चाखलाग्दो इतिहासः १६ औं शताब्दीको डब्जोङ दरबार

Avatar photo
राजाराम रिजाल
बुधबार, भदौ १७, २०७७

धादिङको नेत्रावती गाउँपालिका अन्तर गत सेमजोङमा पर्ने डब्जोङ दरबारको निर्माण वि. स. ४००–५०० तिर राजा तागुर र रानी सिलीङमोले गर्नुभएको प्रमाण यस क्षेत्रमा रहेको शिलालेखबाट थाहा हुन्छ ।

त्यसबेला यस वाइबा राजाको राज्यमा क्षेत्री बाहुनहरुको बसोबास नभएको देखिन्छ । वाइबा राज्यमा सबै तामाङहरु मात्र भएको र उनीहरु कृषि नगरी वन्यजन्तुको शिकार गर्ने तथा जंगलमा गिठा भ्यागुर खोज्ने र आफ्नो राजालाई शिकार गर्न वन्य जन्तुहरु जंगलबाट छेकेर दरबारको वरीपरी ल्याईदिने गर्थे । राजाले जनवारलाई मारेपछि सबै राजा र प्रजा मिलेर रमाइलो गर्ने गरिन्थ्यो ।

एकदिन राजा रानी दरबारको पश्चिमको जंगलमा शिकार खेल्न जाँदा राजाले धादिङको सल्यानटार फाँटमा चरि रहेको गाई गोरुको हुल देखे । त्यसपछि राजाले गाई गोरुको हुलमा आफ्नो अति शक्तिशाली वललाई केन्द्रित गर्दै वाण प्रहार गराए र ती वाण उक्त गाई गोरुलाई लागे छ ।

वाणको कारण गाई गोरु घाइते भएपछि गोठालाहरुमा आश्चर्य बढ्यो र सोध खोज गर्न थाले र वाण कस्ले हान्यो भनेर गोठालाहरु बुद्धिमता अपनाउदै ढलेको गोरुको छेउमा लुकेर बसेछन् ।
यता शिकारी राजा रानी आफ्नो वाणले शिकार ढलेको एकिन भए पछि दुवै जना शिकार नजिक पुग्दा गोरु पल्टिरहेको देखेछन् ।

त्यसपछि रानी सिलीमोङले आफ्नो घलेक फुकाली वरीया बनाई आफ्नो शक्ति प्रयोग गरी गोरुलाई बोक्नुभएछ र राजा तागुरले रुखको हागा भाचेर आफ्नो पाइला मेट्दै दरबार तिर लिएर आउनु भएछ ।

राजा र रानीलाई के थाहा आफ्नो पछि पछि ती चलाख गोठालाहरु आएको । आखिरी गोठालाहरुले गोरु मार्ने पत्ता लगाई छाडे । त्यसपछि बाहुनहरु (ज्यार्दी) ले गोरु मारी खाएको अभियोगमा मुद्दा हाले । अदालतले गोरु मारी खाएको हो की होइन भनी वयान दिन वाइबा राजालाई अदालत बोलाएछ ।

अदालतमा राजाले बयान दिए, बयानको क्रममा आफुले गोरुलाई लक्षित गरी वाण हानेको र गोरुको मासु पनि खाएको हो तर मुखले मासु खाए पनि आँखाले नदेखेको र हातले पनि नछोई चिम्टाले च्यापेर खाएको बयान दिए । त्यसपछि बाहुनहरु सँग लडाई सुरु भएछ ।

शक्तिशाली वाइबा राजाको अगाडी बाहुनहरुको केही सीप लागेन । त्यसपछि ज्यार्दीहरुले षडयन्त्र रचे । योजनाबद्ध षडयन्त्र अनुरुप सम्झौताको योजना बनाए । सम्झौता मुताबिक दुवैतर्फबाट बिना हतियार सम्झौता गर्ने ठाउँमा उपस्थित हुने खबर वाइबा राजाको दरबारमा पठाए ।

ती सोझा राजालाई के थाहा उता ज्यार्दीहरुले आफुमाथि षडयन्त्र रच्दैछ भनेर त्यसपछि दुवैतर्फ सन्धि सम्झौता गर्ने सर्तमा ज्यार्दीहरुले सन्धि गर्ने स्थान ह्यापिङ खोला त्योके । तोकिएको स्थानमा सन्धि हुने पक्का भएपछि चलाख ज्यार्दीहरुले आवश्यक पर्ने सम्पूर्ण हतियार ह्यापिङ खोलाको वालुवा मुनि लुकाई राखे । यता सोझा वाइबा राजा भने बिना हात हतियार सम्झौता गर्न जुटेका थिए ।

