प्रधानमन्त्रीबाट प्रभावित भएँ : अध्यक्ष खतिवडा, घाटबेसी पुल प्राथमिकतामा

Avatar photo
Dhadingpost
भदौ ३१, २०८३

धादिङ । सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाले प्रधानमन्त्री बालेन शाह र पूर्वाधार विकासमन्त्री सुनिल लम्सालको सक्रिय तथा छिटो निर्णय गर्ने कार्यशैलीबाट आफू प्रभावित भएको बताएका छन् ।

भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग भएको छलफलपछि अध्यक्ष खतिवडाले संघीय सरकारको काम गर्ने शैलीले आफूलाई स्थानीय तहमा पनि तीव्र गतिमा काम गर्न प्रेरित गरेको बताए ।

लामो समय लाग्ने ठानिएका कामसमेत छोटो समयमै अघि बढेको उल्लेख गर्दै उनले प्रधानमन्त्री र पूर्वाधारमन्त्रीको कार्यशैलीका कारण निर्णय र कार्यान्वयनबीचको दूरी घटेको बताए ।

‘प्रधानमन्त्रीज्यू र पूर्वाधारमन्त्रीज्यूको काम गर्ने शैली अलि फास्ट नै रहेछ । सोहीअनुसार काम हुँदा छिटो काम भएको रहेछ,’ दियोपोष्टले सार्वजनिक गरेको भिडियोमा खतिवडाले भनेका छन् ।

उनका अनुसार प्रधानमन्त्रीको निर्देशनपछि घाटबेसी पुल निर्माणलाई प्राथमिकतामा राखेर अघि बढाउने निर्णय भएको छ । साथै मास–पिपलटार–परेवाटार हुँदै धादिङबेँसी जोड्ने वैकल्पिक सडकको निर्माण तथा स्तरोन्नतिको कामलाई समेत गति दिने निर्णय भएको उनले जानकारी दिए ।

चारवटा डिभिजनका प्रतिनिधिसहित भएको बैठकमा बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा सडक र पुल निर्माणका कामलाई ढिलाइ नगरी अघि बढाउने विषयमा छलफल भएको खतिवडाले बताए ।

बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका काम तीव्र रूपमा अघि बढाउन संघीय सरकारबाट देखाइएको तत्परता र युवाहरूको सक्रियताले सकारात्मक वातावरण बनेको उनले उक्त भिडियोमा भनेका छन् ।