सिङ्ल्हा मेलाको भव्य तयारी, जनैपूर्णिमामा हजारौँ तीर्थयात्री पुग्ने

Avatar photo
Dhadingpost
साउन २२, २०८३

धादिङ । धादिङको उत्तरी भेगमा पर्ने ऐतिहासिक तथा धार्मिक महत्व बोकेको सिङ्ल्हा मेलाको तयारी तीव्र पारिएको छ । समुद्री सतहदेखि करिब ४ हजार ४० मिटर उचाइमा रहेको सिङ्ल्हामा हरेक वर्ष जनैपूर्णिमाका अवसरमा लाग्ने धार्मिक मेलाका लागि स्थानीयस्तरमा आवश्यक तयारी अघि बढाइएको हो ।

बौद्ध धर्मगुरु पद्मसम्भव (रिम्पोछे) को प्राचीन यात्रासँग जोडिएको मानिने सिङ्ल्हा धादिङको रुबीभ्याली र खनियाबास, नुवाकोटको किस्पाङ तथा रसुवाको उत्तरगया गाउँपालिकाको शिरमा अवस्थित छ । मौसम खुलेको समयमा यहाँबाट लाङटाङ, पाविल, गणेश हिमाल, हिमालचुली, मनास्लु तथा अन्नपूर्ण हिमशृङ्खलासम्मका मनोरम दृश्य देख्न सकिन्छ ।

यस वर्षको जनैपूर्णिमा भदौ १२ गते परेको छ । मेलामा सहभागी हुन भदौ ११ गते सेतुङबाट झाँग्रीसहित भक्तजनको टोली पैदल यात्रामा निस्कने र सोही दिन मच्छेत खर्कमा बास बस्ने तयारी गरिएको आयोजक पक्षका राकेश तामाङ च्याङ्बाले जानकारी दिए ।

भदौ १२ गते बिहान मच्छेत खर्कबाट सिङ्ल्हातर्फ उकालो लाग्ने गरी यात्राको व्यवस्थापन गरिएको छ । मच्छेतबाट करिब दुईदेखि तीन घण्टा उकालो हिँडेपछि सिङ्ल्हा पुगिन्छ ।

झुल्के घामसँगै हिमाल हेर्न सकिने सिङ्ल्हा

सिङ्ल्हाको यात्रा केवल धार्मिक आस्थासँग मात्र जोडिएको छैन । प्राकृतिक सौन्दर्य, हिमाली भूगोल, तामाङ संस्कृति र साहसिक पदयात्राको अनुभव लिन चाहनेका लागि पनि यो आकर्षक गन्तव्य हो ।

बिहान सबेरै सिङ्ल्हातर्फ उकालो लाग्दा पाटनैपाटन झुल्किँदै गरेको घामको दृश्य देख्न सकिन्छ । मौसम खुलेको अवस्थामा सिङ्ल्हा पुग्दासम्म हिमालका शृङ्खला खुलेर देखिने भएकाले बिहानको समय यहाँ पुग्न उपयुक्त मानिन्छ ।

दिनभर सिङ्ल्हा क्षेत्रमा घुमेर मच्छेत खर्कमै फर्किएर बास बस्न सकिन्छ । समयअनुसार झार्लाङ, रुबीभ्याली, सेर्तुङ हुँदै यात्रा अघि बढाउन सकिने तथा रसुवाको स्याफ्रुबेँसी वा नुवाकोटतर्फ पनि जोडिन सकिने सम्भावना छ ।

धादिङपोष्टको यसअघिको यात्रावृत्तान्तअनुसार झार्लाङबाट सिङ्ल्हातर्फको पदयात्रामा हरियाली जंगल, खर्क, पोखरी, चट्टानी डाँडाकाँडा र स्थानीय जीवनशैलीको अनुभव गर्न सकिन्छ ।

धार्मिक आस्था र तामाङ संस्कृतिको संगम

सिङ्ल्हालाई स्थानीय समुदायले प्राचीन धार्मिक तथा सांस्कृतिक धरोहरका रूपमा मान्दै आएका छन् । तामाङ समुदायमा प्रचलित जनविश्वासअनुसार सिङ्ल्हा देवीदेवताको बासस्थल तथा पवित्र भूमि हो ।

सिङ्ल्हामा रहेका दुई थुम्कालाई आमा र छोरीका रूपमा समेत मान्ने गरिन्छ । आस्थावानहरू त्यहाँ पुगेर बत्ती बाल्ने, दज्र्यु तथा लुङ्दा चढाउने गर्छन् ।

रुबीभ्याली गाउँपालिका–३ का वडाध्यक्ष फेदोर्जे तामाङका अनुसार ‘सिङ्’ र ‘ल्हा’ मिलेर सिङ्ल्हा नाम बनेको मानिन्छ । उनका अनुसार ‘सिङ्’ भूमिदेवी आमाछोरी बस्ने र ‘ल्हा’ ले लेक वा उनीहरू बस्ने स्थानलाई जनाउँछ ।

