धादिङ । प्रथम पुरस्कार २ लाख, द्वतिय पुरस्कार १ लाख र फेमिफाईनलमा रोकिएका दुई टिमलाई २५–२५ हजार नगद प्रदान गरिने धादिङको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल सेमजोङमा हुने वाका कपमा लागि एन्फा धादिङले खेलकुद सामाग्री प्रदान गरेको छ ।
छार वाका राहा युवा क्लव सेमजोङले आयोजना गर्ने १४ औं वाका कप तथा दोस्रो अध्यक्ष कप प्रतियोगिताका लागि एन्फा धादिङका उपाध्यक्ष सुरेश तामाङले एन्फाको सहयोग चेन्जिङ बोर्ड र १० वटा बल आयोजक संस्थाका दिपक तामाङलाई हस्तान्तरण गरेका हुन् ।
सेमजोङ किन जाने फुटबल हेर्न
पर्यटन र ऐतिहासक सम्पदाले सजिएको सेमजोङ स्थित वाका राहा सदरमुकामदेखि करिब ५ घण्टा पैदल र हिउँदमा कच्ची सडकबाट २ घण्टाको यात्रामा पुग्न सकिन्छ । प्रकृतिक सौन्दर्य मात्र होइन बौद्ध गुम्बाहरुको ध्यानकेन्द्र तथा परापूर्व कालका तामाङ वाइवाराजाहरुको दरवारको अवशेष पनि यँहाको अर्को मुख्य आकर्षण हो ।
त्यसैले सेम्जोङ ऐतिहासिक भौलिक तथा धार्मिक पर्यटनको दृस्टिबाट पनि यसको गौरव गरिमा महत्वपूर्ण मानिन्छ । प्रकृतिले वरदान स्वरुप दिईएको उपहार ऐतिहासिक वाका राहा पोखरी, १६ औं शताब्दीको डब्जोङ दरबार क्षेत्र संरक्षणका लागि स्थानीयहरुले अहिले अभियान नै चलाई रहेका छन् । वाका राहा, डापजोङ सिङ्ला लेक, अष्ट चैत्य, चिया बगान, पवित्र बौद्ध गुम्बाहरुको दर्शन भ्रमणले यहाँको मौलिकता एवं सार्थकता पृष्टि गर्दछ । यहाँबाट मनास्लु गणेश लगायतका हिमश्रृङ्खलाहरुको आकर्षण दृश्यावलोकन गर्न / गराउन सकिन्छ । करिब २१०० देखि २४०० मिटरको उचाइमा अवस्थित सेमजोङ प्राकृतिक भू-बनोटको आधारमा पनि रमणिय र दर्शनीय स्थल हो ।
गत संस्करणहरु
- १३ औं वाका कपको विजेता ब्रादी युवा क्लव
- १२ औं वाका कपको विजेता डुप्चे युवा क्लव
- ११ औं वाका कपको विजेता चौतारा युवा समाज
- १० औं वाका कपको विजेता म्यागङ युवा क्लव नुवाकोट
- ९ औं वाका कपको विजेता न्यु वाका राहा
- ८ औं वाका कपको विजेता नव स्टार युवा क्लव सामरी
नुवाकोट र धादिङ जिल्लाको सिमानामा रहेको धार्मिक एवम् पर्यटकिय स्थल अहिंसावादी ज्याम्पल दोर्जे डुब्खाङको प्रमुख आकर्षण बनेको ऐतिहासिक पोखरी वाकाह्रा अहिले संकटमा छ । यसै वाका राहा क्षेत्रको प्रचार प्रसारका लागि स्थानीय छार वाका राहा युवा क्लवले नियमित जिल्लाकै सर्वाधिक राशीको खुल्ला फुटबल प्रतियोगिता गर्दै आएको छ, भने धार्मिक पर्यटकिय स्थल वाका राहा क्षेत्रलाई पवित्र बौद्ध तिर्थ बनाउने अभियानमा स्थानीयहरुले काम गर्दै आएका छन् ।