
धादिङ । धादिङको ज्वालामुखी गाउँपालिका–मैदी घर भई हाल बेलायतमा बस्दै आएका नेपाली पेस्ट्री सेफ नारायण श्रेष्ठले अन्तर्राष्ट्रिय पाककला प्रतियोगितामा दुई पदक जितेर नेपालको गौरव बढाएका छन् ।
लक्जेम्बर्गमा आयोजित प्रतिष्ठित ‘आरएके पोर्सिलेन कलिनरी वर्ल्ड कप २०२६’ मा श्रेष्ठले रजत र कांस्य गरी दुई पदक जितेका हुन् ।
प्रतियोगिताअन्तर्गत उनले ‘पेस्ट्री आर्ट’ विधामा रजत पदक र ‘पेस्ट्री आर्टिस्टिक’ विधामा कांस्य पदक हासिल गरेका छन् । युरोपाटीका प्रधान सम्पादक पुस्तक रेग्मीका अनुसार श्रेष्ठले चकलेटबाट तयार पारेका कलात्मक सिर्जनामार्फत हिमालय र महासागरको सुन्दरता प्रस्तुत गरेका थिए । उनका कलाकृतिमा जलवायु परिवर्तन र पृथ्वी संरक्षणको सन्देशसमेत समेटिएको थियो ।
सामान्य पारिवारिक पृष्ठभूमिबाट अघि बढेका श्रेष्ठले १९ वर्षको उमेरमा रोजगारीका लागि विदेश यात्रा सुरु गरेका थिए । उनले दुबईमा होटलको किचन हेल्परका रूपमा आफ्नो व्यावसायिक करिअर सुरु गरेका हुन् । त्यसपछि दुबई र कतारका प्रतिष्ठित फोर सिजन्स होटलमा आठ वर्ष काम गर्दै पाककलाको क्षेत्रमा अनुभव र दक्षता हासिल गरे ।
सन् २०२३ देखि बेलायतमा कार्यरत श्रेष्ठ हाल लन्डनस्थित इन्टरकन्टिनेन्टल होटलमा पेस्ट्री सेफका रूपमा काम गरिरहेका छन् । निरन्तरको मेहनत, लगनशीलता र सिर्जनशीलताका कारण उनले अन्तर्राष्ट्रिय पाककला क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन् ।
यसअघि सन् २०२४ मा पनि श्रेष्ठले बेलायतको चर्चित ‘बेक अफ: द प्रोफेसनल’ प्रतियोगितामा अवार्ड जितेका थिए । पछिल्लो पटक अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा दुई पदक जित्नु उनको व्यावसायिक यात्राको अर्को महत्वपूर्ण उपलब्धि हो ।
धादिङको मैदीबाट सुरु भएको उनको संघर्षपूर्ण यात्रा अन्तर्राष्ट्रिय मञ्चसम्म पुग्नु जिल्लाका लागि पनि गौरवको विषय बनेको छ । श्रेष्ठको सफलताले नेपाली प्रतिभा र सिर्जनशीलता विश्वमञ्चमा प्रस्तुत गर्न पाककला क्षेत्रले पनि महत्वपूर्ण भूमिका खेल्न सक्ने देखाएको छ ।