यद्यपि सिङ्ल्हाको नाम र उत्पत्तिबारे स्थानीय समुदायमा विभिन्न किंवदन्ती र व्याख्या पाइन्छन् । बौद्ध धर्म अध्येता तथा अनुसन्धानकर्ता अजितमान तामाङले ‘सिङ्’लाई रातो पहाड र ‘ल्हा’लाई लेकका रूपमा पनि व्याख्या गरेका छन् । सिङ्ल्हा पद्मसम्भवको नेपाल–तिब्बत यात्रासँग जोडिएको प्राचीन धार्मिक तीर्थयात्रा मार्ग भएको उनको भनाइ छ ।

बोन्बो र लामाहरूका लागि विशेष धार्मिक स्थल

सिङ्ल्हामा हरेक वर्ष भदौ पूर्णिमाका अवसरमा बोन्बो तथा लामाहरू पुगेर प्रार्थना गर्ने परम्परा रहेको स्थानीय बताउँछन् ।

बोन्बोहरूले सिङ्ल्हालाई धार्मिक शक्ति, आस्था र साधनासँग जोडेर हेर्ने गरेका छन् । यहाँ पुगेर समाजमा सुख, शान्ति, समृद्धि, अन्नबाली राम्रो होस् तथा रोगव्याधि नफैलियोस् भन्ने कामना गर्ने प्रचलन रहेको बताइन्छ ।

स्थानीय जनविश्वासअनुसार लामो समयदेखि चलिआएको यस धार्मिक यात्रामा विभिन्न उमेर समूहका मानिसहरू आफ्नो मनोकांक्षा पूरा होस्, सन्तान प्राप्ति होस्, आयु लामो होस् तथा पारिवारिक सुख–शान्ति मिलोस् भन्ने कामनासहित पुग्ने गरेका छन् ।

पद्मसम्भवको यात्रासँग जोडिएको सिङ्ल्हा

सिङ्ल्हाको धार्मिक महत्वलाई अझ गहिरो बनाउने अर्को पक्ष हो—यसलाई बौद्ध धर्मगुरु पद्मसम्भव (गुरु रिम्पोछे) को नेपाल–तिब्बत यात्रासँग जोडिनु ।

धार्मिक तथा सांस्कृतिक अध्ययनका आधारमा पद्मसम्भव नेपालबाट तिब्बत जाने क्रममा बागमतीको मुहान क्षेत्र बागद्वार हुँदै सिङ्ल्हा, पाङसाङ र केरुङ–माङयुलतर्फ गएको स्थानीय धार्मिक परम्परामा उल्लेख पाइन्छ ।

यही कारण सिङ्ल्हालाई केवल हिमाली पदयात्राको गन्तव्य नभई धार्मिक इतिहास, तामाङ सभ्यता र नेपाल–तिब्बतको पुरानो आवागमनसँग जोडिएको तीर्थस्थलका रूपमा समेत हेर्ने गरिएको छ ।

तीन जिल्लालाई जोड्ने हिमाली गन्तव्य

सिङ्ल्हाको अर्को विशेषता यसको भौगोलिक अवस्थिति हो । यो धादिङ, नुवाकोट र रसुवाको सीमाक्षेत्रसँग जोडिएको उच्च हिमाली भूभागमा रहेको छ ।

धादिङतर्फबाट जाने यात्रुका लागि खनियाबास गाउँपालिका–१ झार्लाङ हुँदै पदयात्रा सुरु गर्न सकिन्छ । झार्लाङबाट उकालो लाग्दै जंगल, खर्क र पाटन पार गरेर मच्छेत खर्क पुगिन्छ । मच्छेतबाट थप दुईदेखि तीन घण्टाको उकालोपछि सिङ्ल्हा पुग्न सकिन्छ ।

धादिङपोष्टको यात्रावृत्तान्तअनुसार सिङ्ल्हाको पदयात्रा सामान्यदेखि मध्यम हुँदै कतिपय स्थानमा जटिलसमेत हुन सक्छ । खोचबाट पहाड उक्लिनुपर्ने, पहाडको फेद हुँदै हिँड्नुपर्ने तथा कतिपय ठाउँमा निकै ठाडो उकालो–ओरालो पार गर्नुपर्ने भएकाले यो यात्रा साहसिक पदयात्रा मन पराउनेका लागि विशेष आकर्षण बन्न सक्छ ।

हिमालसँगै तामाङ जीवनशैलीको अनुभव

सिङ्ल्हा यात्रा प्राकृतिक दृश्यमा मात्र सीमित हुँदैन । बाटोमा तामाङ समुदायको परम्परागत जीवनशैली, संस्कृति, भेषभूषा, खानपान र स्थानीय कला–संस्कृतिसँग नजिकबाट परिचित हुने अवसरसमेत पाइन्छ ।

