
धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–१४, कुपामा जारी छैटौं कुपा कप ७ ए साइड खुला नकआउट फुटबल प्रतियोगिता तथा मिनी म्याराथन–२०८३ को सेमिफाइनल खेल भोलि कात्तिक ७ गते हुने भएको छ । प्रतियोगिताको समापन समारोहमा सहभागी हुन बागमती प्रदेशका योजना तथा आर्थिक मामिलामन्त्री सरल सहयात्री पौडेल पर्सि कात्तिक ८ गते कुपा आउने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
कुपा युवा समाजको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा क्वाटरफाइनलका खेलहरू सम्पन्न भएसँगै चार टोलीले सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन् । सेमिफाइनलमा रातमाटे युवा क्लब, घोर्मु युवा क्लब, मेन्दोफोले युवा क्लब र कग्यु मोलम युवा क्लब (किस्पाङ, भाल्चे, नुवाकोट) बीच प्रतिस्पर्धा हुनेछ ।
आज सम्पन्न क्वाटरफाइनलको पहिलो खेलमा जनजागरण युवा समाज उपस्थित नभएपछि रातमाटे युवा क्लब स्वतः विजयी घोषित भएको थियो । दोस्रो खेलमा घोर्मु युवा क्लबले सक्रिय युवा क्लब (तल्लो सेल्ले) लाई २–० गोल अन्तरले पराजित गर्यो ।
त्यस्तै, तेस्रो खेलमा मेन्दोफोले युवा क्लब (काउले) ले सल्लाघारी युवा क्लबलाई ६–० को फराकिलो गोल अन्तरले हरायो । चौथो खेलमा कग्यु मोलम युवा क्लबले कन्यास्थान युवा क्लब (पुरानोपानी) लाई ३–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो ।
विजेतालाई एक लाख तीन हजार ३३३ रुपैयाँ
प्रतियोगिताको विजेता टोलीले एक लाख तीन हजार ३३३ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेता टोलीले ५५ हजार ५५५ रुपैयाँसहित मेडल र प्रमाणपत्र पाउनेछ । सेमिफाइनलमा पुग्ने टोलीलाई सान्त्वनास्वरूप १५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीले पाँच हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् भने उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले जनही चार हजार रुपैयाँसहित ट्रफी पाउनेछन् ।
सोही दिन आयोजना हुने कुपा मिनी म्याराथनमा प्रथम हुने धावकले २४ हजार रुपैयाँ र द्वितीय हुनेले १२ हजार ५०० रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
यस वर्षको छैटौं कुपा कपमा ३२ टोलीले सहभागिता जनाएका छन् । फुटबल प्रतियोगिता र मिनी म्याराथनमार्फत स्थानीय खेलकुदको विकास तथा युवाको सहभागिता बढाउने उद्देश्य आयोजकले लिएको छ ।
गत संस्करणका नतिजा
- पाँचौँ कुपा कप फुटबल: घोर्मु विजेता
- चौंथो कुपा कप: फुटबल तर्फ मेन्दोफोले युबा क्लब र दौड तर्फ बैतडीका नरेन्द्र रावत प्रथम
- तेस्रो कुपा कप: फुटबल तर्फ पुरानो पानी नुवाकोट र दौड तर्फ बैतडीका नरेन्द्र रावत प्रथम
- दोस्रो कुपा कप: फुटबल तर्फ थर्पु युवा क्लब नेत्रावती डवजोङ प्रथम
- पहिलो कुपा कप: फुटबल तर्फ भङ्गेरी युवा क्लब धुवाकोट प्रथम





















