
धादिङ । जिल्ला खेलकुद विकास समिति धादिङको आयोजनामा १५औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि सदरमुकाम धादिङबेसीमा सुरु भएको छ ।
समितिका अध्यक्ष प्रतापसिंह तामाङका अनुसार प्रतियोगिता ९ गतेसम्म सञ्चालन हुनेछ । जिल्लाका १३ वटै स्थानीय तहबाट छनोट भएर आएका करिब ९०० विद्यार्थी खेलाडीहरूको सहभागिता रहेको छ ।
प्रतियोगितामा विभिन्न विधाका खेलहरू समावेश गरिएका छन् भने विद्यार्थीहरूबीच प्रतिस्पर्धात्मक खेलमार्फत प्रतिभा पहिचान गरिने आयोजकले जनाएको छ ।
यस प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरू आगामी जेठ १ देखि ३ गतेसम्म सञ्चालन हुने बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुनेछन् ।
जिल्ला स्तरमै आयोजना हुने यस प्रतियोगिताले स्थानीय स्तरका खेलाडीहरूको क्षमता अभिवृद्धि गर्नुका साथै राष्ट्रिय स्तरसम्म पुग्ने आधार तयार गर्ने विश्वास लिइएको छ।
विगत पाँच संस्करणको नतिजा
- १४ औं को विजेता नीलकण्ठ नगरपालिका
- १३ औं को विजेता नीलकण्ठ नगरपालिका
- १२ औं को विजेता नीलकण्ठ नगरपालिका
- ११ औं को विजेता धुनिबेसी नगरपालिका
- १० औं को विजेता बेनीघाट रोराङ
गत वर्ष सम्पन्न धादिङको १४ औं औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २२ स्वर्ण, ६ रजत र १० कास्य पदक सहित नीलकण्ठ नगरपालिकाले जितेको थियो । थाक्रे गाउँपालिका दोस्रो र रुवी भ्याली तेस्रो भएको थियो । गत वर्ष पालिका स्तरीय छनोट गरेपनि बेनीघाट रोराङ गाउँपालिका भने जिल्ला स्तरीय प्रतियोगितामा सहभागिता जनाएको थिएन ।