वाइबा राजा तागुरले सम्झौतामा राजाको प्रतिनीधिको रुपमा आफ्ना चार राजकुमारहरुलाई खटाएका थिए । तर रानी सिलीङमो भने यस सम्झौतामा राजी थिईनन्, कारण बाहुनहरु चलाख र षडयन्त्रकारी हुन्छन् भन्ने उनले दावी गर्दै आएकी थिईन् ।

विना हात हतियार सम्झौता स्थान जानुहुदैन भन्ने रानीको तर्क थियो । तर रानीको कुरामा कसैले पनि वास्ता नगरी राजाको आज्ञा बमोजिम चार भाई राजकुमारहरु र वाइबा राज्यका जनताहरु सम्झौता स्थानतर्फ प्रस्थान गरे । राजकुमार गोम्बोले भने आफ्नो आमाको कुरालाई सही मानी आफ्नो हतियार धनुष वाण दाजु र बाबुले नदेख्ने गरी लुकाई छिपाई बोके । दाजुहरुलाई भने गोम्बोले हतियार बोकेको थाहा थिएन ।

जब सबै राजकुमार र जनताहरु वार्ता स्थल पुगे तब षडयन्त्रकारी बाहुनहरुले आफुले लुकाई छिपाई राखेको हतियार निकाली विना हतियार सम्झौता गर्न गएका वाइबा राजाका राजकुमार र जनतालाई मुला काटे झैं काटिए ।

राजकुमार तथा जनताको रगतले ह्यापिङ खोलाको ढुंगा माटो र पानी पुरै रातो भयो। तर चलाख राजकुमार गोम्बो भने त्यस भयानक षडयन्त्रबाट भाग्न सफल भए । आफुले लुकाई लगेको धनुष वाणले बुढी गण्डकीमा पुल बनाई पार गरेर राजकुमारलाई डुंगाबाट शत्रु आइरहेको देखेपछि धनुष वाणले डुंगालाई त्यही दुई टुक्रा पारेर भाग्न सफल भए । यिनै वाइबा राजाका राजकुमार गोम्बोको सन्तान नै पछि गुरुङ भएको इतिहास डब्जोङ दरबारको शिलालेखमा उल्लेख गरिएको छ ।

साथै वाइबा राजकुमार गोम्बोको नाम नै अपभ्रंश भई गुरुङ भएको भन्ने त्यहाका बुढापाकाहरुको कथन रहेको छ । साथै रीतिरिवाज र धनुष वाणको कथासंग मेल खाएको पनि स्थानीवासीहरुको कथन छ र अहिले पनि त्यहाँका वासिन्दाहरु विश्वास गर्ने गर्छन् ।

यता राजकुमार गोम्बोका दाजु र जनता भने ह्यापिङ खोलामा रगतको खोला बगाएर सखाप भईसकेका थिए । केही जनता त्यस चक्रव्युहबाट भाग्न सफल भएका थिए । बचेका जनताहरु दरबार आएर राजालाई लडाईको सम्पूर्ण खबर सुनाए । “हामी सबै जना ज्यार्दीहरुको चक्रव्युहमा फस्यौं र सम्पूर्ण राजकुमारको एउटै चिहान बनायो । अब हामी यहा“ बस्नु हुदैन हाम्रो पछि शत्रुहरु आइरहेकोछ अब बाँकी रहेको जनता तथा राजा रानीको सुरक्षाको लागी यहाँबाट अन्तै भाग्नुपर्छ भन्दै राजालाई सल्लाह दिए ।

त्यसपछि रानीले एक हजार टपरीमा दालभात लटपटाई शत्रु आउने बाटोतिर फालीदिए । रानी आफु पनि विभिन्न भेषमा प्रत्येक झ्यालबाट पालै पालो शत्रुहरुको चियो गर्न थाले । रानीको त्यो चालदेखी शत्रुहरु पनि डराएर दरवारमा हमला नगरी भागे ।

वाइबा राजा तागुरले आफ्नो चार राजकुमार शत्रुको षडयन्त्रमा गुमाएपछि आफ्नी गर्भवती श्रीमती बुहारी, रानी सिलीमोङ तथा बचेका जनतासहित राज्यको पुर्वतिर छवापर्माजोङ लाग्नुभएछ । वर्माचेत जोङ, फोका जोङ, सिङला जोङ, गर्चा जोङ, मिक्ली जोङ हुदैं अन्तमा उर्वाङ जोङसम्म बसाई सर्ने क्रममा मिक्ली जोङमा बसेको समयमा विधवा बुहारीलाई पुत्रलाभ भयो ।