स्थानीय मौलिक खानामा ढिँडो, आलु, मकै, भटमासलगायत परिकारको स्वाद लिन सकिन्छ भने तामाङ समुदायको लोकप्रिय मेन्दोमाया तथा तामाङ सेलो संस्कृतिको अनुभव पनि यात्राको अर्को आकर्षण हो ।

सिङ्ल्हा आसपासका पाटन तथा खर्कमा भेडा, च्याङ्ग्रा र चौँरीका गोठ देखिनु, चट्टानी डाँडाकाँडा र फराकिला घाँसे मैदान पार गर्नु तथा मौसम खुलेका बेला हिमालको लामो शृङ्खला अवलोकन गर्न पाउनु यात्राको विशेषता हो ।

धार्मिक मेलाबाट पर्यटन प्रवद्र्धनतर्फ

सिङ्ल्हामा परम्परागत रूपमा जनैपूर्णिमाका दिन मात्र मेला लाग्ने भए पनि पछिल्ला वर्षमा यस क्षेत्रलाई धार्मिक पर्यटनसँगै हिमाली पर्यटनको गन्तव्यका रूपमा विकास गर्ने प्रयास भइरहेको छ ।

यसअघि सिङ्ल्हा पर्यटन क्षेत्र विकास समाजको पहलमा पर्यटन मेला आयोजना भइसकेको छ । स्थानीय तह र समुदायको पहलमा पदमार्ग सुधार, ढुंगा छाप्ने तथा तीर्थयात्री र पर्यटकका लागि केही स्थानमा बास बस्ने संरचना निर्माण गर्ने कामसमेत अघि बढाइएको छ ।

स्थानीय अगुवाहरूले धार्मिक महत्व बोकेको सिङ्ल्हालाई पर्यटनसँग जोड्न सके युवालाई गाउँमै रोजगारी सिर्जना गर्न सकिने बताउँदै आएका छन् । प्राकृतिक अवस्था जोगाउँदै पूर्वाधार विकास गर्नुपर्ने आवश्यकता पनि उत्तिकै रहेको छ ।

हजारौँ तीर्थयात्री सहभागी हुने अपेक्षा

यस वर्षको मेलामा दर्जनौँ बोन्बो, सयौँ सहयोगी तथा हजारौँ तीर्थयात्री सहभागी हुने अपेक्षा गरिएको आयोजक पक्षका राकेश तामाङ च्याङ्बाले बताए ।

मेलामा धार्मिक अनुष्ठान, प्रार्थना तथा परम्परागत गतिविधिसँगै सिङ्ल्हाको प्राकृतिक तथा सांस्कृतिक महत्व अवलोकन गर्न आउने तीर्थयात्री र पर्यटकको संख्या बढ्ने अपेक्षा गरिएको छ ।

सिङ्ल्हाको यात्रा धार्मिक आस्था राख्नेहरूका लागि तीर्थयात्रा मात्र नभई हिमाल, पाटन, तामाङ संस्कृति र प्राचीन धार्मिक इतिहाससँग साक्षात्कार गर्ने अवसरसमेत बन्ने देखिन्छ ।

सिङ्ल्हा यात्रा गर्दा ध्यान दिनुपर्ने कुरा

सिङ्ल्हा उच्च हिमाली क्षेत्रमा पर्ने भएकाले यात्रा सामान्य घुमघामभन्दा फरक छ । बाटोमा पर्याप्त होटल तथा पसलको सुविधा नहुने भएकाले आवश्यक खाना, न्यानो कपडा, औषधि तथा अन्य बन्दोबस्तीका सामग्रीको तयारी गर्नुपर्ने हुन्छ ।

पदयात्राका क्रममा मौसम अचानक परिवर्तन हुनसक्ने भएकाले स्थानीय अवस्था बुझेका व्यक्ति वा गाइडको साथमा यात्रा गर्नु सुरक्षित मानिन्छ । विशेषगरी वर्षायाममा बाटो चिप्लो हुने र जुकाको समस्या हुनसक्ने भएकाले त्यसतर्फ पनि तयारी आवश्यक हुन्छ ।

यसरी हेर्दा सिङ्ल्हा धादिङको धार्मिक, सांस्कृतिक र प्राकृतिक पहिचानलाई एकै ठाउँमा जोड्ने दुर्लभ गन्तव्य हो । जनैपूर्णिमाको अवसरमा लाग्ने मेला यसको धार्मिक महत्वलाई जीवन्त राख्ने परम्परा मात्र नभई सिङ्ल्हालाई देश–विदेशका पर्यटकमाझ चिनाउने महत्वपूर्ण अवसरसमेत बन्न सक्छ ।