दशौं राष्ट्रिय खेलकुदका लागि बागमती प्रदेश ब्याडमिन्टन टिममा धादिङकी निष्ठा श्रेष्ठ छनोट

Avatar photo
Dhadingpost
मंसिर ८, २०८३

धादिङ । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बागमती प्रदेशको महिला ब्याडमिन्टन टिममा धादिङकी निष्ठा श्रेष्ठ छनोट भएकी छन् ।

नीलकण्ठ नगरपालिका–३ की निष्ठा श्रेष्ठ प्रदेशस्तरीय छनोट प्रतियोगिता पार गर्दै बागमती प्रदेशको महिला ब्याडमिन्टन टिममा छनोट भएकी हुन् ।

निष्ठा छनोट भएसँगै दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने धादिङका खेलाडीको संख्या १४ पुगेको छ ।

हालसम्म धादिङबाट विभिन्न खेल विधामा छनोट भएका खेलाडीमध्ये महिला भलिबलतर्फ सिद्धलेककी रेविका लामा, नीलकण्ठकी सलिना गुरुङ र थाक्रेकी भावना तामाङ रहेका छन् । पुरुष भलिबलतर्फ रुबीभ्यालीका प्रकाश तामाङ छनोट भएका छन् ।

त्यस्तै, महिला कबड्डी टिममा सलोमी मगर, आलिसा अधिकारी र धना राहाडी मगर छनोट भएका छन् । पुरुष कबड्डी टिममा अर्जुन तामाङ, सुलभ खतिवडा, सुनील भुजेल, प्रमोद श्रेष्ठ र विशाल सापकोटा रहेका छन् ।

कराँतेको ७५ केजी तौल समूहमा त्रिपुरासुन्दरी गाउँपालिका–४ कार्कीगाउँका निसान मल्ल पनि बागमती प्रदेशबाट दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने भएका छन् ।

प्रदेशस्तरीय छनोटका खेलहरू अझै जारी रहेकाले अन्य खेल विधामा पनि धादिङका थप खेलाडी छनोट हुन सक्ने सम्भावना छ ।

कर्णाली प्रदेशमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा धादिङका खेलाडीको सहभागिता बढ्दै जाँदा जिल्लाको खेलकुद क्षेत्रमा उत्साह थपिएको छ ।