धादिङको चार क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न

Avatar photo
Dhadingpost
बुधबार, चैत्र ५, २०८१

धादिङ । त्रिभुवन विश्वविद्यालय अन्तरगतका धादिङका १२ वटा क्याम्पसहरु मध्य चार वटामा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न भएको छ । धुनीवेशी नगरपालिकामा रहेको मछिन्द्र बहुमुखी क्याम्पस र बेनिघाट रोराङ गाउँपालिकामा रहेको जयबागेश्वरी क्याम्पस तथा चन्द्रोदय बहुमुखी क्याम्पसमा मंगलबार निर्वाचन भएको थियो ।

बेनिघाट रोराङ गाउँपालिकाको चन्द्रोदय बहुमुखी क्याम्पसमा नेविसंघ र अनेरास्ववियुको प्यानलसंग अखिल क्रान्तिकारी एक्लै प्रतिस्पर्धामा उत्रिएको थियो । सभापति पदका दुवै उम्मेद्वार अभिषेक पाण्डे र अन्जना रेग्मी को बराबर ७३ मत आएपछि गरिएको गोलाप्रथामा संयुक्त प्यालनबाट उठेका नेविस‌घका अभिषेक पाण्डे भाग्यमानी बने । गत स्ववियु निर्वाचनमा एमालेको अनेरास्ववियु र नेपाली कांग्रेसको नेवि संघको संयुक्त गठबन्धन हुँदा पनि अखिल (क्रान्तिकारी) का सञ्जित सुवेदी विजयी भएका थिए । उक्त निर्वाचनमा गठबन्धनका उम्मेदवार संगिता श्रेष्ठ (नेविसंघ) ले ७९ मत ल्याउँदा सुवेदीले ९१ मत ल्याएका थिए ।

बेनिघाट रोराङ गाउँपालिकाकै जयबागेश्वरी बहुमुखी क्याम्पसमा भने संयुक्त गठवन्धनका उम्मेद्वारलाई हराउदै अखिल क्रान्तिकारीका अनुनय सिलवाल निर्वाचित भएका छन् ।  यस क्याम्पसको गत स्ववियु निर्वाचनमा एमाले निकट अनेरास्ववियु र कांग्रेस निकट नेवि संघको संयुक्त गठबन्धनका तर्फबाट उठेका उम्मेदवार अनेरास्ववियुका विषम अधिकारीलाई पराजित गर्दै अखिल क्रान्तिकारीका नवराज त्रिपाठी विजयी भएका थिए । क्रान्तिकारीका त्रिपाठीले ६२ मत पाउँदा गठबन्धनबाट अनेरास्ववियुका विषम अधिकारीले ३७ मत मात्रै पाएका थिए ।

धुनीवेशी नगरपालिकाको मछिन्द्र बहुमुखी क्याम्पसमा भने नेपाल विद्यार्थी संघको पुरै प्यानल नै निर्वाचित भएको छ । यहाँ नेवि संघ एक्लै चुनावी मैदानमा थियो । गत स्ववियु चुनावमा अखिल (क्रान्तिकारी) का अनिल उप्रेती ले १०९ मत ल्याई विजयी हुँदा प्रतिद्वन्दी नेवि संघका राजेश भट्टराईले ९६ मत ल्याएका थिए ।

नेत्रावती सामुदायिक क्याम्पसमा भने उम्मेदवारी मनोनयनको दिन नै अखिल क्रान्तिकारीका अभिषेक थपलिया सर्वसम्मत निर्वाचित भएका थिए । यस क्याम्पसमा गत स्ववियु निर्वाचनमा पनि अखिल (क्रान्तिकारी) बाटै सिता तिमल्सिना सभापति निर्बिरोध र्विाचित भएकी थिईन् ।