नलाङ भलिबल: ज्वालामुखीलाई पराजित गर्दै गण्डकीले जित्यो

Avatar photo
Dhadingpost
मङ्लबार, अशोज २९, २०८१

धादिङ । तमु युवा समाज सिद्धलेक–२ धादिङको आयोजनामा भएको जिल्लाकै महंगो पुरस्कार राशी रहेको स्व. लोक बहादुर गुरुङ र स्व. मनोज श्रेष्ठ स्मृतीमा आयोजित पुरुष भलिबल प्रतियोगिता धादिङको ज्वालामुखी गाउँपालिकालाई पराजित गर्दै गण्डकी गाउँपालिकाले जितेको छ ।

गण्डकीले २५–१३, २५–२२ र २५–१५ को स्कोरमा आफ्नो पक्षमा पार्दै सिधा सेटमा ज्वालामुखीलाई हराउँदै विजेता बनेको हो । गण्डकीबाट अण्डर ट्वाण्टी नेशनल टिमबाट खेलेका विस्वास अधिकारी खेलेका थिए भने ज्वालामुखीबाट नेपालको राष्ट्रिय टिमका खेलाडी सरन सामरीले खेलेका थिए । यो प्रतियोगितामा नौ टिमले प्रतिस्पर्धा गरेका थिए ।

जित सँगै गण्डकीले १ लाख ११ हजार १११, ज्वालामुखीले ५५ हजार ५५५ र मनकामना समाज सुधार युवा धादिङलाई पराजित गर्दै दुप्चेश्वर गाउँपालिका नुवाकोटले सान्तोना पुरस्कार ३३ हजार ३३३ हात पारेको छ । तमु युवा समाजको आयोजनामा गत वर्ष भएको भलिबल पनि गण्डकी प्रदेशबाटै उग्रचण्डीले जितेको थियो ।

नलाङको साविक वडा नं ४ का वडा अध्यक्ष समेत रहेका लोक बहादुर गुरुङको गत असार ६ गते खिर्रेमा सवारी दुर्घटनामा परी निधन भएको थियो । यस्तै धादिङ जिल्ला भलिबलको टिम क्याप्टेन स्व.मनोज श्रेष्ठको गत बर्ष नलाङस्थित खिर्रेभञ्याङमा आयोजित भलिबल प्रतियोगिताकै समयमा निधन भएको थियो द्वयकाे स्मृतिमा याे प्रतियाेगिता तमु युवा समाज सिद्धलेक–२ले आयाेजना गरेको हो । तस्बिर साैजन्य: नमस्ते सुर्खेत