
धादिङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आगामी असोज ३ र ४ गते हुने गाउँ तथा नगर वडा अधिवेशनका लागि क्षेत्रीय प्रतिनिधि छनोटको ढाँचा र विभिन्न तहमा उम्मेदवारी दिँदा बुझाउनुपर्ने मनोनयन शुल्क तय गरिएको छ ।
बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङ मा ५ गते सम्म अधिबेशन गर्दा पनि हुने जनाईएको छ ।
कांग्रेसले विधानको धारा ६(३) र ७(३) तथा केन्द्रीय कार्यसमितिको निर्णयअनुसार वडा तहदेखि केन्द्रीय कार्यसमितिसम्मका विभिन्न पदमा उम्मेदवारी दिनेहरूका लागि मनोनयन शुल्क र क्षेत्रीय प्रतिनिधिको कोटा तय गरेको हो ।
निर्धारित मापदण्डअनुसार १५० जनासम्म क्रियाशील सदस्य रहेका वडाबाट वडा सभापति पदेनसहित २३ जना क्षेत्रीय प्रतिनिधि छनोट हुनेछन्।
जसमा महिलातर्फ ३, खुलातर्फ ५, पेशागत विषयविज्ञ १, ३५ वर्षमुनिका युवा ३, समानुपातिकतर्फ ६, अपाङ्गता १, दलित १, प्रजातन्त्र सेनानी, सहिद परिवार तथा द्वन्द्व प्रभाविततर्फ २ र श्रमिकतर्फ १ जना प्रतिनिधि रहनेछन् ।
समानुपातिकतर्फ महिला, दलित, आदिवासी जनजाति, खसआर्य, मधेसी, थारू, मुस्लिम, अल्पसंख्यक तथा पिछडिएको क्षेत्रलाई समेटिने व्यवस्था गरिएको छ ।
क्रियाशील सदस्य संख्या १५० भन्दा बढी रहेका वडामा सदस्य संख्या बढेसँगै क्षेत्रीय प्रतिनिधिको संख्या पनि थप हुने व्यवस्था गरिएको छ। यस्तो संख्या बढीमा ७५ जनासम्म पुग्ने व्यवस्था गरिएको छ ।
विभिन्न तहमा उम्मेदवारी शुल्क
कांग्रेसले वडा तहदेखि केन्द्रीय कार्यसमितिसम्मका विभिन्न पदमा उम्मेदवारी दिन लाग्ने शुल्क पनि निर्धारण गरेको छ ।
वडा कार्यसमितिको सभापतिका लागि १ हजार रुपैयाँ, उपसभापति, सचिव र सहसचिवका लागि ७ सय तथा सदस्य र क्षेत्रीय प्रतिनिधिका लागि ५ सय रुपैयाँ शुल्क तोकिएको छ ।
गाउँपालिका कार्यसमितिको सभापतिका लागि ५ हजार, उपसभापति र सचिवका लागि २ हजार, सहसचिवका लागि १ हजार ५ सय तथा सदस्यका लागि १ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
नगरपालिका कार्यसमितिको सभापतिका लागि ५ हजार, उपसभापति र सचिवका लागि ३ हजार, सहसचिवका लागि २ हजार तथा सदस्यका लागि १ हजार रुपैयाँ शुल्क तोकिएको छ ।
महानगरपालिका तथा उपमहानगरपालिका कार्यसमितिको सभापतिका लागि ७ हजार, उपसभापति र सचिवका लागि ४ हजार, सहसचिवका लागि ३ हजार तथा सदस्यका लागि २ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
प्रदेश सभा क्षेत्रीय कार्यसमितिको सभापतिका लागि ७ हजार, उपसभापति र सचिवका लागि ४ हजार, सहसचिवका लागि ३ हजार, सदस्यका लागि २ हजार तथा प्रदेश अधिवेशन प्रतिनिधिका लागि ५ हजार रुपैयाँ शुल्क तोकिएको छ ।
प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिको सभापतिका लागि १० हजार, उपसभापति र सचिवका लागि ५ हजार, सहसचिवका लागि ४ हजार, सदस्यका लागि २ हजार, केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि ७ हजार तथा केन्द्रीय महासमिति सदस्यका लागि ५ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
जिल्ला कार्यसमितिको सभापतिका लागि १५ हजार, उपसभापति र सचिवका लागि ७ हजार, सहसचिवका लागि ६ हजार तथा सदस्यका लागि ३ हजार रुपैयाँ शुल्क तोकिएको छ ।
प्रदेश कार्यसमितिको सभापतिका लागि २० हजार, उपसभापति र महामन्त्रीका लागि १५ हजार, सहमहामन्त्रीका लागि १० हजार तथा सदस्यका लागि ५ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
केन्द्रीय कार्यसमितिको सभापतिका लागि ४० हजार, उपसभापति र महामन्त्रीका लागि ३० हजार, सहमहामन्त्रीका लागि २० हजार तथा केन्द्रीय सदस्यका लागि ११ हजार रुपैयाँ मनोनयन शुल्क तोकिएको छ ।
वडा अधिवेशनबाट निर्वाचित क्षेत्रीय प्रतिनिधिहरूले गाउँ/नगर, प्रदेश सभा क्षेत्रीय, प्रतिनिधि सभा क्षेत्रीय तथा जिल्ला अधिवेशनमा भाग लिन पाउनेछन् ।
(यस अघि प्रकाशन गरेको मनोनयन शुल्कमा हेरफेर भएको पाईएकोले सच्याईएको छ–सम्पादक)