त्यही ठाउँमा सुत्केरी राजकुमारीबाट आफ्ना स्वर्गीय पतिको सम्झना तथा आफ्नो कोखबाट छोरा जन्मिएको उपलक्ष्यमा ठडाएको ढुंगा पनि प्रमाण बनेर रहेको छ । आफ्नो विधुवा बुहारीबाट नातीको जन्म भएपछि वाइवा राजा तागुरलाई केही मात्रमा राहत मिलेको थियो ।

त्यसपछि आफ्नो परिवार सहित हाल गौर गाउ भएको ठाउँमा बसाई सर्नुभयो सो बसाई सर्ने बेलामा छोराहरुको सम्झनामा र नातीको जन्म भएको उपलक्ष्यमा मिक्लीजोङ र उर्वाङजोङको वीचमा एउटा मानें (छोर्तेन) बनाउनु भएको रहेछ तर सो मानेंको टुप्पा नभएको र नाम पनि रुलुम माने नामाकरण गरेको रहेछ । सो मानें अहिले पनि देख्न सकिन्छ ।

समय व्यतित गर्ने सवालमा तागुर राजालाई गैर गाउँ भन्ने ठाउँमा पनि निकै संघर्ष रहेछ । यस ठाउँमा पनि ज्यादिर्हरुले निकै दुःख दिने गरेको र आफुले पर्वते (खस) भाषा बोल्न नजानेको हुँदा उनीहरुले हामी यस ठाउँमा पुस्तौंदेखी बस्दै आएको अरु मानिस यहाँ बस्न पाउने छैन भनि दुःख दिने गरेकोले शिकार खेल्ने बेलामा दङसिङ भन्ने ठाउँको वाइबा राजासंग मित लगाएको र उनीहरु पर्वते भाषा बोल्ने भएकोले राजा तागुरले आफ्नो समस्या समाधान गर्न मितको सहयोगमा ज्यार्दीहरुसंग मुद्दा लड्न थाले ।

यसरी वाइबा राजाले मितेरी सहयोग पाएर ज्यार्दी विरुद्द संघर्ष गर्न थाले । सो क्रममा जस्को पुरानो मानें छ उसैको यस ठाउँमा बस्ने अधिकार छ भनि वाचा गरियो यसै वाचा बमोजिम आफ्नो तरिकाबाट मानें (छोर्तेन) बनाए तर ज्यार्दीहरुले पुरा ताछेर चिटिक्क बनाएछ । यता वाइबा राजा र राजाको मितले ढुंगा निकाली मानें बनाउदा बाहिरको बाहिर भित्रको भित्रै मिलाएर बनाएछ । अनि कस्को मानें पुरानो छ भनि जाँच गर्दा ज्यार्दीहरुको नयाँ र वाइबा राजाको पुरानो भएको ठहर गरीयो सोही मानेंको आधारमा वाइबा राजाहरुले हालको धादिङको गैरा गाउँमा बसोवास गर्न पाएपछि आफ्नो मितलाई भेडा काटी भोज ख्वाई मितलाई पनि यसै गाउँमा सधैंको लागी बस्न आग्रह गर्नुभएको थियो ।

मितको अनुरोधलाई स्वीकार गर्दै दाङसिङको वाइबा राजा पनि गैरा गाउँमा बस्न थाले । सोही समयदेखि भेडा काटी भोज गर्ने चलन अहिलेसम्म पनि यथावतै छ । प्रत्येक बडादशैंको अष्टमीको दिन बिहान वाइबा राजाहरुको घरमा भेडा काटी भोज गरेर मात्र मौलाको पूजा गर्ने चलन छ ।

वाइबा राजाको नाती राजकुमार छेवाङका पनि आठ भाई छोरा र एक छोरीको जन्म भया राजा रानी (हजुर बाबा र हजुर आमा) को निधन भएपछि राजकुमार छेवाङले आफ्नो बाजेको पुरानो राजदरबार डब्जाङजोङबाट केही पुर्वमा बाजे बज्यैको सम्झनामा दुईवटा मानेंहरु बनाउनु भएको रहेछ । सो माने अहिले पनि देख्न सकिन्छ । छेवाङले पनि आफ्नो निधनपछि मानें बनाउनु पर्छ भनि छोरा छोरीलाई भनेको हुँदा छोरा छोरीहरुले आफ्नो बुवाको सम्झनामा मानें बनाउनु भयो ।

