धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

Avatar photo
Dhadingpost
जेष्ठ ३१, २०८३

धादिङ, जेठ ३१ । पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ ।

जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो । विभिन्न रोगबाट ग्रसित तथा स्वास्थ्य सुधारमा रुचि राख्ने नागरिकहरूलाई लक्षित गरी विशेष योग प्रशिक्षण प्रदान गरिएको पतञ्जली योग समिति धादिङले जनाएको छ ।

शिविरमा सहभागीहरूलाई रोगअनुसारका योग अभ्यास, प्राणायाम तथा स्वस्थ जीवनशैली सम्बन्धी प्रशिक्षण दिइएको थियो । नियमित योग अभ्यासले शारीरिक तथा मानसिक स्वास्थ्य सुधार गर्न सहयोग पुग्ने विषयमा समेत जानकारी गराइएको आयोजकले जनाएको छ ।

शिविरको सहजीकरण पतञ्जली योग समिति बागमती प्रदेशका प्रमुख एवं रोग विशेष योग गुरु ग्रोबिन तौजल तथा प्रदेश महामन्त्री एवं रोग विशेष योग गुरु सुधा कलौनी ले गरेका थिए । उनीहरूले विभिन्न दीर्घरोगका बिरामीहरूका लागि उपयोगी योग विधि तथा स्वास्थ्यसम्बन्धी सुझावहरू प्रदान गरेका थिए ।

योग शिविरको समापन कार्यक्रममा प्रमुख अतिथिका रुपमा प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे, शंकर थपलिया, लक्ष्मी पाण्डे निवर्तमान अध्यक्ष गोविन्द कुमार श्रेष्ठ लगाएको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा धादिङबेसी तथा आसपासका क्षेत्रबाट उल्लेख्य संख्यामा सहभागीहरूको उपस्थिति रहेको थियो । सहभागीहरूले योग शिविरबाट स्वास्थ्यसम्बन्धी ज्ञान र व्यावहारिक सीप हासिल गरेको प्रतिक्रिया दिएका छन् ।