
धादिङ । अखिल नेपाल कबड्डी संघको आयोजनामा हुने महिला तथा पुरुष जुनियर कबड्डी प्रतियोगिता (यू–२०) का लागि बागमती प्रदेशको टोली छनोट गरिने भएको छ । प्रदेश टोलीमा सहभागी हुन चाहने धादिङका खेलाडीले पनि छनोट प्रक्रियामा सहभागी हुने अवसर पाउने भएका छन् ।
बागमती प्रदेश कबड्डी संघले असोज ४ गते आइतबार काठमाडौंको चमती खेलकुद पार्कमा महिला तथा पुरुष जुनियर कबड्डी खेलाडी छनोट गर्ने जनाएको छ । छनोट कार्यक्रम बिहान ११ बजेदेखि सुरु हुनेछ ।
प्रदेशका योग्य तथा प्रतिभावान खेलाडी छनोट गरी बागमती प्रदेशको टोली निर्माण गरिने संघले जनाएको छ । धादिङमा कबड्डी खेल्दै आएका तथा यू–२० उमेर समूहमा रहेका खेलाडीका लागि प्रदेशस्तरीय टोलीमा स्थान बनाउने यो अवसर भएकाले इच्छुक खेलाडीलाई छनोटमा सहभागी हुन आग्रह गरिएको छ ।
छनोटमा सहभागी हुने खेलाडीले आफ्नो परिचय खुल्ने नागरिकता वा जन्मदर्ताको सक्कल प्रमाणपत्र साथमा ल्याउनुपर्नेछ । संघका अनुसार २०६३ असोज १४ गतेपछि जन्ममिति भएका खेलाडीले मात्र छनोटमा सहभागी हुन पाउनेछन् ।
अखिल नेपाल कबड्डी संघको आयोजनामा असोज १६ देखि १८ गतेसम्म सञ्चालन हुने महिला तथा पुरुष जुनियर कबड्डी प्रतियोगिताका लागि बागमती प्रदेशबाट खेलाडी छनोट गर्न लागिएको हो।
यसअघि पनि धादिङका खेलाडीले बागमती प्रदेशबाट विभिन्न उमेर समूहका प्रतियोगितामा प्रतिनिधित्व गर्दै आएका छन् । त्यसैले यू–२० उमेर समूहका धादिङका इच्छुक कबड्डी खेलाडीले छनोटको अवसर गुमाउन नहुने देखिन्छ ।
