बेनीघाट रोराङको राष्ट्रपति रनिङ शिल्डमा हर्कपुर माविको ह्याट्रिक

Avatar photo
Dhadingpost
मंसिर १२, २०८३

धादिङ । बेनीघाट रोराङ गाउँपालिका स्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८३ को उपाधि हर्कपुर माध्यमिक विद्यालयले जितेको छ । यससँगै हर्कपुर माविले लगातार तेस्रो पटक उपाधि जित्दै प्रतियोगितामा ह्याट्रिक पूरा गरेको छ ।

हर्कपुर माविले यसअघि २०८१ र २०८२ सालमा पनि राष्ट्रपति रनिङ शिल्डको उपाधि जितेको थियो । २०८१ मा १५ स्वर्ण र २०८२ मा १० स्वर्ण जित्दै च्याम्पियन बनेको हर्कपुरले यस वर्ष पनि आफ्नो वर्चस्व कायम राखेको हो ।

आठौँ संस्करणमा हर्कपुर माविले १४ स्वर्ण, ९ रजत र ३ कास्य गरी कुल २६ पदक जित्दै पहिलो स्थान हासिल गरेको छ ।

प्रतियोगितामा वागेश्वरी माध्यमिक विद्यालयले ११ स्वर्ण, ८ रजत र ७ कास्य गरी २६ पदक जित्दै दोस्रो स्थान प्राप्त गरेको छ । समान कुल पदक भए पनि स्वर्ण पदकको सङ्ख्याका आधारमा वागेश्वरी दोस्रो भएको हो ।

त्यस्तै, चन्द्रोदय माध्यमिक विद्यालय, विशालटारले ९ स्वर्ण, १० रजत र ४ कास्य गरी २३ पदक जित्दै तेस्रो स्थान हासिल गरेको छ ।

पिपल भञ्ज्याङ माध्यमिक विद्यालय २ स्वर्ण, २ रजत र ४ कास्यसहित चौथो तथा कालिका माध्यमिक विद्यालय २ स्वर्ण र ६ कास्यसहित पाँचौँ स्थानमा रहे ।

प्रतियोगितामा सहभागी १२ विद्यालयमध्ये ब्राइटफ्यूचर मावि छैटौँ, पञ्चकन्या मावि सातौँ, राष्ट्रिय मावि आठौँ, बाँसखर्क मावि नवौँ, चन्द्रोदय मावि बेनीघाट दशौँ, शङ्खादेवी मावि एघारौँ र राइजिङस्टार मावि बाह्रौँ स्थानमा रहे ।

प्रतियोगितामा कुल ४० स्वर्ण, ४० रजत र ३९ कास्य गरी ११९ पदकका लागि प्रतिस्पर्धा भएको थियो । लगातार तीन संस्करणमा उपाधि जित्न सफल हर्कपुर माविले बेनीघाट रोराङको विद्यालयस्तरीय खेलकुदमा आफ्नो वर्चस्व कायम राखेको छ ।