएको छ ।
३. धादिङको शिक्षा, स्वास्थ्य र पर्यटन विकासलाई विशेष प्राथमिकता
भूकम्प, बाढी तथा पहिरोजस्ता प्राकृतिक विपद्को जोखिममा रहेको धादिङ जिल्लालाई विशेष विकास प्राथमिकतामा राख्न माग गरिएको छ । शिक्षा क्षेत्रमा सुधार, प्रत्येक नागरिकको स्वास्थ्य बीमाको खर्च सरकारले व्यहोर्ने व्यवस्था तथा धादिङलाई विशेष पर्यटन विकास क्षेत्र घोषणा गर्नुपर्ने माग ज्ञापनपत्रमा समेटिएको छ ।
स्थिर विकास नीति र समृद्ध धादिङको परिकल्पना
कार्यक्रममा समाजका महासचिव हरि गिरीले देशको समृद्धिका लागि स्थिर विकास नीति, सुशासन र प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए। सरकार परिवर्तन भए पनि विकासका नीति तथा योजनामा निरन्तरता हुनुपर्नेमा जोड दिँदै उनले प्रवासमा रहेका धादिङवासीहरूले समृद्ध धादिङको साझा परिकल्पना गरेको उल्लेख गरे ।
शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सेवामा सबै नागरिकको समान पहुँच हुनुपर्ने बताउँदै गिरीले स्वास्थ्य बीमालाई प्रत्येक नागरिकको पहुँचमा पुर्याई त्यसको आर्थिक दायित्व सरकारले लिनुपर्ने धारणा राखे ।
धादिङको शिक्षा, स्वास्थ्य तथा पर्यटन विकासलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्दै उनले समाजका तर्फबाट प्रस्तुत मागहरू प्रतिनिधिसभा, नेपाल सरकार तथा सम्बन्धित निकायसम्म पुर्याउन सांसद तामाङलाई आग्रह गरे ।
सांसद तामाङलाई सम्मानपत्र प्रदान
कार्यक्रममा सांसद बसुमाया तामाङले महिला उद्यमशीलता, सामाजिक सेवा तथा सार्वजनिक जीवनमा पुर्याएको योगदानको कदर गर्दै धादिङ नेपाली समाज, अमेरिकाका तर्फबाट सम्मानपत्र प्रदान गरिएको थियो ।
समाजका अध्यक्ष सागर अधिकारी हिमालले सांसद तामाङलाई स्वागत गर्दै प्रवासमा रहेका नेपालीहरूको साझा सरोकार र जन्मभूमि धादिङको विकासका विषयमा यस्ता अन्तरक्रिया कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
कार्यक्रममा सहभागी विभिन्न संघसंस्थाका प्रतिनिधि तथा धादिङवासीहरूले प्रवासी नेपालीहरूको हकहित, सामाजिक एकता, जन्मभूमिप्रतिको जिम्मेवारी र धादिङको विकासका विषयमा विचार आदानप्रदान गरेका थिए ।
समाजका महासचिव हरि गिरीले सञ्चालन गरेको कार्यक्रममा समाजले कार्यक्रम सफल बनाउन सहयोग गर्ने प्रमुख अतिथि, अतिथिगण, विभिन्न संघसंस्थाका प्रतिनिधि, सल्लाहकार, कार्यसमितिका पदाधिकारी तथा उपस्थित सम्पूर्ण नेपाली समुदायप्रति आभार व्यक्त गरेको छ ।
