
धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धादिङले खनियाबास र रुबीभ्याली गाउँपालिकामा पहिलोपटक पालिका भेला आयोजना गर्ने भएको छ। पार्टीले खनियाबासमा कात्तिक ८ गते र रुबीभ्यालीमा कात्तिक ९ गते भेला गर्न लागेको हो।
रास्वपा नेता मिलन डल्लाकोटीका अनुसार खनियाबास गाउँपालिकाको भेला शनिबार बिहान ९ बजे दार्खास्थित कुण्डले क्याफे हलमा हुनेछ। त्यस्तै, रुबीभ्याली गाउँपालिकाको भेला आइतबार बिहान ११ बजे लापामा आयोजना हुनेछ।
पार्टी स्थापनाको चौथो वर्षपछि धादिङका यी दुई गाउँपालिकामा पहिलोपटक भेला गर्न लागिएको रास्वपा धादिङले जनाएको छ। भेलाको मुख्य उद्देश्य पार्टी संगठन विस्तार तथा सुदृढीकरण गर्नुका साथै स्थानीय जनतासँगको सम्बन्धलाई थप मजबुत बनाउनु रहेको जिल्ला सभापति राजन अर्यालले बताए।
अर्यालका अनुसार रुबीभ्यालीको भेलामार्फत जिल्लाको पर्यटकीय सम्भावना बोकेको यस क्षेत्रको प्रचारप्रसार तथा प्रवर्द्धनमा समेत जोड दिइनेछ।
भेलामा प्रतिनिधिसभा सदस्यद्वय बोधनारायण श्रेष्ठ र बसुमाया तामाङको मुख्य उपस्थिति रहने जनाइएको छ। साथै, पार्टीका केन्द्रीय, प्रदेश तथा जिल्ला तहका नेताहरूको सहभागिता रहने गरी तयारी भइरहेको जिल्ला समितिले जनाएको छ।
रास्वपा धादिङले दुवै पालिकामा हुने भेलामा सहभागी हुन पार्टीका नेता, कार्यकर्ता, समर्थक तथा शुभेच्छुकलाई आग्रह गरेको छ। भेलामा संगठन निर्माण, स्थानीय जनतासँगको सम्बन्ध र हिमाली क्षेत्रको विकास तथा समृद्धिका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
खनियाबास र रुबीभ्यालीमा भेला हुने मिति र स्थान
खनियाबास गाउँपालिका
- मिति: २०८३ कात्तिक ८ गते, शनिबार
- समय: बिहान ९ बजे
- स्थान: कुण्डले क्याफे हल, दार्खा
रुबीभ्याली गाउँपालिका
- मिति: २०८३ कात्तिक ९ गते, आइतबार
- समय: बिहान ११ बजे
- स्थान: लापा, रुबीभ्याली





















