थाक्रेमा महेश बस्नेतको आक्रोश : ‘बालेन सरकार जनमारा र भ्रष्टाचारी’

Avatar photo
Dhadingpost
मंसिर ८, २०८३

धादिङ । नेकपा एमालेका केन्द्रीय सचिव महेश बस्नेतले वर्तमान सरकारलाई ‘जनमारा र भ्रष्टाचारी’को संज्ञा दिँदै सरकारविरुद्ध जनतामाझ जाने बताएका छन् ।

धादिङको थाक्रे गाउँपालिकामा आयोजित नेकपा एमालेको गाउँपालिका स्तरीय भेलालाई सम्बोधन गर्दै बस्नेतले सरकारका गतिविधिको विरोधमा एमाले जनतामाझ जाने बताएका हुन् ।

आफ्नो सम्बोधनका क्रममा बस्नेतले प्रधानमन्त्री बालेनको भारत भ्रमणपछि नेपाली जनतामाथि थप ६ हजार रुपैयाँको आर्थिक भार थपिएको आरोप लगाए । उनले सरकारका निर्णय र गतिविधिले जनतालाई थप भार परेको दाबी गर्दै सरकारको आलोचना गरेका थिए ।

‘घण्टीका साथीहरूले १० महिनामा के गर्न सकिन्छ र भन्ने गरेका छन् । म उहाँहरूलाई ९ महिने एमालेको मनमोहन अधिकारी नेतृत्वको सरकारको काम हेर्न आग्रह गर्न चाहन्छु । इच्छाशक्ति भए छोटो समयमै पनि धेरै काम गर्न सकिन्छ,’ उनले भने ।

३५ वर्षको अवधिमा देशमा केही विकास नभएको भन्ने आलोचनाको जवाफ दिँदै बस्नेतले माओवादी सशस्त्र द्वन्द्वका कारण देशको विकास प्रभावित भएको दाबी गरे । २०७२ सालमा केपी शर्मा ओली प्रधानमन्त्री भएपछि विकासको स्वर्णिम युग सुरु भएको उनको भनाइ थियो।

‘३५ वर्षमा केही भएन भन्नेहरूलाई मेरो जवाफ छ, माओवादीले युद्धका नाममा विकास गर्न नदिएकै हो। जब केपी शर्मा ओली २०७२ सालमा प्रधानमन्त्री हुनुभयो, त्यसपछि विकासको स्वर्णिम युग सुरु भयो । एमाले सरकारमा जाँदा अकल्पनीय विकास भएको छ,’ बस्नेतले बताए ।

भेलामा बस्नेतले वर्तमान सरकारका कामकारबाहीको आलोचना गर्दै एमाले सरकारविरुद्ध जनतामाझ जाने सन्देश दिएका छन् ।