धादिङमा शिक्षा क्लस्टरको बैठक, बाढी प्रभावित विद्यालय पुनःस्थापनाका लागि योजना तय

Avatar photo
Dhadingpost
अशोज १, २०८३

धादिङ । २०८३ भदौ ५ गते आएको त्रिशूली बाढीबाट प्रभावित विद्यालयहरूको पुनःस्थापना, पुनःसञ्चालन तथा वास्तविक क्षतिको अवस्थाबारे समीक्षा गर्दै जिल्ला विपद् व्यवस्थापन समिति, शिक्षा क्लस्टरले आगामी कार्ययोजना तय गरेको छ ।

शिक्षा क्लस्टरका संयोजक कृष्णकुमार श्रेष्ठको अध्यक्षतामा भदौ ३१ गते बसेको बैठकले बाढीबाट प्रभावित विद्यालय, शिक्षक तथा विद्यार्थीको अद्यावधिक अवस्था समीक्षा गर्दै तत्कालीन तथा दीर्घकालीन पुनःस्थापनाका कार्यक्रम अघि बढाउने निर्णय गरेको हो ।

बैठकमा प्रस्तुत विवरणअनुसार बेनिघाट रोराङ–७ स्थित बुद्धि विकास आधारभूत विद्यालय र गल्छी–६ स्थित अम्लेश्वर गुरुकुलको भवन पूर्ण रूपमा क्षति भएको छ ।

गल्छी–६ स्थित वागेश्वरी माध्यमिक विद्यालयमा शौचालय, खानेपानी प्रणाली, आइसिटी सामग्री, कम्प्युटर, विज्ञान तथा गणित प्रयोगशाला र फर्निचरमा क्षति पुगेको छ । शंखादेवी माध्यमिक विद्यालय, जलेश्वरी माध्यमिक विद्यालय, महाकाली माध्यमिक विद्यालय र भद्रकाली गुरुकुललगायतका विद्यालयमा समेत खानेपानी तथा शौचालय प्रणालीमा क्षति पुगेको बैठकमा जानकारी गराइएको छ ।

बाढीबाट कार्यरत ४ जना शिक्षक र ५ जना अवकाशप्राप्त शिक्षक मृतक वा सम्पर्कविहीन रहेको अद्यावधिक विवरणमा उल्लेख छ । यस्तै, हालसम्म प्राप्त विवरणअनुसार २० जना विद्यार्थीले आफ्ना अभिभावक गुमाएका छन् ।

बैठकले प्रभावित विद्यालयमा खानेपानी तथा सरसफाइको तत्काल व्यवस्था गर्दै पठनपाठन सञ्चालनका लागि आवश्यक वातावरण तयार गर्ने निर्णय गरेको छ। शंखादेवी मावि मछिमटार, चन्द्रोदय मावि, जलेश्वरी मावि, रातुकाली आधारभूत विद्यालय, वागेश्वरी मावि, महाकाली मावि र भद्रकाली गुरुकुलमा पठनपाठनलाई सहज बनाउने गरी आवश्यक काम अघि बढाइने भएको छ ।

त्यस्तै, गल्छी–६ स्थित अम्लेश्वर गुरुकुलमा भवन तथा छात्रावास निर्माण गर्ने र बेनिघाट रोराङ–७ स्थित बुद्धि विकास आधारभूत विद्यालयमा तीनकोठे भवन निर्माण गर्ने निर्णय भएको छ ।

प्रभावित विद्यालयमा शैक्षिक तथा आइसिटी सामग्री उपलब्ध गराउने, प्रभावित विद्यार्थी, शिक्षक तथा अभिभावकलाई मनोपरामर्श सेवा प्रदान गर्ने र अभिभावक गुमाएका विद्यार्थीलाई शैक्षिक तथा जीविकोपार्जन सहयोग उपलब्ध गराउने योजना पनि बैठकले अघि सारेको छ ।

विपद् व्यवस्थापनसम्बन्धी शिक्षक, विद्यालय व्यवस्थापन समिति र शिक्षक–अभिभावक संघका पदाधिकारीको क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गर्ने निर्णयसमेत भएको छ ।

शिक्षा क्लस्टरले बाढीपछि प्रभावित विद्यालयमा सहयोग गर्ने सम्पूर्ण संघ–संस्थालाई धन्यवाद दिँदै आगामी दिनमा पुनःस्थापना तथा सहयोगका कार्यक्रम सञ्चालन गर्दा सम्बन्धित गाउँपालिका, शिक्षा शाखा, शिक्षा विकास तथा समन्वय एकाइ र जिल्ला विपद् व्यवस्थापन समितिसँग समन्वय गरेर मात्र काम गर्न आह्वान गरेको छ ।