तेस्रो लोकबहादुर गुरुङ स्मृति कप भलिबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख ११ हजार पुरस्कार

Avatar photo
Dhadingpost
अशोज २४, २०८३

धादिङ । धादिङको नलाङ खिर्यमा तेस्रो स्व. लोकबहादुर गुरुङ स्मृति कप २०८३ खुल्ला पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । तमु युवा समाजको आयोजनामा प्रतियोगिता आगामी कार्तिक ५ देखि ७ गतेसम्म सञ्चालन हुने भएको हो ।

प्रतियोगितामा प्रथम हुने टोलीले १ लाख ११ हजार १११ रुपैयाँ, द्वितीय हुने टोलीले ५५ हजार ५५५ रुपैयाँ र तृतीय हुने टोलीले ३३ हजार ३३३ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । विजेता टोलीलाई ट्रफी, मेडल र प्रमाणपत्रसमेत प्रदान गरिने आयोजकले जनाएको छ ।

त्यसैगरी, प्रतियोगितामा उत्कृष्ट स्पाइकर, सेटर, डिफेन्डर, सर्भर, प्लेयर र कोचलाई पनि विधागत रूपमा पुरस्कृत गरिने आयोजक जनाएको छ ।

प्रतियोगितामा सहभागी हुन इच्छुक टोलीले ६ हजार रुपैयाँ दर्ता शुल्क बुझाउनुपर्नेछ । टिम दर्ताको अन्तिम मिति कार्तिक ३ गते तोकिएको छ ।

प्रतियोगितामा सहभागी खेलाडी सम्बन्धित पालिकाकै हुनुपर्नेछ । प्रत्येक टोलीमा १२ जना खेलाडी, एक जना टिम कोच र एक जना क्याप्टेन रहने व्यवस्था गरिएको छ । टिम दर्ता तथा खेलाडी प्रमाणीकरणका लागि नागरिकता वा जन्मदर्ताको प्रतिलिपि अनिवार्य पेस गर्नुपर्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागी हुन तथा थप जानकारी लिन सुन्दर गुरुङ (९८१००२४११६), रमेश गुरुङ (९८४१७७२२१४) र पदम गुरुङ (९८४१६५५६४७) लाई सम्पर्क गर्न सकिनेछ ।

गत वर्ष सम्पन्न दाेश्राे “स्व. लोकबहादुर गुरुङ स्मृति कप”काे उपाधि दुप्चेश्वर गाउँपालिका, नुवाकोटले जितेकाे थियाे ।

पहिलाे स्व. लोक बहादुर गुरुङ र स्व. मनोज श्रेष्ठ स्मृती कप ज्वालामुखी गाउँपालिकालाई पराजित गर्दै गण्डकी गाउँपालिकाले जितेको थियाे ।

नलाङको साविक वडा नं ४ का वडा अध्यक्ष समेत रहेका लोक बहादुर गुरुङको खिर्रेमा सवारी दुर्घटनामा परी निधन भएको थियो । उहाँकै सम्झनामा तमु युवा समाज सिद्धलेक–२ले हरेक वर्ष याे प्रतियाेगिता गर्दै अाएकाे छ ।