१३ औं वाका कपको उपाधी ब्रादी युवा क्लवले जित्यो

Avatar photo
Dhadingpost
शुक्रबार, बैशाख १, २०८०

धादिङ । धादिङको नेत्रावती डवजोङ गाउँपालिका ३ सेमजोङ स्थित वाका खेल मैदान गैरामा चैत्र २३ गतेबाट सुरुभएको १३ औं वाका कप तथा प्रथम अध्यक्ष कपको उपाधी स्थानीय ब्रादी युवा क्लवले जितेको छ । जितका लागि सुदिप केसीले गोल गरेका थिए ।

नेत्रावती डवजोङ गाउँपालिकाको सहयोगमा छार वाका राहा युवा क्लव सेमजोङले आयोजना गरेको १३ औं वाका कप तथा प्रथम अध्यक्ष कप पुरुष खुल्ला अन्तर क्लव स्तरीय पुरुष फुटबल प्रतियोगिताको आज भएको फाईनलमा ब्रादी युवा क्लव सँग पराजित हुन पुग्दा डवजोङ क्षेत्र संरक्षण युवा क्लव उपविजेतामा रोकिएको थियो ।

स्थानीय बेगबहादुर तामाङका अनुसार, प्रथम हुने ब्रादीले १ लाख ५० हजार नगद, उपविजेता डवजोङ क्षेत्र संरक्षण युवा क्लवले ७५ हजार र सेमिफाईनलमा रोकिएका नुवाकोटका दुई टिम बेङरुङ एकीकृत समाज र कन्यास्थान युवा क्लवले १५–१५ हजार पुरस्कार जितेका छन् ।

साबिक सेमजोङ १ गैराको वाका धादिङ र नुवाकोटको सिमानामा रहेको उत्कृष्ट पर्यटकीय गन्तब्य मध्ये एक हो । समुन्द्री सतहदेखि करिब २ हजार १५० मिटर उचाइमा अवस्थित यो ठाउँ यो ठाउँको प्रचार प्रसारका लागि छार वाका राहा युवा क्लब सेमजोङले विगत १३ वर्ष देखि यसै ठाउँमा खुल्ला अन्तर क्लव स्तरीय खुल्ला पुरुष फुटबल प्रतियोगिता गर्दै आएको छ ।

११ औं वाका कप पनि चैत्र ११ गतेबाट भएको थियो भने १२ औं वाका कप चैत्र २२ गते देखि भएकोमा यस वर्षको १३ औं वाका कप तथा प्रथम अध्यक्ष कप नयाँ वर्ष बैशाख १ गते सकिने गरि आज सुरु हुँदैछ । ११ औं वाका कप उपाधी चौतारा युवा समाज (टिम बी) ले डबजोङ क्षेत्र संरक्षण युवा क्लव (टिम ए) लाई हराउँदै उपाधी चुमेको थियो भने १२ औं वाका कप उपाधी नुवाकोटको सानो किम्ताङ युवा क्लव किम्ताङलाई पराजित गर्दै धादिङको नेत्रावती डवजोङ गाउँपालिका २ को डुप्चे युवा क्लव केवराले जितको थियो ।