सो मानें बनाउनको लागी प्रत्येक छोराछोरीको तर्फबाट एक र एक मुरी धान भुटेको फुल, मकैको फुल, लट्टेको फुल गरी जम्मा नौ मुरी र दुध, त्यस्तै गरी दही, नौनी घ्यु, रक्सी जाड नौ नौ पाथी जम्मा गरी होमा नामको मानें बनाउनु भयो । सो होमा मानेंमा प्रत्येक १२ बर्षमा मेला लाग्ने गर्दछ । यो होमा मानें बनाउनको लागी वाइवा राजाको रगतले रंगिएको ह्यापिङ खोलाको ढुंगा लिएर बनाएको भन्ने त्यहाका बुढापाकाहरुको भनाई रहेकोछ । अहिले पनि सो मानेंको ढुंगा टुटफुट भएमा वा मानेंमा भएको पाँच वटा बुद्धको मुर्ति टुट्फुट भएमा वाइबाहरुको ज्वाई चेलाको उपस्थितिमा ह्यापिङ खोलाको ढुंगा ल्याएर मर्मत गर्ने गरिन्छ ।

यस गैरा गाउँमा अर्को रमाइलो कुरा के छ भने प्रत्येक बडादशैंको टिकाको दिन वाइबा राजाको शिकार खेल्ने चलनलाई साक्षि राख्न धनुष वाणबाट शिकार खेल्ने गरिन्छ । यो खेलमा एक व्यक्तीलाई कुकुरको रोल दिइन्छ भने गाउंको मुखियाले राजाको खेलेको हुन्छ । गाउँका युवाहरुले जनताको रोलमा मृग, हरिण जस्ता वन्य जन्तुको सट्टा फर्सी ल्याई राख्ने गरिन्छ र शिकारीहरु कुकुरलाई लिएर राजाको घरबाट शिकार खेल्न निस्कन्छ ।

यसमा सत्य कुरा के छ भने वाइबा राजाको पालामा राजाले प्रयोग गर्ने गरेका वज्रवाणलाई पनि शिकार खेल्ने ठाउँसम्म लाने गरिन्छ । सो वाणबाट मारिएको शिकारको मासुको रुपमा प्रत्येक घरघरमा फसिर्को टुक्रा पठाउने गरिन्छ। त्यस पछाडी गाउँको सबै जम्मा भएर हालको गाउँको मुखियाको घरको आँगनमा रातभरि रमाइलो गर्ने गर्छ र पृथ्वीको उत्पती देखि हालसम्मको कथा सुनाउँदै मानें नाच्ने चलन छ ।

यस वाइबा राजाको दरवार क्षेत्रमा डब्जोङ अहिले हेर्न लायक वस्तुहरुमा यस प्रकार छन्ः ढुंगाको ओखल, ढुंगाको ढिकी, जातोको पिंधबाट लालीगुरास फुलको रुख सो रुखले जातोलाई तीस फिट माथि उचालेको छ, त्यस ईलाकाको प्रत्येक ढुंगामा ॐ मानें पद्मे हु“ लेखेको शिलालेखहरु । सुत्केरीले उठाएको करिब पचास टनको ढुंगा आदि ।

वाइवा राजाको वंशजको नाम यसप्रकार छ – वाइबा राजा तागुर, रानी सिलिङ्मो, राजकुमारहरु ओम्वा, नब्वो, तिर्थ र गोम्बो राजकुमारी सत्यावती र सत्यावतीका छोरा छेवाङग र छेवाङगका आठ भाई छोराहरु ।

आठ भाई छोराहरु मध्ये एक भाई धादिङको दर्खामा र अर्को एक भाई नुवाकोटको दोलेवमा गई आफ्नो प्रभुत्व जमाएको बुढापाकाहरुको भनाई रहेको छ । बाकी छ भाई हालको सेमजोङ गाविसको गैरा गाउमा आफ्नो थलो बनाएर बसेको किंवदन्ती छ ।

यस कथामा उल्लेख गरिएका बुँदाहरु साविकको सेमजोङ गाविसका बुढापाकाहरुको भनाई र यस ठाउँमा भएको वस्तुहरुमा आधारित रहेको छ । यो सेमजोङ दरबार सम्बन्धी रसिलो चाख लाग्दो सामाग्री नाम्सादिमबाट साभार गरिएको हो ।