वाका कपको उपाधि चौतारा युवा समाजलाई

Avatar photo
नारायण सिलवाल
बुधबार, बैशाख १, २०७८

धादिङ बैशाख १ । धादिङको नेत्रावती डब्जोङ गाउँपालिका स्थित सेमजोङमा चैत्र २२ गते देखि सुरु भएको ११ औं वाका कप प्रतियोगिताको उपाधी चौतारा युवा समाज (टिम B) हात पारेको छ ।

आज भएको फाईनल खेलमा चौतारा युवा समाज (टिम B) ले डबजोङ क्षेत्र संरक्षण युवा क्लव (टिम A) लाई २ गोलले पराजित गर्दै उपाधी हात पारेको हो ।

यो सँगै चौतारा युवा समाज (टिम B) ले प्रथम पुरस्कार नगद १ लाख ११ हजार १११ रुपैया जित्यो भने डबजोङ क्षेत्र संरक्षण युवा क्लव (टिम A) द्धितिय पुरस्कार द्धितिय पुस्कार ५५ हजार ५५५ जितेको छ ।

यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल किपर, उच्च गोल कर्तालाई ३-३ हजार पुरस्कार प्रदान गरिएको थियो ।

पुरस्कार वितरण तथा ११ वाका कप प्रतियोगिताको समापन समारोहका माओवादी केन्द्रको नेतृ पम्फा भुसालको प्रमुख आतिथ्यता एवम् पूर्व मन्त्री कल्पना धमला र माओवादी केन्द्रका बागमती प्रदेश सचिवालय सदस्य रामबहादुर भण्डारीको विशेष आतिथ्यता रहेको थियो ।

धादिङ जिल्लाको नेत्रावती डबजोङ गाउँपालिका वडा नं ३ गैरा साबिक सेमजोङ १ गैराको वाका धादिङ जिल्लाकै उत्कृष्ट पर्यटकीय गन्तब्य मध्ये एक हो ।

समुन्द्री सतहदेखि करिब २ हजार १५० मिटर उचाइमा अवस्थित यो ठाउँ धादिङ र नुवाकोट जिल्लाको सिमाना समेत भएकोले पछिल्लो समय यो ठाउँमा धादिङ र नुवाकोटका आन्तरिक पर्यटकको आकर्षण बड्दो छ ।

यो ठाउँको पहिचान गराइ पर्यटकीय क्षेत्रको रुपमा प्रचार प्रसार गराउनुका साथै विश्वमा निकै लोकप्रिया रहेको फुटबल खेलको विकास र युवाहरुमा फुटबल खेलप्रति अभिरुचि बढाउन २०६३ सालदेखि छार वाका राहा युवा क्लव सेमजोङले हरेक वर्ष वाका कप प्रतियोगिता गर्दै आएको छ ।