आज घटस्थापना, सुरु भयो बडादशैँ

Avatar photo
Dhadingpost
अशोज २५, २०८३

धादिङ । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनासँगै दुर्गा भवानीको पूजा–आराधना गरिने नवरात्र आरम्भ भएको हो।

घटस्थापनाका दिन घरघरमा जमरा राख्ने, पूजाकोठा वा दशैँघरमा कलश स्थापना गर्ने र दुर्गा भवानीको पूजा गर्ने परम्परा छ। आज राखिएको जमरा विजयादशमीका दिन टीकासँगै प्रसादका रूपमा ग्रहण गरिन्छ।

बडादशैँलाई असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको प्रतीकका रूपमा लिइन्छ । यस पर्वमा परिवार तथा आफन्तजनबीच भेटघाट गर्ने, ठूलाबडाबाट टीका र आशीर्वाद ग्रहण गर्ने तथा आपसी सद्भाव साटासाट गर्ने चलन छ ।

यस वर्षको फूलपाती असोज ३१ गते र विजयादशमी अर्थात् टीका कात्तिक ४ गते परेको छ। घटस्थापनासँगै देशभरका दुर्गा मन्दिर तथा शक्तिपीठहरूमा पूजाआजा सुरु भएको छ ।